वाणिज्यको शाखा वीरेन्द्रचोकमा

राष्ट्रिय वाणिज्य बैंकले वीरेन्द्रनगरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । ग्राहकहरूको चाप बढ्दै गएपछि सेवा प्रवाहमा सहजताका लागि बैंकले वीरेन्द्रनगरमा दोस्रो शाखा सञ्चालनमा ल्याएको हो । वीरेन्द्रचोकमा सञ्चालनमा ल्याइएको शाखामा लकरसहितको सुविधा रहने राष्ट्रिय वाणिज्य बैंक कर्णाली प्रदेश प्रमुख रामबहादुर थापाले जनाए । उनका अनुसार कर्णालीमा वाणिज्यको यो १९औं शाखा हो ।

नयाँ शाखाको आइतवार औपचारिक उद्घाटन गरिएको छ । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बैंकको शाखा उद्घाटन गरेका हुन् । सोही अवसरमा बोल्दै मन्त्री ज्वालाले ग्राहकहरूलाई भरपर्दो र प्रभावकारी सेवा प्रवाह गर्न आग्रह गरे । वाणिज्यले बैंकको इतिहासमा बनाएको प्रतिष्ठालाई जोगाइराख्न प्रभावकारी सेवा दिन उनले सुझाए । बैंकले तल्लो वर्गका नागरिकहरूको जीवनस्तर उकास्ने खालका कर्जाहरू प्रवाह गर्नुपर्ने उनको भनाइ थियो । शाखा उद्घाटन कार्यक्रममा राष्ट्र बैंक कर्णालीका प्रमुख डा. शालिकराम पोखरेल, सुर्खेत शाखाका प्रमुख लिलाराम ढुंगाना लगायतको उपस्थिति थियो ।