प्रदेश राजधानीमा नगर बसको आवश्यकता

विनोद न्यौपाने

म वीरेन्द्रनगर उपत्यकाको सबैभन्दा पश्चिम विन्दु बाङ्गेसिमल बस्छु । विगत ६ वर्षदेखि निरन्तर रूपमा यहीँ बसिरहेको छु । दशैं–तिहारको छुट्टी बाहेक वर्षभरी नै म यतै हुन्छु । जब मैले एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षा हासिल गर्ने सपना बोकेर वीरेन्द्रगर आएको थिएँ, त्यतिबेला नै देखेको एउटा सपना थियो, ‘कास, वीरेन्द्रनगरमा पनि नेपालगन्ज, काठमाडौं, बुटवललगायतका सहरहरूमा जस्तै नगर बस चल्थ्यो भने कति सजिलो हुन्थ्यो होला ? बस चढेरै कलेज पढ्न पाइन्थ्यो ।’

स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी चर्चाको विषय थियो स्मार्ट सिटी । वीरेन्द्रनगरमा केबलकारदेखि भेरीको पानीले सडक धुनेसम्मका प्रतिबद्धता जनाएर नै अहिलेका जनप्रतिनिधिहरूले चुनाव जितेका थिए । तर अहिले मलाई लागिरहेको छ कि उनीहरूले चुनाव जितेकै दिनदेखि घोषणा–पत्र पल्टाएकै छैनन् । यदि साच्चै घोषणापत्र फेरि पनि एक पटक दोहो¥याएका भए उनीहरूको नजर कसरी पुगेनन् होला र ठूलाठूला अक्षरमा घोषणा–पत्रको सुरुमै लेखिएको ‘तुरुन्तै वीरेन्द्रनगरमा नगर बस सञ्चालन गरिनेछ भनेर’ भन्ने प्रतिबद्धतामा ।

हुन त अर्काको पैसामा करोडौं मूल्यको गाडी चढ्नेहरूलाई वीरेन्द्रनगरमा नगर बसको आवश्यकता महसुस नहुनु स्वाभाविकै होला । तर हामी जस्तो बाहिरबाट आएको सामान्य घर परिवारको विद्यार्थीहरूलाई थाहा छ नगर बस सञ्चालन नहुँदाको पीडा ।

वैशाख–जेठको गर्मीमा होस् या त पुस–माघको चिसोमा मलाई कलेज जानका लागि ६ र फर्किन ६ गरी दिनमा १२ किलोमिटर भन्दा बढी हिँड्नु पर्दछ । अझै ट्यूसन कक्षाहरू सञ्चालन भएको बेला त झन दिनमा २४ किलोमिटर भन्दा बढी हिँड्नुपर्ने बाध्यता रहेको छ । विकल्पको रूपमा वीरेन्द्रनगरमा अटोरिक्साको उपलब्धता नभएको भने होइन तर यो सामान्य नागरिकको लागि निकै महङ्गो छ । कापी–किताब किन्न मै पनि संघर्ष गर्नुपर्ने मजस्तै थुप्रै विद्यार्थी साथीहरूले चार किलोमिटर अटोमा सवार गरेको ५० रूपैयाँ भाडा तिर्नु पर्दछ भने दैनिक २४ किलोमिटर हिँड्दा चार सय रूपैयाँ त ओहोर–दोहोर भाडामै खर्च हुने गर्दछ ।

कहिले कतै घरबाट आमाले मायाले पठाइदिएको तरकारी, चामल, पिठो, गुन्द्रुक जस्ता खाद्य सामग्री बसपार्कदेखि कोठासम्म पु¥याउनलाई सामानको मूल्यभन्दा पनि बढी पैसा अटोरिक्सालाई बुझाउन पर्ने हुन्छ । एक सिलिण्डर ग्यास डिलरदेखि कोठामा पु¥याउन मात्रै पनि दुई सय रूपैयाँभन्दा बढी भाडा तिर्नु पर्दछ । मैले कैयौं पटक बसपार्कदेखि बाङ्गेसिमलसम्म सामानको भारी बोकेर हिँडेरै पुगेको छु । सुर्खेतमा बसेको हजारौं साथीहरूलाई यस्तो समस्या दिनहुँ परिरहेको हुन्छ ।

प्रदेश राजधानीमा समेत यातायातको भरपर्दो सुविधा नहुनु कर्णाली प्रदेश विकासको लागि निकै दुःखद् कुरा हो । चुनावको बेलामा आ–आफ्नो घोषणा पत्रमा कालो अक्षरले विशेष प्राथमिकता दिएर स्मार्ट सिटी बनाउने प्रतिबद्धता जनाएरै चुनाव जितेका प्रतिनिधि नै आफ्नो आधाभन्दा बढी कार्यकाल बितिसक्दा पनि अझैसम्म चुपचाप बसिरहेका छन् । कि त हाम्रो जनप्रतिनिधिहरूले सडक खन्नुलाई मात्रै विकासको रूपमा लिएका छन् ।

तर प्रदेश राजधानीकै सडकको अवस्था सन्तोषजनक छैन । नगरपालिकाभित्र देख्न लायक भएको विकास हेर्ने हो भने एउटा स्मार्ट बसपार्क जो बनेको वर्षौ भइसक्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन भने अर्को वीरेन्द्रनगर भित्रको चार लेन सडक हो । र यी दुवै योजनाहरू स्थानीय निर्वाचन भन्दा अगाडि देखिको योजना हुन् । अनि अब मलाई लागिरहेको छ कि के चाहिँ विकास भएको छ त वीरेन्द्रनगर नगरपालिकाभित्र, जसमा जनप्रतिनिधिहरूले गर्व गर्नसक्दछन् र छाती फुलाएर भन्न सक्दछन् कि ‘यो काम मेरो कार्यकालभित्रै सफल भएको हो । यदि तपाईंहरूले मलाई नजिताएको भए यो विकास देख्न पाउनुहुने थिएन ।’

यहाँको भन्दा आधा गुणा कम जनसंख्या भएको भौगोलिक रूपमा निकै दुर्गम रहेको दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकाले आफ्नो नागरिकलाई सुविधा दिनको लागि एक वर्ष अगाडिदेखि नै नगर बस सञ्चालन गरिरहेको छ भने यसबाट वीरेन्द्रनगर नगरपालिकाले पनि केही पाठ सिक्नुपर्ने हो कि ?

वीरेन्द्रनगर एउटा नगरपालिका मात्र होइन कर्णाली प्रदेशको राजधानी समेत हो । नगरपालिकाले नगर बस सञ्चालन गर्न नसक्ने भएमा प्रदेश सरकारले पनि आफ्नो राजधानीलाई स्मार्ट बनाउनु पर्ने होइन र ? मुख्यमन्त्रीले स–साना काममा पनि हेलिकप्टर प्रयोग गर्नेलाई कुनै आर्थिक अभाव नहुने प्रदेशमा जनतालाई आफ्नो दैनिक क्रियाकलाप सञ्चालन गर्नमा नगर बस सञ्चालन गर्नमा के कठिनाइ उत्पन्न होला र ? कर्णाली प्रदेश सरकारले किन अहिलेसम्म कुनै कदम चाल्न नसकेको वा कुनै कदम उठाएको छैन त अब तपाईं हामी जस्तो आम नागरिकले प्रश्न गर्ने जिम्मा आएको छ । सरकारलाई सुनाउन आवाज उठाउनु पर्ने भएको छ अनि सुतेको सरकारलाई नगर बस सञ्चालन गर्न बाध्य बनाउनु छ ।

आर्थिक सहयोगको लागि सधैंभरी प्रदेश सरकार र नेपाल सरकारकै मुख ताकेर नगरपालिकाले कहिलेसम्म आफूलाई समृद्ध बनाउन सक्ला र खोइ ! नगर बस सञ्चालनको लागि अब नगरपालिका आफै गम्भीर र संवेदनशील बन्नु जरुरी छ । उपत्यकाभित्रको सबै ठाउँ सडक सञ्जालभित्र जोडिइसकेको छ । भौगोलिक संरचनाले होस् या वीरेन्द्रनगर नगरपालिकाको जनसंख्या दुवैले नगर बस सञ्चालनमा साथ दिएको छ ।

वि.सं. २०६८ को जनगणना अनुसार वीरेन्द्रनगरको जनसंख्या करिब ५० हजारको हाराहारीमा थियो भने अहिले आएर जनसंख्या एक लाख भन्दा बढी भइसकेको छ । यति धेरै जनसंख्याको लागि उपत्यकाभित्र यातायात सुविधा प्रदान गर्न सरकारको तर्फबाट कुनै पहल भएको देखिदैंन । यो विडम्बना हो ।

नगर बस सञ्चालनले यस क्षेत्रको समृद्धिमा अहम भूमिका खेल्ने निश्चित छ । नगर बसले नागरिकलाई सुविधा त दिन्छ नै साथमा आर्थिक लाभ पनि हुन्छ । नगरपालिका भित्रको बेरोजगार युवाहरूले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा उल्लेख्य रूपमा रोजगार पाउने निश्चित छ । यसका साथै यहाँको व्यवसायहरू पनि फस्टाउने अवसर हुन्छ । वीरेन्द्रनगरमा व्यवस्थित रूपमा नगर बस सञ्चालन गर्न सकेमा प्रायः दैनिक जसो भइरहने सडक दुर्घटनामा पनि कमी आएर मानवीय क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ ।

अन्त्यमा, स्थानीय तहको निर्वाचनपछि वीरेन्द्रनगर भित्रका जनताले सरकारबाट अपेक्षा गरेको भनेको यस क्षेत्र भित्र नगर बस सञ्चालन हुन्छ भन्ने नै हो । वीरेन्द्रनगरलाई स्मार्ट सहरको रूपमा विकास गर्नको लागि पहिलो खुड्किलो हो, नगर बस सञ्चालन । यसले यहाँभित्र बसोबास गर्ने मात्रै नभइ बाहिरबाट आउने सबैजनाई सुविधा प्रदान गर्दछ । वीरेन्द्रनगर नगरपालिका होस् या कर्णाली प्रदेश सरकारले एउटा भए पनि प्रशंसायोग्य काम छिटै गरोस्, म चाहन्छु जसको सुरुवात नगर बसबाट होस् । विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९ को रोकथाम हुने बित्तिकै वीरेन्द्रनगर उपत्यकाभित्रै सरर नगर बसमा यात्रा गर्न पाइयोस् । सम्बन्धित निकायले अहिलेबाटै यसको आन्तरिक तयारी गरेको खण्डमा अवश्य पनि प्रदेशका राजधानीका नागरिकको अपेक्षा पूरा हुनेछ ।

प्रकाशित मितिः   ४ आश्विन २०७७, आईतवार ०८:२७