उच्छृंखल गतिविधि गर्ने १८ जना पक्राउ

सुर्खेत, ९ चैत । 
होलीमा उच्छृंखल गतिविधि गर्ने १८ जना पक्राउ परेका छन् । मंगलवार वीरेन्द्रनगरबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरी सवारी चलाउने, मोटरसाइकलमा हेल्मेट नलगाएर तीन जना बोक्ने, जबरजस्ती अविर र लोला हान्ने र हो–हल्ला गर्ने १८ जना पक्राउ परेका हुन् । 
उनीहरूमध्ये आठ जना प्रहरी नियन्त्रणमै रहेका छन् । सुर्खेतका प्रहरी प्रवक्ता डीएसपी 
बहादुरजंग मल्लले १८ जना पक्राउ गरिएको भए पनि १० जनालाई मंगलवार साँझ छोडिएको बताए । बाँकी आठ जना मापसे गरेकाले हिरासतमै राखिएको उनको भनाइ छ । 
होलीमा हुनसक्ने अपराध र दुर्घटना रोक्न प्रहरीले सुर्खेतमा विशेष गस्ती सुरु गरेको छ । सोही क्रममा मंगलवार १८ जना पक्राउ परेका हुन् । बुधवार पनि अप्रिय घटना हुन नदिन थप सुरक्षा सतर्कता अपनाइएको प्रहरीले जनाएको छ ।