पढ्न पाउँ भन्दै प्रदर्शन

हाल सञ्चालन गरिएको भर्चूअल कक्षा सबैको पहुँचमा नभएको भन्दै बालबालिकाहरूले नै विरोध गरेका छन् । वैकल्पिक शिक्षा प्रदान गर्दा सरकारले सबैलाई समेट्नु पर्ने माग उनीहरूले गरेका छन् । अहिलेको अवस्थामा प्रदेशका सबै विद्यार्थीहरूले भर्चूअल शिक्षा लिन पाउनुपर्ने माग राखेर नवज्योति बाल सञ्जालका बालबालिकाहरूले मंगलवार वीरेन्द्रनगरमा प्लेकार्डसहित मौन प्रदर्शन गरेका हुन् ।

अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा नवज्योति केन्द्रको समन्वयमा सञ्जालले बाल अधिकारको सुनिश्चितताको ग्यारेन्टीको माग गर्दै मौन रूपमा प्रदर्शन गरेका छन् । कोरोना संक्रमणको अवस्थामा सञ्चालन गरिएको भर्चूअल कक्षामा कर्णालीका दुर्गम क्षेत्रका बालबालिका सहभागी हुन नसकेकाले सबैको सहभागिताका लागि वातावरण बनाउनुपर्ने उनीहरूको माग छ । उनीहरूले ‘परिवारविहीन र अपाङ्गता भएका बालबालिकाको स्याहार–सुसार, बालबालिकाहरूको शिक्षामा सरकारको भूमिका, बाल श्रम शोषण भइरहँदा राज्य र सम्बन्धित निकाय किन मौन जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए ।

प्रदर्शनपछि बाल सञ्जालका अध्यक्ष वीरेन्द्र सोडारीले अहिलेको अवस्थामा भर्चूअल शिक्षा कर्णाली प्रदेशका लागि उपयुक्त र प्रभावकारी नभएको बताए । ‘सबै ठाउँमा इन्टरनेटको सुविधा छैन,’ उनले भने, ‘यस्तो अवस्थामा हामी भर्चूअल कक्षाबाट वञ्चित भएका छौं ।’ बाल सञ्जालका सल्लाहकार ललित थापाले बालबालिकामाथि हुने जुनसुकै हिंसाको अन्त्य हुनुपर्ने बताए । मौन प्लेकार्ड प्रदर्शनमा नवज्योति केन्द्रका निर्देशक सिस्टर रोसिका, केन्द्रका फिल्ड सुपरभाइजर जरमाया बाँठालगायतको पनि उपस्थिति रहेको थियो ।