तस्कर समात्न रातभर जाग्राम

सुर्खेत, १० चैत ।
जिल्लामा जंगल फँडानीसँगै व्यापक काठ तस्करी बढेपछि वन कर्मचारीहरू रातभर जाग्राम बस्न थालेका छन् । पछिल्लो समय तस्करहरूले मध्यरातमा अवैध काठ ओसार्न थालेपछि त्यसलाई रोक्न वन कर्मचारीहरू पनि रातभर जाग्राम बस्न थालेका हुन् । वन कर्मचारीहरूले तस्करी हुने मुख्य नाकामा रातभर जाग्राम बस्न सुरु गरेपछि काठ तस्करहरू समेत धमाधम पक्राउ पर्न थालेका छन् ।
जिल्लाको ग्रामीण क्षेत्रबाट वन फँडानी गरेर तस्करहरूले अवैध रूपमा सदरमुकाम वीरेन्द्रनगरमा काठ भिœयाउनुको साथै जिल्ला बाहिर समेत ओसार्ने गरेका छन् । काठ तस्कहरूको गिरोह नै सक्रिय भएपछि जिल्ला वन कार्यालयले तस्करी नियन्त्रणका लागि नयाँ उपाय अपनाएको हो । मध्यरातमा प्रहरी र वन कार्यालयको आँखा छलेर ठूलो मात्रामा काठ तस्करी भएपछि वन कार्यालयले त्यसलाई रोक्न रात्री गस्ती सुरु गरेको हो । वन कर्मचारीहरू तस्करलाई कुर्दै रातभर जाग्राम बस्न थालेपछि हिजोआज तस्करहरू पक्राउ पर्न थालेका हुन् । यस्तै अवैध काठ समेत बरामद हुन थालेको छ ।
पछिल्लो समय तस्करहरूले जिल्लाको धुलियाविट, लेखपराजुल र वामेखोला नाकाबाट रातको समयमा काठ ओसार्दै आएका छन् । तस्करी रोक्न वन कर्मचारीहरू ती नाकामा अहिले रातभर जाग्राम बस्न थालेका छन् । सोमवार राती मात्र वन कर्मचारीले दशरथपुरबाट ठूलो मात्रामा काठसहित तस्करलाई पक्राउ गरेका छन् । इलाका वन कार्यालय छिन्चुका रेन्जर अशोक खत्रीको नेतृत्वमा रहेको गस्ती टोलीले दशरथपुर–४ सिम्लेबाट दुई सय ३० क्यूफिट चिरान काठसहित स्थानीय सर्कु शाहीलाई पक्राउ गरेको छ । जिल्ला वन अधिकृत हेमराज विष्टका अनुसार रातभर जाग्राम बसेर तस्करलाई पक्राउ गरिएको बताए । उनले भने, ‘अहिले तस्करले मध्यरातमा काठ ओसार्न थालेका छन्, हामीले पनि गौंडामा रातभर कुर्दै आएका छौं । सोहीक्रममा तस्करहरू पनि समातिन थालेका छन्, रात्री गस्तीले तस्कहरूको जालो तोडिँदैछ ।’ सोमवार बरामद भएको काठको बजार मूल्य नौ लाख रूपैयाँ रहेको विष्टले जानकारी दिए । यस्तै उनका अनुसार स्थानीय हिरा वादीको घरबाट लुकाएको अवस्थामा दुई सय २३ थान कडी र २० थान पटरा बरामद गरिएको छ । तर हिरा भने फरार भएको र उनलाई पक्राउ गर्न नसकिएको कार्यालयले जनाएको छ । 
यस्तै तस्करलाई कुरेर रातभर जाग्राम बसेका वन रक्षकहरूले केहीदिन अघि वीरेन्द्रनगरसँग जोडिएको सत्यकाँडाबाट काठसहित एक महिलालाई पक्राउ गर्न सफल भएका थिए । नाकामा जाग्राम बसेमा वन कर्मचारीहरूले मध्यरातमा सालको चिरान काठसहित वीरेन्द्रनगर आउँदै गर्दा ती महिलालाई पक्राउ गरेका थिए । उनको साथबाट १२ थान कडी बरामद गरिएको वन कार्यालयले जानकारी दिएको छ । चैत १ गते मध्यरातमा वामेखोलाबाट पनि ठूलो मात्रामा काठ बरामद गरिएको थियो । तर तस्करहरू भने काठ छोडेर भागेका थिए । रातको १ बजेको समयमा तस्करहरू भाग्न सफल भएको वन कार्यालयको भनाइ छ । पछिल्लो एक साताको अवधिमा जिल्लामा तस्करी हुँदै गरेको ठूलो परिमाणमा काठ बरामद भएको भन्दै सहायक जिल्ला वन अधिकृत सूर्य शर्माले आफूहरू रातभर जाग्राम बसेर तस्करहरूलाई घेराबन्दी गरिरहेको बताए । उनका अनुसार जिल्लामा काठ तस्करहरूको गिरोह नै सक्रिय बनेको छ । तस्करलाई तह लगाउन  आफूहरूले तस्करी हुने नाकाहरूमा रात्री गस्ती सुरु गरेको उनले बताए । कार्यालयका अनुसार तस्करहरूले भेरी नदीमा ट्युवको प्रयोग गरेर काठ तस्करी गर्न थालेपछि त्यहाँ पनि रात्री गस्ती सुरु गरिएको छ ।  
रात्री गस्ती सुरु भएसँगै पछिल्लो एक सातामा आफूहरूले ठूलो सफलता प्राप्त गरेको जिल्ला वन अधिकृत विष्टले बताए । उनले थपे, ‘यहाँ काठ तस्करहरूको ठूलो गिरोह नै छ, त्यो गिरोहले रातको समयमा काठ ओसार्ने गरेको छ । हामी पनि रातभर जाग्राम बस्न थालेपछि तस्कहरू कमजोर भएका छन् ।’ तस्करहरूका कारण वन फँडानी बढेको भन्दै उनले कार्यालयले तस्करको जालो तोडेरै छोड्ने दाबी गरे । उनका अनुसार तस्कहरूले महिला र बालबालिकालाई भरियाको रूपमा प्रयोग गर्दै आएका छन् ।
तस्बिर : रातभर जाग्राम बसेर दशरथपुरमा तस्करबाट बरामद भएको काठ ओसार्दै वनका कर्मचारीहरू । 
प्रकाशित मितिः   १० चैत्र २०७२, बुधबार ०७:४४