भरोसा ‘सिस्टर’कै

जुनसुकै रोग लागेर स्वास्थ्य संस्था आउने बिरामीका प्राथमिक उपचारदाता हुन्, स्टाफ नर्स । यिनीहरूको चेकजाँच र रेखदेखले बिरामीले आधा निको भएको अनुभूति गर्छन् । अस्पताल आउने, क्लिनिक धाउने र स्वास्थ्य शिविरहरूमा पुग्ने जो–कोही बिरामी उनीहरूकै सहाराले रोगमुक्त भएर फर्कन्छन् । सायद बिरामीसँगको आत्मीय व्यवहारकै कारण नर्सहरूलाई सिस्टर पनि भनिएको हो कि ? यो रोगीहरूको बीचमा रहनुपर्ने अर्थात् रोगसँग खेल्नुपर्ने जोखिमयुक्त पेसा हो । नर्सहरू हरेक किसिमका महामारी र जस्तोसुकै रोगको नियन्त्रण तथा उपचारका लागि सधैं अग्रपंक्तिमा खटिन्छन् ।

६ महिनायता देशभर कोरोना भाइरसको महामारी छ । जसको नियन्त्रण तथा रोकथामका लागि उनै नर्सहरू ‘फ्रन्टलाइन’मा खटिएका छन् । कर्णाली जस्तो सीमित स्वास्थ्य पूर्वाधार र स्रोत/साधन भएको प्रदेशमा कोरोना नियन्त्रणमा अहोरात्र ‘ड्यिूटी’ निभाइरहेका छन् । उनीहरूलाई आफ्नो पेसाप्रति गर्व छ । र, सन्तुष्ट पनि छन् । यद्यपि आफूहरूले गरेको योगदानको कदर नहुँदा कहिलेकाहीँ उनीहरूको मन खिन्न भने हुन्छ । अरु पेसाजस्तै यसमा पनि श्रमको उचित मूल्याङ्कन छैन ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत स्टाफ नर्स बिन्दु कँडेल नर्सिङ्ग पेसामा आवद्ध भएको ११ वर्ष भयो । यो अवधिमा उनले दिनरात नभनी हजारौं बिरामीको सेवा गरेकी छन् । बिरामीलाई सेवा गर्न पाउँदा आनन्द लागे पनि नर्सहरूको योगदान अनुसार राज्यले कदर भने गर्न नसकेको उनको बुझाइ छ । कँडेल भन्छिन्, ‘नर्सिङ्ग सेवामूलक पेसा हो । यस क्षेत्रमा श्रमको शोषण छ । योग्यता, दक्षता अनुरूपको काम र पारिश्रमिक पाईंदैन ।’ जोखिम मोलेर काम गर्नेहरूलाई पनि सरकार र समाजको हेर्ने दृष्टि बदलिन नसकेको उनले बताइन् । ‘राज्यले सेवा सुविधामा ध्यान दिएको छैन । भएको सुविधा पनि कटौती गर्छ,’ उनले भनिन् ।

नर्सहरू दिनरात नभनी बिरामीको सेवामा खटिन्छन् । बिरामीको प्राथमिक उपचारदेखि रेखदेख गर्नेसम्मको जिम्मेवारी यिनीहरूकै हुन्छ । सरकारी स्वास्थ्य संस्थामा कार्यरतहरूले स्केल अनुसारको तलब पाउने भए पनि निजी क्लिनिकहरूमा काम गर्नेहरूले उचित पारिश्रमिक पाएका छैनन् । अधिकांशलाई रोजगारी नै पाउन मुस्किल छ । लाखौं खर्च गरेर पढाइ पूरा गरे पनि सोही अनुसार कामसमेत नपाउने गरेको उनीहरूको गुनासो छ । प्राथमिक स्वास्थ्य केन्द्र अवलचिङ्गमा कार्यरत स्टाफ नर्स मेनुका शाहीले ब्याचलर इन नर्सिङ ‐बीएन) को पढाइ पूरा गरेकी छन् । उनले त्यहाँ योग्यता अनुसारको काम पाएकी छैनन् । शाही एक तह मुनिको दरबन्दीमा कार्यरत छन् । वार्षिक रूपमा नर्सहरू उत्पादन भइरहे पनि उनीहरूको उचित व्यवस्थापनमा सरकार उदासिन देखिने गरेको उनी बताउँछिन् । सरकारी तथ्याङ्क अनुसार नेपालमा प्रत्येक वर्ष करिब पाँच हजार जना नर्स उत्पादन हुन्छन् ।

निजी अस्पताल र करारमा काम गर्ने नर्सहरूको अवस्था झनै कठिन छ । उनीहरू मासिक पाँच–सात हजार तलबमा काम गर्न बाध्य छन् । नर्सिङ्ग पेसालाई सरकारले नै विभेद गर्दा आफूहरूले उचित काम पाउन नसकेको निजी अस्पतालमा कार्यरतहरूको भनाइ छ । नर्सहरूको वृत्ति विकासमा समेत राज्यले ध्यान नदिएको आरोप उनीहरूको छ । थुप्रै गुनासा हुँदा–हुँदै पनि उनीहरू खुशी हुने कारण पनि छ । नर्सहरू भन्छन्, ‘जब बिरामी निको भएर डिस्चार्ज हुन्छन् । त्यसबेला हामी खुशी हुन्छौं । आफ्नो पेसाप्रति गर्व लाग्छ ।’

नर्सहरूले हप्तामा ६ दिन दैनिक १२ घण्टा सेवामा खटिनुपर्छ । कहिलेकाहीँ पालो दिने नहुँदा दिनरात पनि खटिनुपर्छ । उनीहरूलाई त्यसका लागि छुट्टै भत्ताको व्यवस्था छैन । उनीहरूले पाउँदै आएको पोषण भत्तासमेत सरकारले कटौती गरेको छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार एक जना स्टाफ नर्सले आठ जना बिरामी हेर्नुपर्ने हुन्छ । तर, आफूहरू एक जनाले दिनमा झण्डै ४० जना बिरामीसम्मको रेखदेख गर्नु परिरहेको उनीहरू बताउँछन् ।

कर्णाली प्रदेश अस्पतालमा कार्यरत नर्सिङ्ग इन्चार्ज सकुन्तला गौलीले प्रदेश अस्पतालमा ७५ जना नर्स कार्यरत रहेको बताइन् । उनले पनि नर्सहरूको योगदान अनुसारको मूल्याङ्कन नभएको सुनाइन् । फ्रन्टलाइनमा रहेर काम गर्दा पनि नर्सहरूलाई प्रोत्साहनको साटो मनोबल गिराउने काम हुने गरेको उनको भनाइ छ । १९ वर्षे नर्सिङ्ग पेसाको अनुभव संगालेकी गौलीले बिरामी निको भएपछि उनीहरूले दिने धन्यवादले मात्र आफूहरूलाई काम गर्न उर्जा आउने बताइन् । नर्सहरूको पहिलो प्राथमिकतामा बिरामी नै हुन्छन् । त्यसबाट बचेको समय मात्रै उनीहरू परिवार र साथीभाइका लागि खर्चिन्छन् । निजी जीवनका लागि उनीहरूसँग कमै समय हुन्छ ।

प्रकाशित मितिः   ३ आश्विन २०७७, शनिबार ०६:०२