एमयूको फाइनल परीक्षा अनलाइनबाटै

कोरोना भाइरस ‐कोभिड–१९) को संक्रमण जोखिमका कारण मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू)ले अन्तिम परीक्षा पनि अनलाइनमार्फत लिने भएको छ । विश्वविद्यालयले पहिलो चरणमा स्नातकोत्तरको तेस्रो सेमेस्टर र स्नातक तहको सातौं सेमेस्टरको परीक्षा अनलाइनबाट लिने भएको हो ।

परीक्षा व्यवस्थापन कार्यालयले मानविकी र सामाजिकशास्त्र संकाय, इन्जिनियरिङ संकाय, विज्ञान तथा प्रविधि संकाय, शिक्षाशास्त्र संकाय र व्यवस्थापन संकायको तेस्रो र सातौ समेस्टरको परीक्षा अनलाइनमार्फत लिने जनाएको छ । विश्वविद्यालयले परीक्षाको समय तालिकासमेत प्रकाशित गरिसकेको छ । परीक्षा यही असोज १७ गतेदेखि कात्तिक ६ गतेसम्म सञ्चालन हुने परीक्षा व्यवस्थापन कार्यालयका प्रमुुख आनन्दप्रसाद सुवेदीले जानकारी दिए । उनले अहिले पहिलो चरणमा तेस्रो र सातौं सेमेस्टरको तह पार गर्नुपर्ने तथा शैक्षिक वर्ष पुस मसान्तमा सकिने हुँदा अनलाइनमार्फत परीक्षा लिन लागिएको बताए । अन्य सेमेस्टरको पनि मंसिर मसान्तभित्र परीक्षा लिइसक्ने गरी कार्यालयले तयारी गरेको उनले जनाए ।

परीक्षार्थीलाई आठ घण्टाको समय दिइनेछ । बिहान ८ बजे इमेलमार्फत विद्यार्थीहरूलाई प्रश्न–पत्र पठाइनेछ । प्रश्न–पत्र पाएको आठ घण्टापछि विद्यार्थीहरूले उत्तरपुस्तिका इमेलमार्फत दिउँसो ४ बजे पठाइसक्नुपर्ने व्यवस्था गरिएको हो । विद्यार्थीहरूले उत्तर अनिवार्य सादा कागज वा सोही साइज लाइनिङ्गको कागजमा लेखेर कापिको स्क्यान गरी पीडीएफ फाइल पठाउनुपर्ने परीक्षा व्यवस्थापन कार्यालयका प्रमुुख सुवेदीले बताए । पहिलो चरणको परीक्षामा करिब एक हजार परीक्षार्थी सहभागि हुने बताइएको छ । यसअघि विश्वविद्यालयले मिडट्रम परीक्षा अनलाइबाटै लिएको थियो ।

प्रकाशित मितिः   ५ आश्विन २०७७, सोमबार ०९:५६