कालापहाडको विकल्पमा पाटनतिर

तिला गाउँपालिका–९ राँस गाउँका दानबहादुर रावत अहिले १३ जना समूहको नेतृत्व गर्दै जडिबुटी संकलन गर्न पाटनतिर लागेका छन् । हरेक वर्ष कालापहाडको कमाईबाट परिवारको खर्च जुटाउने उनलाई यसपालि कोरोनाले परदेश जान दिएन । भारत जान नपाएपछि अहिले उनी पाटनतिर लागेका हुन् ।

रावत केही युवाहरूको समूह लिएर जडिबुटी संकलनमा जुटेका छन् । ‘आम्दानीको कुनै स्रोत छैन । परिवारकोे गुजरा चलाउन हम्मे–हम्मे भइरहेको छ,’ रावत भन्छन्, ‘लगाएको खेतीबालीले ६ महिना पनि खानै पुग्दैन ।’ उनले यतिबेला कमाउन पाटनतिर गएको बताए । ‘परदेश जाउ मर्ने बाँच्ने ठेगान छैन । घरमै बसौं परिवार भोकै छ । रोगले भन्दा भोगले मर्ने चिन्ता भयो,’ रावतले भने ।

रावतजस्तै अहिले जुम्लाका थुप्रै विपन्न नागरिक जडिबुटी संकलनमा निस्किएका छन् । उनीहरू यो समयमा सेतोचिनी (खिरौला) र पदमचाल जस्ता जडिबुटी संकलन गरी खर्च जुटाउन पाटनतिर लागेका हुन् ।

तिला गाउँपालिकाकै खाम्म रावत पनि १४ जनाको टिममा जडिबुटी संकलन गर्न हिँडेका छन् । उनले दुई दिनको पैदल यात्रापछि पाटनमा पुगिने बताए । एक दिनमा सेतोचिनी संकलनबाट न्यूनतम एक हजारसम्म आम्दानी गर्न सकिने उनी बताउँछन् । सेतोचिनी सुकाएको प्रतिकिलो पाँच सय र काँचो प्रतिकिलो २५ रूपैयाँमा बिक्री हुन्छ । एक दिनमा एक जनाले एक क्वीण्टलसम्म कोर्न सक्ने ती युवाहरूको अनुभव छ । सेतोचिनी कोर्न भने धेरै दुःख हुने उनीहरू बताउँछन् ।

जडिबुटी संकलनका लागि आवश्यक खाद्यान्न, नुन, तेल, भाँडाकुडा र लत्ताकपडा बोकेर जानुपर्छ । स्थानीय एक युवा भन्छन्, ‘सबै बोकेर लिनुपर्छ, दाउरा र पानी पनि टाढाबाट बोक्नु पर्छ । अचानक बिरामी हुँदा समस्या हुन्छ । पाटनमा चट्याङको डर पनि उत्तिकै हुन्छ । उनले ज्यानको बाजी थापेर खर्च जुटाउन भए पनि पाटनतिर जान बाध्य भएको सुनाए ।

तातोपानी–७ सर्मीका प्रेम कुँवर पनि दशैं खर्च जुटाउनको लागि एक महिना पाटनमै बस्ने योजनामा छन् । अव्यवस्थित ढङ्गले सेतोचिनी संकलन हुँदै जाँदा अहिले नजिक–नजिक पाउन छाडेको कुँवरले बताए । उनका अनुसार यसको बिउ नपाक्दै संकलन गर्नाले लोप हुने खतरा बढेको छ । ‘कार्तिकदेखि मंसिरसम्म राख्ने हो भने यसको बीउ पाक्छ तर आज भोलि नै संकलन गर्ने प्रतिस्पर्धा चलिरहेको छ,’ उनले भने ।
जुम्लामा अत्यधिक दोहन र चोरी निकासीका कारण लेकाली वन क्षेत्रमा पाइने बहुमूल्य जडिबुटी लोप हुन थालेको छ । अवैध चोरी निकासीका कारण पर्याप्त मात्रामा पाइने सेतोचिनी, धुपी, पाँचऔले, सतुवा, पदमचाल लगायतका थुप्रै जडिबुटी पछिल्लो समय लोप हुँदै गएका हुन् ।

प्रकाशित मितिः   २९ भाद्र २०७७, सोमबार ०६:०३