‘संविधानको मर्म नभुलौं’
संविधानको मूल मर्म नभुलेर कर्णालीबासीलाई खुशी पार्न प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आग्रह गरेका छन् । संविधान दिवसको अवसरमा शनिवार वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा उनले संविधानको मर्म र मान्यतालाई कायम राख्दै समृद्ध कर्णाली सुखारी कर्णालीवासी बनाउने अभियानमा सबै लाग्नुपर्ने बताएका हुन् । ‘कर्णाली बासीको सपना पूरा गर्न संविधानको मर्म बुझ्नुपर्छ,’ उनले भने ‘संविधानमा लेखिएका कुरालाई कार्यान्वयन गर्न सके सबैको खुशी फर्किन्छ ।’ उनले राजनीतिक दल मन, वचन र कर्मले संविधान कार्यान्वयनतर्फ लाग्नुपर्ने औंल्याए । सामाजिक एकता कायम गर्दै देश निर्माणमा समेत लाग्न उनले राजनीतिक दलहरूलाई अनुरोध गरे ।
त्यस्तै, सभामुख राजबहादुर शाहीले पछिल्लो समय राजनीतिक नेतृत्वप्रति जनताको विश्वास घट्दै गएको बताउँदै जनताले विश्वास गर्ने वातावरण बनाउन नेतृत्वलाई आग्रह गरे । एक पटक जनताको मत लिने र त्यसपछि फेरि मत माग्ने समयमा मात्रै जनतातर्फ फर्कने प्रवृत्ति मौलाउँदै गएको उनको भनाइ थियो । दीर्घकालसम्म जनताले भरोसा गर्ने खालको वातावरण तयार गरी अघि बढ्न उनले सुझाव दिए । जनताले चाहे जति, सोचे जतिका अपेक्षा पूरा नभएको स्वीकार्दै सभामुख शाहीले जनचाहनालाई केन्द्रविन्दुमा राखेर अघि बढनुपर्नेमा जोड दिए ।
आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले जनताको बलबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रसहितका उपलब्धी कसैले पनि खोस्न नसक्ने बताए । जनताको त्याग, समर्पण, बलिदानी र कैयौं आन्दोलनबाट प्राप्त भएको संविधानले आम नागरिकलाई अधिकार सम्पन्न बनाएकाले यो संविधान उत्कृष्ट रहेको जिकिर गरे । ‘यो संविधान जनपक्षीय छ,’ उनले भने, ‘यसले निर्दिष्ट गरेका सबै अधिकारको उपयोग गर्दै देशलाई समृद्ध बनाउन सबैको समान सहभागिता आवश्यक छ ।’
कार्यक्रममा प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा, सरकारका उच्च पदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुखलगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मितिः ४ आश्विन २०७७, आईतवार ०८:२५
साझा बिसौनी ।