वन जोगाउने दायित्व
अवैध रूपमा वनको फँडानी गर्ने र काठ तस्करी गर्ने कार्य सुर्खेतमा विगतदेखि नै हुँदै आएको छ । सङ्कटकालको समयमा अत्याधिक मात्रामा हुने गरेको काठ तस्करी पछिल्लो समयमा घटेको भए पनि नियन्त्रण हुन भने सकेको छैन । अहिले पनि जिल्लाका विभिन्न स्थानहरूमा जंगल फँडानीसँगै व्यापक काठ तस्करी भइरहेको छ । जिल्ला वन कार्यालयले प्रायः हरेक दिनजसो काठ र काठसहित तस्कर पक्राउ गरेका घटनाहरू सञ्चारमाध्यममार्फत् सार्वजनिक भइरहेका छन् । हुन त पछिल्लो समय वनको संरक्षण र सदुपयोगका लागि सामुदायिक वनको अवधारणा ल्याइएको छ । उक्त अवधारणाले वन संरक्षणमा सघाउ पनि पु¥याएको छ । तर कतिपय स्थानमा सामुदायिक वन उपभोक्ता समूहका नेतृत्वकर्ताहरू नै आफ्नो जिम्मेवारी र कर्तव्य विपरित काठ तस्करीमा समेत संलग्न हुने गरेका छन् । यसले वन संरक्षणमा चुनौती थपेको छ । एकातर्फ समूहका प्रतिनिधिहरूले नै यस्ता कार्य गर्ने र अर्कोतर्फ छिटो धनी हुने लोभमा तस्करहरूले पनि वनलाई वक्रदृष्टिमा राख्दै आएका छन् । यसले गर्दा वन संरक्षण र तस्करी नियन्त्रण गर्न सरकारलाई हम्मे–हम्मे पर्दै आएको छ । तस्करहरूले अनेक उपाए लगाएर तस्करीलाई जारी राखेका छन् । रातको समय प्रयोग गरेर अवैध काठको ओसार–पसार गर्ने कार्य बढेको छ ।
तस्करी बढेपछि जिल्ला वन कार्यालय सुर्खेतले त्यसका विरुद्ध विभिन्न क्रियाकलाप भने सञ्चालन गर्दै आएको छ । रातको समयमा ओसार–पसार हुने गरेको जानकारी पाएपछि वन कर्मचारीहरू रातभर जाग्राम बसेर समेत तस्कर पक्राउ गर्न थालेका छन् । पछिल्लो समय तस्करहरूले मध्यरातमा अवैध काठ ओसार्न थालेपछि त्यसलाई रोक्न वन कर्मचारीहरू पनि रातभर जाग्राम बस्न थालेका हुन् । वन कर्मचारीहरूले तस्करी हुने मुख्य नाकामा रातभर जाग्राम बस्न सुरु गरेपछि काठ तस्करहरू समेत धमाधम पक्राउ पर्न थालेका छन् । जिल्लाको ग्रामीण क्षेत्रबाट वन फँडानी गरेर तस्करहरूले अवैध रूपमा सदरमुकाम वीरेन्द्रनगरमा काठ भिœयाउनुको साथै जिल्ला बाहिर समेत ओसार्ने गरेका छन् । काठ तस्कहरूको गिरोह नै सक्रिय भएपछि जिल्ला वन कार्यालयले तस्करी नियन्त्रणका लागि नयाँ उपाय अपनाएको हो । मध्यरातमा प्रहरी र वन कार्यालयको आँखा छलेर ठूलो मात्रामा काठ तस्करी भएपछि वन कार्यालयले त्यसलाई रोक्न रात्री गस्ती सुरु गरेको हो । तस्करहरूले कतिसम्म गर्ने गरेका छन् भने भेरी नदीमा ट्युवको प्रयोग गरेर चिरान काठलाई नदी पार गराउने र आर्थिक रूपमा विपन्न व्यक्तिहरूलाई पैसाको प्रलोभनमा पारेर ओसार्ने गरेका छन् । सानो ठूलो परिणाममा अवैध काठ बरामद भइरहेको छ । यद्यपि तस्करहरूको जालो तोड्न भने जिल्ला वन र स्थानीय प्रशासनले अझै सकेको छैन ।
पछिल्लो समय तस्करहरूले जिल्लाको धुलियाविट, लेखपराजुल र वामेखोला नाकाबाट रातको समयमा काठ ओसार्दै आएको वन कार्यालय बताउँछ । यस्ता नाकाहरूमा विशेष कडाइ गरिनु जरुरी छ । वनको संरक्षण सरकारी निकायको मात्र दायित्व होइन । आम नागरिक नै यसतर्फ सचेत र सजग हुन जरुरी छ । वनको विनाशले हुने घाटा स्थानीय उपभोक्ताहरूलाई नै हो । जबसम्म स्थानीय नागरिक वनको महŒवबारे जानकार र यसको संरक्षणमा सचेत हुँदैनन् तबसम्म तस्करी नियन्त्रण गर्न पनि सम्भव छैन । त्यसकारण आम नागरिकलाई सजग गराउनेतर्फ सरकारले विशेष ध्यान दिनुपर्दछ । वन विनाशले पर्न असरबारे सबैलाई शिक्षा दिनुपर्दछ । तब वन जोगाउन र तस्करी नियन्त्रण गर्न नागरिक आफै अघि सर्नेछन् ।
प्रकाशित मितिः ११ चैत्र २०७२, बिहीबार ०८:१६
साझा बिसौनी संवाददाता ।