बाढीले भत्किएका विद्यालय असारभित्रै पुनर्निर्माण

बिसौनी संवाददाता
सुर्खेत, २ वैशाख ।
जिल्लाका बाढी प्रभावित विद्यालयहरूको पुनर्निर्माण कार्य आउँदो असार मसान्तभित्रै सम्पन्न गरिने भएको छ । चालु आर्थिक वर्षभित्रै पुनर्निर्माणको काम सम्पन्न गर्न सम्बन्धी सबै विद्यालयहरूलाई निर्देशन दिइसकिएको जिल्ला शिक्षा कार्यालय सुर्खेतले जानकारी 
दिएको छ ।
२०७१ को साउन अन्तिम साता अविरल वर्षासँगै आएको बाढी र पहिरोबाट जिल्लाका करिब एक दर्जन विद्यालय प्रभावित बनेका 
थिए । कतिपय विद्यालयहरू पूर्ण रूपमा ध्वस्त भएका थिए भने कतिपय विद्यालयमा सामान्य क्षति पुगेको 
थियो । पूर्णरूपमा क्षति भएका विद्यालयहरूको पुनर्निर्माण र सामान्य क्षति भएका विद्यालयहरूको मर्मत सुधारका लागि सबै विद्यालयहरूमा बजेट पठाइसकिएको जिल्ला 
शिक्षा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्षको अन्तिमसम्म सबै काम सम्पन्न भइसक्नेछ । 
बाढी प्रभावित विद्यालयहरूको पुनर्निर्माण र मर्मत सुधारका लागि गत वर्ष नै बजेट विनियोजन भएको 
थियो । तर आर्थिक वर्षको अन्तिममा बजेट प्राप्त भएकाले काम गर्न नसकिएको जिल्ला शिक्षा कार्यालय सुर्खेतका सहायक जिल्ला शिक्षा अधिकारी एवम् सूचना अधिकारी ध्रुवराज पौडेलले जानकारी दिए । उनका अनुसार गत असार २५ गते बाढी प्रभावित विद्यालयहरूको पुनर्निर्माण र सुधारका लागि भनेर केन्द्रबाट बजेट पठाइएको थियो । यसका लागि आठ करोड ७० लाख रूपैयाँ आएको उनले जानकारी 
दिए । ‘आर्थिक वर्षको अन्तिममा बजेट आएकाले तत्काल काम गर्न सकिएन’ पौडेलले भने । गतवर्ष काम हुन नसक्ने भएपछि प्राप्त बजेट सम्बन्धित विद्यालयको खातामा पठाएर विद्यालयको खाता बन्द गरिएको थियो । सोही बजेटबाट यस वर्ष काम सुरु गरिएको छ । 
जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसका आधारमा क्षति भएका विद्यालयहरूको छनौट गरी बजेट प्रदान गरिएको पौडेलले 
जनाए । ‘कुन विद्यालयमा कति क्षति भएको छ भनेर जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिस लियौं, निरीक्षण पनि ग¥यौं र त्यसपछि क्षतिको अवस्था हेरेर विद्यालयहरूलाई पुनर्निर्माण तथा मर्मत र सुधारका 
लागि बजेट बाँडफाँड गरिएको हो’ उनले भने । 
यस वर्ष धमाधम काम भइरहेको भन्दै उनले कतिपयले सम्पन्न गरिसकेको र कतिपय सम्पन्न हुने अवस्थामा पुगेको पौडेलले बताए । ‘आउँदो असारभित्र सबै काम सम्पन्न गर्न सबैलाई निर्देशन दिइसकेका छौं’ उनले भने, ‘बाँकी रहेकाहरूले पनि समयमै सम्पन्न गर्नेमा आशावादी 
छौं ।’ केही विद्यालयलाई चार कोठे भवन, केहीलाई दुई कोठे भवन र केहीलाई मर्मतका लागि भनेर बजेट बाँडफाँड गरिएको उनले जनाए । बाढीका कारण विशेष गरी हरिहरपुर, बावियाचौर, तातापानी, तरंगा, लेखपराजुल लगायतका गाविसमा रहेका विद्यालयहरूमा बढी क्षति पुगेको थियो । पूर्ण रूपमा क्षति 
पुगेका विद्यालयहरू अहिले पनि अस्थायी सिकाइ केन्द्रमा सञ्चालन भइरहेका छन् । 
समयमै भवन निर्माण नहुँदा पढाइमा बाधा सिर्जना भएको 
गुनासो विद्यालयहरूले गर्दै आएका छन् । बाढीपीडितहरूको व्यवस्थापन नै पूर्ण रूपमा भइनसकेकाले बालबालिकाहरूको पढाइ पनि प्रभावित हुने गरेको छ । जिल्लाका बाढीपीडितहरूले अहिले पनि अस्थायी शिविरमा बस्दै आएका छन् ।
प्रकाशित मितिः   ३ बैशाख २०७३, शुक्रबार ०६:१७