एकैदिन दुई हजारमा संक्रमण पुष्टि

नेपालमा हालसम्मकै उच्च कोरोना संक्रमित देखिएका छन् । शुक्रवार एकै दिन दुई हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६१ हजार पाँच सय ९३ पुगेको छ । यसैगरी शुक्रवार कोरोनामुक्त भएर आठ सय ७१ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ४३ हजार आठ सय २० जना पुगेको छ । थप सात जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन सय ९० पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट आठ लाख ९४ हजार तीन सय ७३ परीक्षणहरू गरिएका छन् । ११ हजार चार सय ५८ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या सात हजार सात सय ३७ जना रहेका छन् । त्यसैगरी सक्रिय संक्रमितको संख्या १७ हजार तीन सय ८३ जना रहेको छ ।

कर्णालीमा ३५ जना थपिए

कर्णाली प्रदेशमा शुक्रवार थप ३५ जनामा कोरोना भाइरस ‐कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । नयाँ थपिएका संक्रमित रुकुम–पश्चिमका २३, सुर्खेतका ६, सल्यानका पाँच र मुगुका एक जना छन् ।

योसँगै प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या तीन हजार ६३ पुगेको छ । शुक्रवार नै १६ जना संक्रमणमुक्त भएको प्रदेश स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । यीसहित प्रदेशमा कोरोनामुक्त हुनेको संख्या दुई हजार ६ सय ४९ पुगेको छ । महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार प्रदेशभर कोरोनाका चार सय आठ जना सक्रिय संक्रमित छन् । हालसम्म ६९ हजार नौ सय ७१ जनामा आरटी–पीसीआर परीक्षण गरिएको छ । योमध्ये तीन हजार ६३ जनाको पोजेटिभ र ६६ हजार एक सय ६० जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

प्रकाशित मितिः   ३ आश्विन २०७७, शनिबार ०६:०१