कोरोना कहरकैबीच खुल्न थाले विद्यालय

लामो समयसम्म बन्द रहेका विद्यालयहरू विस्तारै खुल्न थालेका छन् । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रण गर्न सरकारले चैतदेखि देशभर लकडाउन गरेपछि शैक्षिक संस्थाहरू बन्द थिए । तर असारमै लकडाउन खुले पनि विद्यालय भने सञ्चालन हुन सकेका थिएनन् । विद्यालयहरूले यसअघि नै वैकल्पिक माध्यमबाट भने पठन–पाठन गरिरहेका थिए । ६ महिनापछि विद्यार्थीहरू विद्यालयमै आएर पढ्न थालेका छन् । कोरोना संक्रमणको जोखिम रहेकै बेला विद्यालयहरूले स्थानीय तहको समन्वयमा विद्यार्थीलाई विद्यालयमै उपस्थित गराएर पढाउन थालेका हुन् ।

सरकारले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका–२०७७ विद्यार्थी पहिचान, अभिलेखीकरण र वर्गीकरण गरी मापदण्ड पालना गरेर विद्यार्थीहरूलाई सहजीकरण गर्न विद्यालयलाई जिम्मेवारी दिएकाले वैकल्पिक माध्यमका साथै विद्यालयमै उपस्थित गराएर पनि पढाउन थालिएको हो । दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाको चामुण्डा माध्यमिक विद्यालयका प्रधानाध्यापक जयप्रसाद तिमिल्सेनाले निर्देशिकाले विद्यार्थीहरूलाई शिक्षण सिकाइमा सहजीकरण गर्न बाटो खुलाइदिएको बताए । उनले विद्यालयमै उपस्थित हुुन सक्ने विद्यार्थीहरूलाई पालो अनुुसार पढाउन सुरु गरिएको जनाए । उनका अनुसार चामुण्डा माविमा स्वास्थ्य सुरक्षा सावधानी अपनाउँदै एउटा कक्षा कोठामा १५ देखि २० जनासम्म राखेर पढाउने गरिएको छ । उक्त विद्यालयले तीन दिनदेखि विद्यार्थीहरूलाई विद्यालयमै उपस्थित गराएर पढाउन सुरु गरेको हो । नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयहरूले विद्यालयमै पठन–पाठन सुरु गरिसकेको प्रधानाध्यापक तिमिल्सेनाले जानकारी दिए ।

लामो समयपछि विद्यार्थीहरू विद्यालयमा आउन पाउँदा उत्साहित देखिएको शिक्षकहरूले बताएका छन् । कतिपय विद्यालयहरूले यसअघि टोल शिक्षा कार्यक्रम पनि सञ्चालन गरेका थिए । सुर्खेतको वीरेन्द्रनगरस्थित शिव माध्यमिक विद्यालय धुलियाविटले पनि आइतवारदेखि पठन–पाठन सुरु गरेको छ । अनलाइन माध्यमसँगै विद्यालयमै उपस्थित गराएर पढाउन थालिएको विद्यालयले जनाएको छ । विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद पौडेलका अनुसार तीन चरणमा पढाउन सुरु गरिएको छ । ‘वैकल्पिक सिकाइमा सबै विद्यार्थी समेट्न समस्या थियो । इन्टरनेट सबैको पहुँचमा पनि थिएन । विद्यालयमै पठन–पाठन सुरु हुँदा सहज भएको छ,’ उनले भने । विद्यार्थी विद्यालय प्रवेश गर्नेदेखि कक्षा कोठामा रहने बेलासम्म भौतिक दूरी कायम गराएर पढाउन थालिएको उनले बताए । स्वास्थ्य सुुरक्षाका मापदण्ड अपनाएर पठन–पाठन सुरु गरेको भन्दै उनले विद्यार्थीहरूलाई अनिवार्य मास्क प्रयोग गर्न भनिएको जनाए । विद्यालयले अन्य स्वास्थ्य सुरक्षाका लागि सेनिटाइजर र हात धुने व्यवस्था गरेको छ ।

यस्तै, वीरेन्द्रनगरकै जनसेवा माध्यमिक विद्यालय घुस्रामा पनि विद्यार्थीहरूलाई पालो–पालो गरेर पढाउन थालिएको छ । विद्यालयका प्रधानाध्यापक भक्त शाहीले सरकारले जारी गरेको निर्देशिका र वडाको निर्णय अनुसार वैकल्पिक तथा विद्यालयमै उपस्थित गराएर पनि पठन–पाठन सुरु गरिएको जनाए । अनलाइनमार्फत पढाउँदा केही विद्यार्थीहरूको पढाइ छुटेकाले विद्यालयमै उपस्थित गराएर पढाउन थालिएको उनले बताए । यस विद्यालयले कक्षा नौ र १० का सबै विद्यार्थीहरूलाई अनलाइनमार्फत नै पढाउने र अनलाइनको पहुँचमा नरहेकालाई विद्यालयमै उपस्थित गराएर पढाइने गरिएको जनाएको छ ।

प्रदेश शिक्षा विकास निर्देशनालयका निमित्त निर्देशक दीपा हमालले अहिले विद्यार्थीहरूको पठन–पाठनमा सहजीकरण गर्न सरकारले स्थानीय तहलाई जिम्मेवारी दिएकाले विद्यालयहरूले स्थानीय तहहरूको समन्वयमा पढाउन थालेको बताइन् । आफ्नो पालिकाभित्रका विद्यालय सञ्चालन तथा विद्यार्थीहरूको पढाइमा सहजीकरण कसरी गर्ने भन्ने अधिकार स्थानीय तहलाई दिइएको छ । स्थानीय तहहरूले पनि विद्यार्थी सहजीकरणसँग सम्बन्धित कार्यक्रमहरू सञ्चालन गर्न विद्यालयहरूलाई भनेका छन् ।

कोरोना महामारीका कारण शिक्षा सबैभन्दा बढी प्रभावित भएको क्षेत्र हो । संक्रमणको जोखिमका कारण आधा वर्षदेखि सबै खाले शैक्षिक संस्था ठप्प प्रायः थिए । विद्यार्थीहरू गत चैतदेखि विद्यालय जानबाट वञ्चित थिए भने विद्यालयहरूका शैक्षिक कार्यक्रम निकै प्रभावित भए । वैशाखदेखि नयाँ शैक्षिक सत्र सुरु हुने भए पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत चैत्र पहिलो साता नै नयाँ शैक्षिक सत्रको भर्ना नलिन भनिसकेको थियो । त्यसको झण्डै दुई महिनापछि जेठ १८ गते कोरोना भाइरसका कारण बन्द रहेका विद्यालयको नियमित पठन–पाठन सुचारु गर्न मन्त्रालयले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७ जारी गरेको हो । सोही आधारमा गत असार १ गतेदेखि विद्यालयहरूले वैकल्पिक सिकाइका कार्यक्रम सञ्चालन गर्दै आएका थिए । मन्त्रालयले भदौ १९ गते विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ स्वीकृत गरेर शिक्षण सिकाइ कार्यलाई निरन्तर, प्रभावकारी र व्यवस्थित गर्दै असोज १ गतेबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्न गराउन संघ, प्रदेश र स्थानीय तहका सबै निकाय र सरोकारवालाहरूलाई अनुरोध गरेको छ ।

प्रकाशित मितिः   ६ आश्विन २०७७, मंगलवार ०७:५३