व्यक्तिचित्र

लोक सरका पदचापहरू

ध्रुवकुमार अधिकारी

विषय प्रवेश

शिक्षण एउटा पवित्र पेसा हो । समपर्णको भावमा शिक्षण साधना हो । यसभन्दा बढी मानव मस्तिष्क गोडमेल गर्ने तपस्या हो । शिक्षणमा अध्ययन हुन्छ । अनुसन्धान हुन्छ । चिन्तन र मनन् हुन्छ । त्यसैले शिक्षण एउटा अपरिपक्व बालकलाई राष्ट्र र समाजप्रति समर्पित सुसभ्य र सु–संस्कृत मानवस्रोत निर्माण गर्ने शुभकार्य हो । शिक्षा एउटा हतियार हो जसले विश्व बदल्न सक्छ । असल शिक्षणको लागि कुशल शिक्षकको भूमिका महत्वपूर्ण हुन्छ । शिक्षक मैनबत्ती झैं आफू बलेर अरूलाई प्रकाश छर्ने ज्योति हो । यस्तै एक शिक्षक हुन् लोकप्रसाद ढकाल ।

सुर्खेती भूमिमा ज्ञानको ज्योतिपुञ्ज शिक्षक ढकाल सरले हालै शिक्षण पेसाबाट अवकाश लिनुभयो । एउटा शिक्षकको चार दशकको शिक्षण अनुभव कस्तो हुँदोरहेछ त भन्ने विषयमा मलाई कौतुहल्ता लाग्यो । अनि म सरसँग बसेँ । धेरै जिज्ञासा राखेँ । मैले सरसँग धेरै अनुभव लिएँ । लोक सरले सहज रूपमा धेरै कुरा बताएपछि मेरो जिज्ञासा मेटियो । यही लोकसरको ४२ वर्षको शिक्षण जीवन र छोडेका अनुभवमै आधारित रहेर यो लेख तयार गरेको छु । यसले शिक्षण जीवनको प्रतिनिधित्व गरेको छ ।

बिदाइ भाषणमा पनि प्रेरणाका शब्दहरू

जीवन संघर्षमा हिँड्दै जाँदा दोबाटो आउँछ । कोही भेटिन्छ । कोही छुटिन्छ । यात्रामा कोहीले केही सिकाउँछ । कोहीले सिकेको पनि बिर्साउँछ । मेरो पनि लोकसरसँग एक वर्ष सहकर्मी भएर काम गर्ने अवसर प्राप्त भयो । धेरै कुरा सिक्न पाएँ । भदौ २८ गते विद्यालयबाट सरको बिदाइ भयो । उहाँकोे जन्म सुर्खेतकै तत्कालीन गर्पन गाविसको मेहेलीमा भएको रहेछ । नेपालमा पञ्चायती शासन प्रणाली सुरु भएको वर्ष । २०१७ सालमा ।

बाल्यकालमा कक्षा सातसम्म आदर्श मावि मेहेलीमै अध्ययनको अवसर जुरेको रहेछ । पछि माध्यमिक शिक्षा जन माविबाट । शिक्षण पेसाको आरम्भ २०३५ सालबाट भएकोले करिब ४२ वर्षको अनुभव मजाले सुन्दै लेख्दै गरेँ । उहाँको शिक्षण यात्रा रमाइलो लाग्यो । कहिले धुलोमा, कहिले पिपलको छहारीमा त कहिले अग्ला भवनमा सजिएका कक्षा कोठाको शिक्षक भएको शिक्षण यात्रा रोचक लाग्यो । विद्यार्थीलाई कहिले फल्याकमा, कहिले बेन्चमा त कहिले ढुङ्गामा समेत राखेर पढाएको अनुभव । सुर्खेतकै भूमिमा रहेका विजयश्वरी मावि पाग्मा हुँदै खाँडदेवी मावि चौरासे, आदर्श मावि मेहेली, शारदा मावि छिन्चु, शिवमावि लाटीकोइली लोक सरका शिक्षणका धरातल बनेका रहेछन् । पछि लामो समय श्रोत व्यक्तिमा रहेको र पछिल्लो समयमा अमरज्योति मावि नेवारे सुर्खेतबाट अवकाशको बिदाइको टीका लागेछ ।

मसँगको साथमा पनि मित्रताको आनन्दको आभाष दिने लोक सर एक असाधारण शिक्षक लाग्यो । विद्यालयमा हेडसरको एक सल्लाहकारको भूमिकामा पनि बेलाबेला देखिनुहुन्थ्यो । लोकसरको भावना थियो, ‘समय उडेछ र बिदाइको दिन आइपुगेछ ।’ शिक्षकको पेसा शिक्षण घडीको टिकटिकमा हिँडेको हुन्छ । मिनेटको हिसाब हुन्छ । मूल्यवान ज्ञान, सीप र विचार पहिचान गर्न सिकाउने पेसाको व्यक्ति शिक्षक हो ।

बिदाइको क्षणमा लोक सरलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाराम आचार्य, प्रधानाध्यापक खगेन्द्र थापा र सहकर्मी शिक्षकहरूले प्रतिनिधिमूलक बिदाइको टीका लगाए । विद्यालयले चिन्ता ग¥यो, कतै सर्वश्रेष्ठ शिक्षक त हराइरहेका छैनौं ? लोक सरको रचनात्मक दिमाग र समर्पित सहयोगको खुलेरै प्रशंसा ग¥यो । कोभिडको कारण सबैले टीका लगाउने अवसर पाएनन् । बिदाइ भन्ने कुरा दर्दनाक हुन्छ । लोकसर शैक्षिक कार्यक्रमहरू र विकास साकार पार्न असामान्य योगदान गरेको व्यक्ति पनि हुनुहुँदो रहेछ । ज्ञानलाई ब्रिजिङ गर्ने व्यक्ति । सीपलाई ब्रिजिङ गर्ने व्यक्ति । कलिला मस्तिष्कहरूमा सही सीप, ज्ञान प्रदान गरेर चार दशक बिताएको व्यक्ति । खुला विचार भएको, उदार, जानकार, विनम्र, साहसी, जिम्मेवार र सम्मानित शिक्षकको रूपमा रहेको व्यक्ति पनि । कठिन परिवेशमा विद्यालयसँगै उभिने । छिटो निर्णय लिन सक्ने । सिकाइलाई सरल, रोचक र आनन्ददायी बनाउने । राम्रो आदत भएको व्यक्ति । लोकसरका कक्षाकोठा सधंै आकर्षक र फूर्तिला हुन्थे । मिलनसार भावमा । सधैं बालबालिकासँग मिल्ने । भावी पुस्ताहरूमा हामीलाई सहिष्णुता, दया र धैर्य जगाउनमा उत्प्ररेरकको रूपमा । विद्यालयमा गरेको परिश्रमले खारिएको व्यक्ति । विद्यालय शिक्षा उत्कृष्ट बनाउनमा विभिन्न समयमा विभिन्न भूमिकामा रहेर काम गर्नु भएको व्यक्ति । शिक्षकको भूमिकामा । प्रधानाध्यापककोे भूमिकामा । स्रोत व्यक्तिको भूमिकामा । तालिम प्रशिक्षक, रोस्टर आदिको भूमिकामा समेत । लोकसर साझा संघर्ष र साझा आनन्दमा भिजेको शिक्षक लाग्यो । समूह कार्यमा विश्वास गर्ने । शिक्षालाई एक साझेदारीको रूपमा बुझेको व्यक्तिको रूपमा पनि लिएँ ।

केही शिक्षकहरू त रिटायर्ड बट् नट् टायर्ड अथवा सेवानिवृत्त भएको तर काम गर्न नथाकेको भन्दै समाज सेवामा लागेको देखिन्छ । लोकसरबाट पनि त्यो अपेक्षा गर्न सकिन्छ । रिटायर्ड जीवन सबैभन्दा सामान्य शिक्षकको हुन्छ भनिन्छ । किनकि स्वच्छ पेसा भएको । कहिल्यै घुस खान नपर्ने पेशा । अतिरिक्त सेवा लिन नपर्ने पेसा । कागज मिलाउन नपर्ने पेशा । कमिसनको चिन्ता गर्न नपर्ने पेसा । हाम्रो जस्तो देशमा शासकबाहेक सबैले सम्मान गर्ने पेशा । त्यसैले रचनात्मक काममा शिक्षकहरू नै लागेको देखिन्छ । पढ्ने । पढाउने । बगैँचाको हेरचाह गर्ने । नयाँ सीपहरू सिक्ने । सिकाउने । अनुसन्धानात्मक काम गर्ने । बालबालिकाको चिन्ता गर्ने । आफ्ना विद्यार्थीले सफलता प्राप्त गरेमा खुशीले छाती फुलाउने । कसका छोराछोरी हुन सँग चासो नराख्ने तर उनीहरूको सफलतामा रमाउने । आनन्द लिने । सन्तुष्ट हुने । पछिल्लो पुस्ताहरूसँग बस्ने । लोकसरसँग सँगै हुँदा धेरै अनुकरणीय कामहरू हृदयमा रहेका छन् । प्रशंसनीय कार्यहरू मनन्योग्य छन् । असल व्यक्तित्वप्रतिको प्रेम रहेको छ । सद्भाव रहेको छ ।

लोकसरका कार्यहरू प्रतिको प्रतिबद्धता, लगन र परिणाममुखी व्यवहारले आज सम्झाएको हो । हरेक दिन सही समयमा विद्यालयमा उपस्थित हुने । विनम्र स्वभाव । अनुशासित व्यक्तित्व । शिष्टाचारलाई मान्यता । विद्यार्थीद्वारा मन पराइएको शिक्षक । आफूलाई अपडेट र अपटूडेटमा ध्यान दिने शिक्षक । सबै विद्यार्थीको प्रेरणाको संयोजन हो लोकसर । आफ्ना विद्यार्थीले पढाइमा सफलता हासिल गरे पनि खुशी । खेलमा सफलता हासिल गरे पनि खुशी । यस्ता धेरै सकारात्मक भावहरू प्रधानाध्यापक र अध्यक्षबाट आएको थिए । बाध्यताले भए पनि अमरज्योतिले शान्त र सन्तोषजनक सेवानिवृत्त जीवनको कामना ग¥यो ।

लोकसरले विद्यालयलाई दिएका भावनाहरू

शिक्षण जीवनमा औपचारीक मन्तव्यको अन्तिम दिन । उहाँको भाषणमा सुन्दर स्कुल सधंै हाम्रो जीवनको एक महŒवपूर्ण हिस्सा र पार्सल हुनेछ भन्ने थियो । विद्यालयले अनमोल सम्झनाहरू दिएको छन् । शिक्षण जीवनका सर्वश्रेष्ठ दिनहरूको यादले सबै भावुक बने । रमाइला क्षणहरूमा हराएका अनुभूति ताजै रहेका कुरा थिए । विद्यालयले चाहेको बेला छुट्टीको समयमा पनि प्रतिक्षितर अपेक्षित घण्टी हुन्थे भन्ने भाव भाषणमा थियो । विद्यालय मित्रता र सामाजिक अन्तरक्रियाको एक उत्तम आलय हो । यहाँका मित्रताहरू विद्यार्थी र हामी शिक्षकको लागि पनि अटूट छन् । अझ अमरज्योतिले मेरो शिर ठाडो पारिदिएको छ । यो देशको एउटा गर्व गर्न लायक विद्यालय, व्यवस्थापन समिति र प्रधानाध्यापक । एउटा शिक्षकले एउटा कक्षामा प्रशासक, व्यापारी, डाक्टर, इन्जिनियर, वैज्ञानिक, धनी, गरीब, नेताआदिका सन्तान अध्ययन गर्न आउने हुनाले साझा मनोविज्ञान हुनुपर्छ । एउटा देशलाई स्वतन्त्र, प्रगतिशील र उन्नतितिर लगाउन प्रेरण दिने पेसा हो शिक्षण । असल विद्यार्थीले आफूले बाँचेको युगको नेतृत्व गर्छन् । नेपोलियन बोनापार्ट, नेल्सन मन्डेला, अब्राहमलिँकनले सो गरे । नेपालमा पनि वीपी कोइराला, मनमोहन अधिकारी, केपी ओली कुनै समयका विद्यालयतहका विद्यार्थी भएको कुरा स्मरण भएको थियो ।

शिक्षाका लागि शिक्षक, विद्यार्थी र अभिभावकको तादाम्यता हुनु पर्दछ । जसरी हरेक विद्यार्थीको अनुहार फरक–फरक हुन्छ, त्यसरी नै तिनीहरूको गुण पनि फरक–फरक हुन्छ भनेको याद आउँछ । शिक्षकको बानीव्यहोरा आचरण र जीवन पद्धतिको प्रत्यक्ष प्रभाव विद्यार्थी, समाज, समुदाय र राष्ट्रमा पर्छ । शिक्षण पेसामा उत्प्रेरणा, प्रतिबद्धता र समर्पणको साथै व्यवहारिक ज्ञान, सीप र कलाको पनि उत्तिकै खाँचो पर्छ । लोक सरको राम्रो स्वास्थ्य, आकर्षक शारीरिक व्यक्तित्व, मीठो बोलीवचन, सहनशीलता, नैतिकता, प्रेमी, मौलिक, आत्मविश्वासी सबै गुणहरूको संयोजन थियो । यतिमात्र नभएर शिक्षण कौशल, विषयवस्तुको ज्ञान, बाल मनोविज्ञानको सफल प्रयोग, शिक्षण विधि, शैक्षिक सामग्रीको ज्ञान, अध्ययनशील, उत्तरदायित्व बोध, अनुसन्धानमा दक्षता राख्ने शिक्षकसमेत भएकोे हुनाले हेर्दा यो पेशा सामान्यलागे पनि जटिल हो भन्ने भाव थियो भनाइमा । स्रोतव्यक्ति हुँदा सबै ठाउँमा पुगेको हुनाले समुदायको राम्रो ज्ञान थियो । सरको व्यक्तित्व जस्तोसुकै अवस्थामा पनि समस्या समाधान गर्न सक्ने दक्षता र खुबीवान् थियो । जोशिलो, जाँगरिलो, फूर्तिलो, सजक व्यक्तित्वको सम्पन्नता सरका थियो । लोभ लालचबाट टाढा सरमा मानवीय उत्कृष्टता, परोपकारी भावना थिए सरमा । सहकर्मीलाई पनि सहयोग गर्ने, शिष्टाचारी र सदाचारी व्यक्तित्व सरको थियो ।

बच्चाले भनेको आफूले नमान्ने भने आफूले भनेको पनि बच्चाले कहिल्यै मान्दैन भन्ने भावना सरको थियो । त्यो उत्कृष्ट भावना हो । शिक्षणमा पनि सरले पाठसँग सम्बन्धित अनुभवहरू र उपमाहरू दिनुहुन्थ्यो । बालबालिकाहरूलाई कहिल्यै पनि गलत सूचना दिनुहुन्न । यदि आज आउँदैन भने पनि भोलिपल्ट बरु सोधखोज गरेर सूचना प्रदान गर्नुपर्छ भन्ने सरको तागतिलो अभिव्यक्ति थियो । लोकसर आफ्नो पेसासँगपनि सन्तुष्ट जस्तो लाग्थ्यो । यो सकारात्मक कुरा हो । हुन त शिक्षकहरू पनि विभिन्न स्वभावका हुन्छन् । कोही गुनासोपूर्ण हुन्छन् जो सधैँ विद्यार्थी र अभिभावकप्रति गुनासो राखिरहन्छन् । लोकसरमा त्यो भाव कहिल्यै पनि देखिन । सरको प्रेरणा, स्यावासी दिने बानी राम्रो लाग्थ्यो ।

उपसंहार

अँग्रेजी मात्र थ्री एच (हेड, हार्ट र ह्यान्ड)भएको मानिस मात्र असल शिक्षक बन्न सक्छ । असल शिक्षक बन्न हेड (माइन्ड), हार्ट (मन) र ह्यान्डको समायोजन हुनुपर्छ भन्ने साझा मान्यता सरमा थियो । अथवा लोकसरमा सोचेको कुरा हृदयमा पु¥याउने र हृदयले भनेको कुरा कार्यमा रूपान्तरण गर्नुपर्छ भन्ने भावना थियो । सरले हरेक विषय वा पाठमा मानवीय मूल्य समावेश गरेर पढाउनुहुन्थ्यो र विद्यार्थीले रुचाउँथे । शिक्षकले अर्धवार्षिक, मासिक, वार्षिक र दैनिक योजना बनाएर शिक्षण गर्ने बानी सिकाउनु भयो । शिक्षकको उद्देश्य ठूलो मानिस बनाउने नभएर असलमानिस बनाउने हो सरको मार्मिक कथन थियो । विद्यार्थीको उमेर अनुसार फरक व्यवहार गर्न सक्ने क्षमता लोकसरमा रहन्थ्यो । विद्यार्थीलाई रचनात्मक र मेहनती बनाउनेमा समेत त्यत्तिकै भूमिका रहेको थियो । सुर्खेती शैक्षिक इतिहासमा लोकसर एक अविस्मरणीय व्यक्ति हो । सुर्खेती भूमि र अमरज्योति माविले लोकसरलाई सधैं सम्झिरहने छ । उहाँको सेवा निवृत्त जीवनको हार्दिक शुभकामना लोक सर  ।

(लेखक अमरज्योति नमुना मावि नेवारेमा कार्यरत शिक्षक हुन् ।)

प्रकाशित मितिः   ३ आश्विन २०७७, शनिबार ०६:०६