खुले आन्तरिक उडान

  • यात्रुले जहाज उड्ने समयभन्दा कम्तीमा डेढ घण्टा अगाडि नै विमानस्थल पुग्नुपर्ने
  • हिमाली जिल्ला र सुर्खेत–काठमाडौं उडान हुने

सरकारले आज (सोमवार) देखि आन्तरिक हवाई सेवा सुरु गर्दै छ । आन्तरिक उडान बन्द भएको करिब सात महिनापछि हवाई उडान सञ्चालन गर्न लागिएको हो । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि लामो समय आन्तरिक उडान बन्द गरिएको थियो ।

नेपाल नागरिक उडड्यन प्राधिकरण सुर्खेतले आन्तरिक उडानलाई व्यवस्थित रूपमा सञ्चालन गर्न स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउने जनाएको छ । विमान स्थल प्रमुख उमेशकुमार पन्थीले स्वास्थ्य सुरक्षाका मापदण्डमा कडाइ गरिने जानकारी दिए ।

आन्तरिक उडान बन्द हुँदा पनि चार्टड उडान भइरहेकाले सुरक्षाका मापदण्ड पालना गरिरहेको बताउँदै आन्तरिक उडानलाई थप व्यवस्थित गराइने उनले जनाए । उनका अनुसार विमानस्थल गेटदेखि उडान हुने स्थानसम्म सामाजिक दूरी कायम गरिने, ७५ जना अट्ने क्षमता रहेको हलमा एक पटकमा ३५ जनालाई मात्र प्रवेश गराइने, जहाज उड्नुभन्दा डेढ घण्टा अघि नै यात्रु विमानस्थल आउनुपर्ने, बस्ने ठाउँमा एक मिटरको दूरी कायम गर्नुपर्ने छ । यस्तै, विमानस्थलमा सेनिटाइजर र हात धुुने व्यवस्था गरिएको छ । कोभिड–१९ को लक्षण देखिएका व्यक्तिलाई भने हवाई यात्रामा निषेध गरिएको छ ।

अब नियमित उडान हुने भएकाले थप स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइएको विमानस्थल प्रमुख पन्थीले बताए । विमानस्थलमा ‘हेल्थ डेस्क’ राखेर हरेक यात्रुको ज्वरो नापिने छ भने यात्रु र विमानस्थल कर्मचारीलाई मास्क अनिवार्य गरिएको छ । आजदेखि कर्णालीका हिमाली जिल्ला र सुर्खेत–काठमाडौं उडान हुनेछ ।