हेलचक्य्राइँको हदः दृश्य आफै बोल्छ

दैलेखको चामुण्डाविन्द्रासैनीमा मन्त्री विमला केसीको सहभागितामा आयोजित डेरी उद्योग उद्घाटन कार्यक्रम ।

कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस ‐कोभिड–१९) का संक्रमितको संख्या दुई हजार आठ सय ६९ पुगेको छ । संक्रमितमध्ये ६ जनाको मृत्यु भइसकेको छ । यद्यपि संक्रमणमुक्त हुनेहरूको दर पनि उच्च छ । प्रदेशमा दुई हजार पाँच सय ७० जनाले कोरोना जितेका छन् ।

कोरोनाले कर्णाली घेरिसकेको छ । दैनिक पुष्टि हुने संक्रमितको तथ्याङ्कले भन्छ– समुदायमा संक्रमण व्यापक बन्दै गएको छ । प्रदेशका दश वटै जिल्ला र ७९ पालिकामध्ये ७० बढीमा कोरोना भाइरसको संक्रमण पुगेको छ । यस्तो अवस्थामा कोरोना नियन्त्रणका लागि सावधानी अपनाउन संघीय, प्रदेश र स्थानीय तहले मातहतका सबै निकाय परिचालन गरेका छन् । सबै तह र संरचना केही महिनायता कोरोना नियन्त्रणमा केन्द्रित छन् । तर, व्यवहारतः त्यस्तो भने पाइँदैन । उनीहरू नै कोरोनालाई सामान्य ठानिरहेका छन् । उनीहरू सहभागी भेला र जमघटले
महामारीसँग खेलाँची गरेको प्रष्ट देखिन्छ ।

जम्बो टोलीसहित कालीकोट पुगेका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीद्वय नरेश भण्डारी र दल रावल ।

संक्रमण नियन्त्रणकै लागि भनेर ६ महिनादेखि उद्योगधन्दा, कलकारखाना, शैक्षिक संस्था र बजारहरू बन्द छन् । यी क्षेत्र अझै पूर्णरूपमा खुलिसकेका छैनन् । मुलुकको आर्थिक गतिविधि ठप्प छ । कोरोना त्रासले सिर्जित परिस्थितिका कारण लाखौं मानिसहरूको रोजीरोटी गुमेको छ । रोजगारी गुमेपछि ज्यालामजदुरी गरी गुजरा चलाउने वर्ग कष्टकर दैनिकी काटिरहेका छन् । नागरिकलाई घरभित्रै बस्न अह्राइएको छ । सरकारले हिँड्डूल, भेला, मेला, चाडपर्व र जमघट गरे कोरोना संक्रमणको जोखिम हुने भनेको छ । तर, संक्रमण दर बढ्दै गएका बेला कर्णाली प्रदेश सरकारका मन्त्रीहरू भने कोरोना बिर्सिएर गाउँ पसेका छन् । उनीहरू आमसभा, भेला र पार्टी प्रवेश गराउने कार्यक्रममा सहभागी बनेका छन् । संक्रमणको जोखिम बढाउने गरी सैयौं मानिसहरू भेला भएका कार्यक्रमलाई उनीहरूले सम्बोधन गरिरहेका छन् । मन्त्रिपरिषद्बाट कोरोना नियन्त्रण तथा रोकथामका आफैंले गरेका निर्णयको बेवास्ता गर्दै उनीहरू त्यस्ता कार्यक्रममा सहभागी भएका हुन् । मन्त्रीहरू आफैले गरिरहेका गैरजिम्मेवार गतिविधिले प्रष्ट हुन्छ उनीहरू कोरोना नियन्त्रणमा गम्भीर छैनन् । विश्वलाई त्रसित बनाइरहेको महामारीसँग खेलाँची गर्दैछन् ।

केही दिनयता कर्णाली प्रदेशका मन्त्रालयहरू मन्त्रीविहीन छन् । बढ्दो जोखिमकाबीच मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित विभागीय मन्त्रीहरू जिल्ला दौडाहामा छन् । उद्घाटन, अनुगमन र पार्टीका कार्यकर्ता भेटघाट तथा भेलामा सहभागी हुँदै आएका छन् । मुख्यमन्त्री एवम् भौतिक पूर्वाधारमन्त्री महेन्द्रबहादुर शाहीसहित आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल रावल कर्णाली करिडोर हुँदै विभिन्न कार्यक्रममा सहभागी बनिरहेका छन् । एक साताका लागि जिल्ला दौडाहामा निस्केका उनीहरू फर्कन अझै केही दिन लाग्ने सचिवालय स्रोतले जनाएको छ ।

दैलेखमा पार्टी प्रवेश गराउँदै नेकपा प्रदेशसभा सदस्य सुशील थापा ।

यस्तै, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी पनि मन्त्रालयमा छैनन् । उनीहरू पनि जिल्ला दौडाहामा छन् । मन्त्री ज्वाला गृह जिल्ला सल्यानमा छन् । उनी त्यहाँ सरकारी कार्यालय उद्घाटनका लागि पुगेका हुन् । ज्वाला पार्टीका कार्यक्रममासमेत सहभागी बनेका छन् । मन्त्री केसी योजना अनुगमनका क्रममा जम्बो टोली लिएर दैलेख गएकी हुन् । उनी पनि पार्टीका कार्यक्रम तथा भेलाहरूमा सहभागी बनेकी थिइन् ।

सल्यानमा हुलमुलसहित पुल उद्घाटन गर्दै मन्त्री प्रकाश ज्वाला ।

गोष्ठी, भेला, कार्यशालाजस्ता भिडभाड हुने क्रियाकलाप नगर्न अपिल गरेको सरकारले नै यसको अवज्ञा गरेको छ । मन्त्रीहरू कार्यकर्ता भेला गरेर पार्टीका कार्यक्रममा सहभागी भएपछि सामाजिक सञ्जालहरूमा आलोचना सुरु भएको छ । विभागीय काम भनिए पनि पार्टीका कार्यक्रममा सहभागी हुँदा उनीहरूको आलोचना भएको हो । राजनीतिक दलहरूसमेत कोरोना महामारीकैबीच पार्टीका कार्यक्रम गर्न गाउँ–गाउँमा पुगेका छन् । सञ्चारमाध्यम तथा नागरिक समाज, स्थानीय प्रशासन र पालिकाहरूको आग्रहको बेवास्ता गर्दै उनीहरूले आफ्ना राजनीतिक गतिविधि सञ्चालन गरिरहेकै छन् । खासगरी दुई ठूला दल नेपाल कम्युनिष्ट पार्टी ‐नेकपा) र कांग्रेसले हेलचक्य्राइँ गर्दै आएका हुन् । उनीहरूमा यतिबेला पार्टी प्रवेश गराउने र संगठन विस्तार गर्ने होडबाजी नै चलेको छ ।

प्रकाशित मितिः   ३१ भाद्र २०७७, बुधबार ०९:२५