घरमै छन् कोरोना संक्रमित
सुर्खेतमा आइतवारसम्म दुई सय ७३ जना कोरोना भाइरस (कोभिड–१९) का सक्रिय संक्रमित छन् । जसमध्ये एक सय तीन जना मात्रै अस्पताल तथा स्थानीय तहले बनाएका आइसोलेसनहरूमा छन् । बाँकी एक सय ६९ जना होम आइसोलेसनमा बस्दै आएका छन् । कूल संक्रमितको आधाभन्दा बढी संख्या होम आइसोलेसनमा रहेको हो ।
सुर्खेतको मात्रै होइन प्रदेश स्वास्थ्य सेवा महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार प्रदेशभर कोरोनाका सक्रिय संक्रमित चार सय ५२ जना छन् । तीमध्ये दुई सय १५ जना मात्र अस्पताल तथा स्थानीय तहमा रहेका आइसोलेसन सेन्टरमा उपचाररत छन् भने दुई सय ३७ जना संक्रमित घरमै बसिरहेका छन् ।
प्रदेशभर कोरोनाका सक्रिय संक्रमित चार सय ५२ जना छन् । तीमध्ये दुई सय १५ जना मात्र अस्पताल तथा स्थानीय तहमा रहेका आइसोलेसन सेन्टरमा उपचाररत छन् भने दुई सय ३७ जना संक्रमित घरमै बसिरहेका छन् ।
यति धेरै संख्यामा संक्रमितहरू घरमै रहँदा संक्रमण फैलने जोखिम बढेको हो । होम आइसोलेसनमा बसेकाहरूबाट परिवार तथा समुदायमा संक्रमण सर्ने जोखिम उच्च रहेको चिकित्सकहरू नै बताउँछन् । होम आइसोलेसनमा बस्ने संख्या बढ्दै जाँदा त्यसले समस्या निम्त्याउने उनीहरूको भनाइ छ । अझ ती संक्रमितमा लक्षण देखियो भने त्यसले महामारी ल्याउने खतरा रहेको उनीहरूको चिन्ता छ । प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. डम्बर खड्काले स्वयम् संक्रमित अनुशासित भएको खण्डमा मात्रै जोखिम कम हुने बताए । उनी भन्छन्, ‘होम आइसोलेसन अहिले विश्वले अपनाएको प्रणाली हो । तर, राज्यले निगरानी नगरे संक्रमण फैलिने जोखिम भने उच्च रहन्छ ।’ संक्रमितलाई चिकित्सकहरूको सम्पर्कमै राख्ने र संक्रमित आफै पनि अनुशासित भए घरमै बसे पनि सुरक्षित हुने उनले जनाए ।
डा. खड्काले यसो भनिरहँदा होम आइसोलेसनमा बसेका संक्रमितहरूबाट अरुलाई कोरोना सर्ने जोखिम कति छ, संक्रमित नै कति सुरक्षित छन् वा छैनन् भन्नेबारे सरकारी निकाय भने बेखबर छ । यसरी संक्रमित घरमै बस्दा महामारी बढाउने खतरा देखिएको हो । होम आइसोलेसनमै बस्न सिफारिस गर्नुअघि संक्रमितमा लक्षण भए÷नभएको समेत निक्र्यौल गर्ने गरिएको छैन । महामारी नियन्त्रण सम्बन्धी सरकारी नीति नै फितलो हुँदा कोरोना नियन्त्रण प्रभावकारी बन्न नसकेको कतिपय जानकारहरूको मत छ ।
परीक्षणको दायरा बढाइएको र संक्रमितको संख्या बढ्दै गएपछि कन्ट्याक्ट ट्रेसिङ पनि बढाइएको दाबी सरकारी स्वास्थ्य संस्थाहरूको भए पनि वास्तविकता भने त्यस्तो छैन । संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको कर्णालीमा पछिल्लो समय कन्ट्याक्ट ट्रेसिङलाई समेत पछ्याउन छाडिएको छ । क्लोज कन्ट्याक्टमा रहेकाहरूले स्वैच्छिक रूपमा मात्रै पीसीआर जाँच गर्ने गरेका छन् । कोरोना संक्रमण पुष्टि भएका व्यक्ति तथा उनको सम्पर्कमा रहेकाहरू खुल्न नचाहँदा समेत संक्रमण नियन्त्रणमा चुनौति देखिएको छ । प्रदेशमा हाल लक्षणसहितका संक्रमितहरूको संख्या पनि बढ्दै गएको चिकित्सकहरूले बताएका छन् ।
अस्पताल तथा स्थानीय तहका आइसोलेसनमा बसेकाहरू स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरूको निगरानीमा रहेको बताइएको छ । तर होम आइसोलेसनमा बसेकाहरूको भने सरकारी निकायले रेखदेख गरेको छैन । सरकारले कोरोना संक्रमितलाई निगरानीको मापदण्डविनै घरमै बस्न भने पनि संक्रमण फैलिने जोखिम रहेको नागरिक अगुवा पीताम्बर ढकालले बताए । उनले आरटी–पीसीआर नगरिकनै आइसोलेसनबाट संक्रमितलाई घर पठाउँदासमेत अर्को जोखिम बढेको बताए । ‘संक्रमितलाई स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको निगरानीमा अस्पतालमै राख्नुपर्छ,’ उनले भने ‘यतिबेला होम आइसोलेसनमा बसेकाहरू कसैको निगरानीमा छैनन् ।’ संक्रमितका घरपरिवार र स्वयम् संक्रमितले सतर्कता अपनाउनुपर्ने भन्दै उनले सरकार यो मामलामा पन्छिएको आरोप लगाए । होम आइसोलेसनको मापदण्ड नबनाएर संक्रमितलाई यसरी घरमै बस भन्नु उपयुक्त नभएको उनको भनाइ छ ।
प्रदेशमा आइतवार थप २९ जनामा कोरोना पुष्टि भएको छ । योसहित हालसम्म तीन हजार एक सय ३६ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये दुई हजार ६ सय ७८ जना संक्रमणमुक्त भइसकेको प्रदेश स्वास्थ्य महाशाखाकोे तथ्याङ्क छ । पछिल्लो तथ्याङ्कअनुसार कर्णालीमा कोरोनाका सक्रिय संक्रमित चार सय ५२ जना छन् । संक्रमितमध्ये ६ जनाको मृत्यु भएको छ ।
प्रकाशित मितिः ५ आश्विन २०७७, सोमबार ०९:५३
साझा बिसौनी ।