कोरोना भुलेर नेता भेट्न

लक्ष्मीप्रसाद पौडेल (अनुरागी)

केही दिनअघि दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकामा एक डेरी उद्घाटन कार्यक्रम तय गरिएको थियो । कार्यक्रममा सोही निर्वाचन क्षेत्रबाट निर्वाचित प्रदेश सभामुख राजबहादुर शाही, कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीसमेतको उपस्थिति थियो ।

आयोजकका अनुसार कार्यक्रममा सीमित व्यक्तिहरूलाई निम्त्याइएको थियो । कोभिड–१९ को त्रासका कारण जिल्ला प्रशासनले ठूलो भिड नगर्न भनेकोले कार्यक्रममा धेरैलाई खबर गरिएको थिएन । तर कार्यक्रममा ठूलै भिडभाड हुनेगरी सहभागिता भइदियो । एकिन गणना नभए पनि करिब चार सयदेखि पाँच सय जना नागरिकहरू उपस्थित थिए । उनीहरू सबै डेरी उद्घाटन हेर्न आएका भने थिएनन् । साँझ–बिहान दूध बेच्न जाने डेरी उनीहरूका लागि नौलो पनि त थिएन । तर कोरोना त्रास भुलेर उनीहरू तछाडमछाड गर्दै किन पुगे ? अन्तर्य अर्कै छ ।

सामान्य अवस्थामा पनि गाउँका नागरिकहरूलाई मेला, भेला र समारोहमा जाने त्यति धेरै फुर्सद हुँदैन । घरायसी कामकाजमै व्यस्त रहन्छन् । परिवारका हरेक सदस्य कुनै न कुनै काममा लागिरहेकै हुन्छन्, गाइ–बाख्रा चराउनेदेखि, घाँस–दाउरा गर्नुपर्ने लगायतका कामको चाङ सबैका सामु हुन्छन् । यसकारण पनि कतै जान घर सल्लाहा गर्नुपर्ने हुन्छ । गाउँमा कतै सभा–समारोह परे वा परिवारका सदस्य कतै जानुपर्ने भए नियमित कामलाई अलि फरक चाँजोपाँजो मिलाउनुपर्छ । जस्तै बाख्रा चराउनेले बिहान चराउने, घाँस काट्नेले अघिल्लो दिन धेरै घाँस काट्ने आदि इत्यादि । अर्कोतर्फ यो समयमा नागरिकहरूलाई सभा समारोहमा जान कोरोना महामारीको पनि थप चुनौती त छँदैछ । तर यहाँ सबै चुनैतीलाई बेवास्ता गरेर समारोहमा सहभागी हुनुको एउटै कारण थियो, नेताहरू भेट्ने । अर्थात् आफैले निर्वाचित गराएका जनप्रतिनिधिहरूलाई भेट्न सभा–समारोह कुर्नुपर्ने स्थिति आएको थियो ।

कार्यक्रममा मन्त्री, सभामुख र मेयर–उपमेयरसम्म आउने भनेपछि नागरिकहरूलाई कसैले खबर गर्नु परेन, सूचना एक कान दुई कान मैदान भयोे । त्यो दिन म पनि सोही ठाउँमा भएकाले एउटा नयाँ अनुभूति गरेँ । हल्लाकै भरमा कार्यक्रम स्थल चाल्नेचौतारामा बिहानैदेखि चारैतिरबाट नागरिकहरू आउँदै थिए । एउटा फरक उत्साह थियोे । सबैको अनुहारमा खुसी छाएजस्तै देखिन्थ्यो । चिटिक्क परेर स–साना बालकदेखि ज्येष्ठ सदस्यसम्मको उपस्थिति थियो । बिहान ८ बजेदेखि कार्यक्रमस्थल चाल्नेचौतारामा फरकपन थियो । भिडभाड थियो ।

नागरिकहरू थपिदै थिए । र, कुर्दै थिए उनीहरूकै शब्दमा ‘आफ्ना नेताहरू’लाई । तर दुर्भाग्यवश सभामुख र मन्त्री साँझ करिब पाँच बजे मात्र आइपुगे । दिउँसो कार्यक्रममा गएर साँझ घरायसी काम गरौंला भनेर चाँजोपाँजो मिलाएका केही नागरिकहरू ‘नेताहरू’ नआएपछि निराश भएर फर्किसकेका थिए । चर्को घाममा रूखको छहारीमा बाँकीले कुर्दै थिए । चामुण्डाबिन्द्रासैनी नगरपालिकाका उप–प्रमुख, प्रमुख, मन्त्री र सभामुख कार्यक्रम स्थलमा उपस्थित रहँदाको नागरिकमा खुशी र उत्साहको सीमा नै थिएन । कतिपयले त सभामुख राजबहादुर शाहीलाई आफूले भोट हालेर जिताए पनि पहिलोपटक प्रत्यक्ष रूपमा देखेको भन्दै खुशी प्रकट गरिरहेका थिए ।

यसले के प्रष्ट्याउँथ्यो भने आँगनकै जनप्रतिनिधि भनिएका नगरपालिकाका प्रमुख र उप–प्रमुख समेत नागरिकसामु त्यति जाँदैनन् । सांसद, सभामुख र मन्त्रीको कुरा त धेरै टाढा भैगो । नागरिकहरू भने जनप्रतिनिधिहरू आफूसँगै भैदिउन् भन्ने चाहन्छन् ।

सभामुख शाही न निर्वाचनका बेला त्यहाँ पुगेका थिए न निर्वाचित भैसकेपछि । उनी पहिलो पटक आफ्नै निर्वाचन क्षेत्रको कुनै ठाउँमा पुगेका थिए । नाम सुनेकै आधारमा भोट हालेर प्रदेशसभामा पठाएका जनप्रतिनिधि सभामुख बनेर आफ्नो गाउँमा पहिलो पटक आउँदा उनलाई हेर्न नागरिकको रहर बेग्लै थियो । कतिसम्म भने उनीहरूले महामारी बिर्सेका थिए । रोगको डर थिएन ।

नागरिकहरूले केही आशा–अपेक्षासहित जनप्रतिनिधिलाई मतदान गरेका हुन्छन् । अझै नागरिकहरूको हितका लागि उनीहरूले गरेका प्रतिबद्धता अनुसार निर्वाचन भएको हुन्छ । प्रायःजसो हाम्रोतिर जनप्रतिनिधिहरू चुनावभन्दा अगाडि नागरिकसँगै भएको ‘चटक’ गर्छन् । अझै भनौ आफुहरू सत्ता वा शक्तिमा पुग्नकै लागि नागरिकहरूकै घरदैलोमा सँगसँगै भएको ‘नाटक’ गर्छन् । उनीहरूले नागरिकहरूमा भ्रम सिर्जना गरेका हुन् भन्ने प्रमाण अचेल प्रष्ट हुन्छ । निर्वाचनपछि उनीहरूले नागरिकहरूलाई चिन्दैनन् । स्थानीय तहका जनप्रतिनिधि हुन या प्रदेश र संघमा निर्वाचित जनप्रतिनिधि हुन् यस्तै चाल देखिन्छ । नागरिकहरू जनप्रतिनिधिहरू आफूसँगै भैदिउन भन्ने चाहन्छन् । आफूले भोट हालेर जिताएका सांसदले केही श्रेय देउन भन्ने चाहन्छन् ।

अर्थात् पटक–पटक सांसद गाउँ आइदेओस, भेट हुँदा बोलिदिओस, आफ्नो ठाउँको भलाइको लागि काम गरोस् आदि । तर तीन तहको सरकार र तीनै तहमा निर्वाचित जनप्रतिनिधिहरूबाट नागरिकले त्यसको पूर्ण अनुभूति गर्न भने पाएका छैनन् । जसको एक दृष्टान्त थियो, कोरोना त्रास भुलेर चामुण्डाबिन्द्रासैनीमा पुगेका मन्त्री र सभामुखलाई हेर्न पुगेको नागरिक भिड ।