पानीको मूल्यमा एकरूपता

बिसौनी संवाददाता
सुर्खेत, २ वैशाख ।
सुर्खेतमा विभिन्न उद्योगहरूबाट उत्पादित खानेपानीको मूल्यमा एकरूपता कायम गरिने भएको छ । नेपाल पानी उद्योग संघ क्षेत्रीय समन्वय समितिले पानीको दररेटमा एकरूपता ल्याउन मूल्य समेत तोकिदिएको छ । 
समितिले बोत्तलमा प्याकिङ्ग गरेको पानीको प्रति कार्टुन खुद्रा मूल्य एक सय ७० रूपैयाँ, १० पेटीसम्म खरिद गर्नेलाई एक सय ६० र ५० पेटीभन्दा माथि खरिद गर्नेलाई एक सय ५० रूपैयाँ मूल्य निर्धारण गरिदिएको छ । त्यस्तै पानी जारमा डिपोलाई ४० रूपैयाँ र खुद्रा बिक्रेतालाई ६० रूपैयाँ लिने गरी निर्देशन गरिएको जनाइएको छ । यदि तोकिएको नीतिभन्दा माथि गएर बिक्री वितरण गरिएको पाइएमा कडा कारबाही गरिने समितिका सदस्य चिन्तामणी शर्माले जानकारी दिए । 
सुर्खेतमा पछिल्लो समय बढ्दै गइरहेको अस्वस्थ पानीको प्रतिस्पर्धालाई रोक्न नेपाल पानी उद्योग संघ क्षेत्रीय समन्वय समितिले तदारुकता देखाएको छ । क्षेत्रीय समितिले सुर्खेतमा पानी व्यवसायीहरूका बीचमा देखिएको अस्वस्थ प्रतिस्पर्धालाई समाधान गर्न व्यवसायीहरू गम्भीर हुनुपर्ने र  संघले बनाएको नियम पालना गरेर उत्पादन बढाउनुपर्ने बताएको छ । यसैबीच समितिले नेपाल पानी संघ जिल्ला तदर्थ समिति समेत गठन गरेको छ ।
प्रकाशित मितिः   ३ बैशाख २०७३, शुक्रबार ०६:२१