आइसोलेसनबाट आमाको पत्र

लक्ष्मी बोहरा

हरेक वर्ष फर्केर आउँछ, असोज । त्यो असोज, जुन असोजले मलाई जीवनमा कहिल्यै नबिर्सिने चोट दिएर गएको थियो । यो त्यही असोज हो, जुन असोजले फेरि जीवनमा कहिल्यै नभूल्ने खुशी ल्याएर मलाई नै टक्र्याएको थियो । यसकारण मेरा लागि असोज महिना दुखद् नियति र सुखद् अवसरको संयोग हो ।

सन्तान जन्मिएका आफ्ना हुन्छन् भन्ने थाहा पाएकी थिएँ तर जीवनमा त्यो अनुभूति गर्न पाएकी थिइनँ । जन्मेपछिका सन्तानहरूको माया यहि सुर्खेतको कालागाउँ अस्पतालमा आएर अनुभूत गरेकी हुँ । जीवनको पहिलो सन्तानको नाता जोडिएको हुनाले पनि होला यो अस्पतालसँग सन्तान जत्तिकै आत्मीय सम्बन्ध छ मेरो । संयोग कस्तो भइदियो भने पहिलो सन्तान प्राप्तिको धेरै वर्षपछि आफैले यही अस्पतालमा सेवा गर्ने मौका पाएकी छु ।

कुरा हो, २०६८ साल असोजको । समय यस्तै–यस्तै थियो, बर्खाले आफ्नो बिट मारेर चिसोका सिरेटाहरू आज जस्तैगरी आँगनमा झुल्किन खोज्दै थिए । तर ती चिसो सिरेटाहरूसँग मैले आफ्नोपनको अनुभूति गर्न कत्ति सकेकी थिइनँ । मौसम अलि केही फरक र उत्ताउलो भइरहेको थियो । सायद त्यही वर्ष मैले आफ्नो जीवनको धौ–धौले जम्मा गरेको खुशी गुमाउनु पर्ने नियति लेखिएकैले होला अलि अगाडिबाट नै मैले आफूमा भएका केही खुशीका त्यान्द्राहरू चुडिँदै गएको महशुस गरिसकेकी थिएँ ।

तीन दिन, तीन रातको छट्पटिपछि असोज ६ गते पहिलो उपहार मैले मेरो हातमा प्राप्त गर्दा आफूलाई संसारकी सबैभन्दा भाग्यमानी आमाको रूपमा आफ्नै मनको बगैँचाभित्र सजाएकी थिएँ । तर त्यो खुशी धेरै लामो समयसम्म टिक्न सकेन । दुई हप्ता अघिसम्म संसारकी सबैभन्दा धनी आमा मै हुँ जसरी मात्तिएकी म त्यसको केही समयमा नै रित्तिएँ । खाली खाली भएँ । मैले आफ्ना खुशीका सुन्दर तालहरूलाई आँशुको साहारामा चुहाउने बहाना पारी रित्तो बनाउनुपर्ने जीवनको बाध्यता मेरा सामु आयो । त्यसैले वर्षभरीका अरु महिनाहरू भन्दा यो असोज मेरा लागि अविष्मरणीय छ । असोज ६ गतेसँग कहिल्यै भेट नहोस् भन्ने काम सधैं गर्छु, खैर समय हाम्रो वशमा हुँदैन । ऊ आउँछ आफ्नै गति र लयमा । पोल्छ र पिरोल्छ । सहनुको विकल्प मसँग छैन ।

वर्षभरीका तीन सय ६५ दिनहरूलाई औलामा राखेर सधैँ झै दुखी बनाएर गएको असोज ६ गते फेरि फर्केर नआइदिए हुन्थ्यो जस्तो लाग्ने मेरो मनमा खुशी खोसिएको एक वर्ष नबित्दै महिना उही थियो तर गते फरक पारेर २०६९ असोज ४ गते जब प्रिय ‘कवि’को मेरो काखमा आँगमन भयो त्यो बेला मनभित्र फेरि खुशीका छालहरू अनियन्त्रित तरिकाले उर्लेको पत्तो नै भएन । लाग्यो ठीक एक वर्ष अगाडि आमा हुनबाट खोसिदिएको खुशी आज ठीक एक वर्षपछि पूरा भएको छ, त्यो दिनलाई जीवनको ऐतिहासिक दिनको रूपमा ग्रहण गरेको अनुभूति गरेकी थिएँ ।

खोसिएका खुशीहरू फेरि उस्तै गरी फर्किएको त्यो दिनदेखि मैले आफ्नो अनुहारमा जहिल्यै खुशीका लस्करहरू नाँचेको अनुभूति गर्छु । यही दिनले हो आजका दिनसम्म भोलि भोग्नुपर्ने कष्टकर दिनहरूलाई र अहिले बाँचिरहेको सकसका दिनहरूलाई आफ्नो जीवनको अमूल्य जीवनबुटीको रूपमा प्रयोग गरेर आफूलाई यात्रामा यात्रारत बनाएकी छु । त्यो साथ प्रिय कविको रहेको छ, जसले वर्षभरीको थकानलाई एकै दिनमा हराउने कोशिस गरिरहेको हुन्छ । जस्तै आज..! कल्पनासम्म गरेकी थिइनँसँगै रहेर पनि एक भित्ताको एक किनारामा तिम्रो जन्मदिनमा मैले आफ्ना खुशीहरू भित्तामै टाँसिने गरी एकोहोरो रूपमा हेर्ने दिन आउला भनेर ।

प्यारो छोरा कविराज,

विश्व थला पार्ने गरी फैलिएको (कोभिड–१९) कोरोना भाइरसले आज मानिसहरूको जीवनमा आतङ्क मच्चाइरहेको छ । म त्यही आतंकलाई छिचोल्ने अभियानमा आफ्नो कर्तव्य पूरा गर्नको लागि केही दिन यता अस्पतालको आइसोलेसनमा छु । आइसोलेसनबाट बचेको समयलाई क्वारेन्टाइनमा खर्चिने गरेकी छु ।

सुरु–सुरुमा यो आइसोलेसनभित्र पस्नको लागि म पनि अरु जस्तै डराएकी थिएँ । आजभोलि दिनहरू बित्दै गए, विराना भनिएका मानिसहरू पनि आफ्ना जस्तै लाग्न थाले, जसले (कोभिड–१९)को संक्रमण जित्नको लागि संघर्ष गरिरहेका छन् । उनीहरू पहिलेका दिनहरू भन्दा अहिले हाँसिरहेको देख्दा म आफैले पनि उनीहरूका लागि गरिरहेकी छु जस्तो लागिरहेको छ । आइसोलेसन भित्रको यो दृश्य देख्दा मन त्यसै आनन्दित हुन्छ ।

आज बिहानदेखि नै कोरोना भाइरससँग जित्नको लागि संघर्ष गरिरहेका ती अनुहारहरूलाई खाना र खाजाको बन्दोबस्त मिलाउँदै गर्दा यस्तो लाग्यो तिम्रो जन्मदिनको ती अनुहारहरूलाई खुशीयाली बाँडिरहेकी छु । मलाई तिम्रो जन्म दिनमा आउन पाइन भनेर दुखेसो छैन छोरा, कुनै दिन तिमीले पनि मैले पूरा गर्नुपर्ने कर्तव्य पूरा गर्ने हुनेछौँ । त्यसैले यी क्वारेन्टाइनका भित्ताहरू अरु दिनहरू भन्दा आजको दिन मैले रङ्गिन देखिरहेकी छु किन की तिम्रो जन्म दिन हो । यही रङ्गिन भित्ताको एक किनाराबाट मेरो प्यारो बाबुलाई जन्मदिनको अनगिन्ती शुभकामना ।

अलि फुर्सदिलो समयलाई आफ्नो अगाडि राख्दै मैले सोच्ने गरँे । जीवनमा यो कल्पना गरेकी थिइनँ । तिमिलाई कुनै समयमा तिम्रो सपना पूरा गराउनको लागि मबाट टाढा पठाउन सकुँला तर घरमै भएको बेला तिमीबाट म टाढा रहुँला, त्यो पनि तिम्रो जन्मदिनमा, यो मैले कहिल्यै सोचेको थिइनँ । त्यो दिन, त्यो बेला र त्यो प्रहरमा तिम्रा अगाडि तिमीलाई आशिर्वाद दिनको लागि कुनै दिन पनि खालि नगरुला भन्ने मेरो सपना थियो । तर सोचेझै जिन्दगी हुँदैन । आज यस्तो परिस्थितिले हामीलाई पहिलो पटक दासि बनाएको छ ।

अलि पछि साँझपख तिमी भएको ठाउँमा तिमीले आफ्नो अगाडि जन्मदिनको केक काटेर भन्ने छाँै, ‘मामु मेरो जन्मदिनको मैले केक काटिसकेँ ।’ अहँ ! मलाई त्यो पत्यार लाग्ने छैन किन कि मलाई आजको दिन लाग्ने छ असोजको ४ गते आउनको लागि त अझै बाँकी नै छ । यदि यही असोज ४ गते आएको हँुदो हो त म मेरो छोरोको अगाडि जन्मदिनको केक काटेर आर्शिवाद दिइरहेकी हुने थिएँ । यी सबै मेरा कल्पना हुने छन् वास्तविकता त तिमीले जे मलाई सुनाउने छौँ आखिर त्यही नै हुनेछ, प्रिय भुन्टु ।

अब इतिहासको रूपमा यी क्वारेन्टाइनका भित्ताहरूमा लेखिएका अनगिन्ती सामिप्यता हुँदा हुँदै बिछोडिएका प्रेमिल मनहरूलाई यसरी पनि एक पुस्ताले आफ्ना सन्तानको निम्ति त्याग गरेछ भन्ने कथाको रूपमा हामीले नै पढ्न पाउनेछाँै । त्यो बेला यी कथाहरूको महŒव झन बढ्ने छ । त्यो बेला हाम्रो सन्तति र तिम्रो पुस्ताले खुशी प्राप्तीको निम्ति आमाले गरेको त्याग सम्झिने हुनेछाै‌ं ।

अरुले भोगेका पीडाका समचारहरू लेखेको पढेकी थिएँ, आज तिमीलाई समाचार बनाएर अरुलाई पढाउने दुश्प्रयास गरिरहेकी छु । यो मेरो मुर्खता हुनेछ । दुनियाँको सपनाहरूको अगाडि जाबो तिम्रो र मेरो सपना भनेको केही पनि होइन तर तिमी रुँदै यो धर्तीमा पहिलो पाइला टेकेको दिन म आफ्नो सबै प्रश्रव पीडाका क्षणहरूलाई बिर्सिएर तिम्रो अनुहारमा हेरी हाँसिरहेकी थिएँ । त्यो दिन जस्तै आज थियो ।

अन्तमा, खुशी उही छ, समय उही छ तर परिस्थिति मात्रै फरक भएर हामी अहिले देखिनँ पाएका छौँ तथापि भेटिनँ पाएका छैनौं । यही धुमिल परिस्थितिको एकान्त कुनाबाट मेरो प्यारो पट्टुलाई रङ्गिन जन्मदिनको लाखौं–लाख शुभकामना । अबको केही दिनमा फेरि त्यही घरमा हामी आमा छोरोको आलिङ्गनमा कसिने दिन आउँदै छ, प्यारो छोरो कविराज त्यही पलको प्रतिक्षामा छिन् तिम्रो मामु ।

प्रकाशित मितिः   ४ आश्विन २०७७, आईतवार ०८:३३