बालविवाहविरुद्ध ऐक्यबद्धता

बालविवाहविरुद्ध भर्चूअल माध्यमबाट ऐक्यबद्धता अभियान सञ्चालन गरिएको छ । राष्ट्रिय बाल दिवस २०७७ को अवसरमा सामाजिक विकास मन्त्रालय र आवाज संस्थाको संयुक्त आयोजनामा बालविवाहविरुद्ध मेरो संकल्प विषयक एक हप्ते अनलाइन अभियान मंगलवार सम्पन्न भएको छ ।

विभिन्न पेसा र क्षेत्रमा क्रियाशील व्यक्तिहरूले अनलाइन अभियानमार्फत बालविवाह नगर्न र नगराउन प्रतिबद्धता जनाउनुका साथै सचेतनामूलक सन्देश प्रवाह गरेका छन् । विभिन्न राजनीतिक दलका नेता, जनप्रतिनिधि, सरकारी कर्मचारी, नागरिक समाज, शिक्षक, विद्यार्थी र समुदायका नागरिकहरूले प्रत्यक्ष रूपमा बालविवाहविरुद्धको आफ्नो संकल्पसहित करिब पाँच सय जनाको सहभागिता रहेको जनाइएको छ ।

उक्त अनलाइन अभियानमा ऐक्यबद्धता जनाउँदै कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जीवनको जग भनेका बालबालिका भएकाले जग मजबुत बनाउनको लागि समाजको चुनौतिको रूपमा रहेको बालविवाहलाई अन्त्य गर्नुपर्ने बताए । प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले बालविवाहविरुद्धको अभियानमा सबै एकताबद्ध हुनुपर्नेमा जोड दिए । यस्तै नेकपा कर्णाली प्रदेश सह–इन्चार्ज यामलाल कँडेलले बालविवाहविरुद्ध व्यापक रूपमा सचेतनामूलक अभियानका कार्यक्रम गर्नुपर्ने धारणा राखे ।

कोभिड–१९ का कारणले बालबालिकाका लागि विभिन्न सचेतनामूलक कार्यक्रम गर्न नपाइएको सन्दर्भमा अनलाइन अभियानले सहयोग पु¥याउने राष्ट्रिय महिला आयोगकी सचिव शान्ता भट्टराईले बताइन् । अनलाइन अभियानको समापन कार्यक्रममा आफ्नो विचार राख्दै सामाजिक विकास मन्त्रालयकी महिला विकास अधिकृत अनिता ज्ञवालीले एकल रूपमा अभियानमा सञ्चालन गर्न नसकिने र अभियान सञ्चालन गर्नका लागि सबैको सहयोग र समन्वयको आवश्यक रहेको बताएकी छन् । यसैगरी ‘आजका बालबालिकालाई विश्व मानव जनशक्ति उत्पादन गर्ने हिसाबले लगानी गरेर समृद्ध कर्णाली–सुखारी कर्णालीवासीको दीर्घकालीन सोच पूरा गर्न सकिने कर्णाली प्रदेश योजना आयोगका सदस्य डा. दिपेन्द्र रोकायाले बताएका छन् ।

प्रकाशित मितिः   ३१ भाद्र २०७७, बुधबार ०९:०८