सरकारी गाडीमा कर्मचारीको रजाइँ

बिसौनी संवाददाता
सुर्खेत, २ वैशाख ।
मध्यपश्चिम क्षेत्रीय स्वास्थ्य तालिम केन्द्र सुर्खेतका प्रमुख हेमन्त पौडेल कार्यालयको गाडी लिएर आफ्नो घर पर्वत पुगे । घरमा पुगेर उनले चैत २९ गते छोराको व्रतबन्ध सम्पन्न गरे । छोराको व्रतबन्ध गर्नका लागि उनी सुर्खेतबाट कार्यालयको बा १ झ ९११६ नम्बरको गाडी, चालक र इन्धनको प्रयोग गरेर घरमा पुगेका हुन् । 
सरकारी गाडी लिएर घरमा पुगेका उनले मध्यपश्चिम क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतबाट कार्यालयको कामका लागि काठमाडौं जाने भन्दै गाडीको स्वीकृती लिएका छन् । कार्यालयको बेरुजु फछ्र्यौटका लागि काठमाडौं जाने भन्दै चैत २४ देखि वैशाख ३ गतेसम्मका लागि गाडीको स्वीकृती लिएका उनी बुटवल, पाल्पा हुँदै छोराको व्रतबन्ध गर्न पर्वतमा रहेको घरमा पुगेका छन् । सो क्रममा दोहोरोतर्फको यात्रामा करिब ३० हजार रूपैयाँको इन्धन खर्च भएको छ । कार्यालयको कामका लागि भन्दै कागज मिलाएर घर गएका कारण अब यो खर्च पनि कार्यालयले नै बेहोर्नु पर्नेछ । 
नयाँ वर्षको पहिलो दिन बुधवार सार्वजनिक बिदा थियो । तर जिल्ला स्वास्थ्य कार्यालयका एक कर्मचारी कार्यालयको मोटरसाइकल लिएर वीरेन्द्रनगरमा आयोजित एक राजनीतिक कार्यक्रममा पुगेका थिए । मदन भण्डारी फाउण्डेसनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पुगेका ती कर्मचारीले स्वास्थ्य कार्यालयको सेतो नम्बर प्लेट भएको भे १ ब ४६० नम्बरको मोटरसाइकल लिएका थिए ।  यो घटना त केवल उदाहरण मात्र 
हो । यस्तै सरकारी गाडीको दुरूपयोग गर्ने सरकारी कर्मचारीहरूमा पौडेल केवल प्रतिनिधि पात्र हुन् । पछिल्लो समय जिल्लामा सरकारी कार्यालयका सवारी साधनहरूको दुरूपयोग बढ्दै गएको छ । कर्मचारीहरूले कार्यालयको काममा भन्दा पनि आफ्नो व्यक्तिगत प्रयोजनका लागि सरकारी गाडीको दुरूपयोग गरिरहेका छन् । जिल्लामा रहेका विभिन्न सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीले बिदाको समय र कार्यालय समय भन्दा बाहिर सरकारी गाडीको दुरूपयोग गरिरहेका छन् । कुनै पनि सरकारी कार्यालयका कर्मचारीहरूले कार्यालयको काममा बाहेक सरकारी नम्बर प्लेटका सवारी साधन चलाउनु परेमा प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने कानुनी प्रावधान छ । यस्तै बिदाको समयमा पनि सरकारी गाडी चलाउन पाइदैन । 
तर, सरकारी गाडीको दुरूपयोग रोक्ने जिम्मेवारी पाएको निकायले कारबाहीमा कडाइ नगर्दा कर्मचारी र तिनका आफन्तले सरकारी गाडीमा रजाइँ नै गरिरहेका छन् । जिल्लामा सरकारी कार्यालयका प्रमुख र कर्मचारीले शनिवार र सार्वजनिक बिदामा समेत सरकारी गाडीको दुरूपयोग गरेर आफन्तलाई बोक्ने, भ्रमणमा जाने, परिवारका सदस्यहरूलाई सिकाउनका लागि प्रयोग गर्ने, होटलमा खाजा खान जाने र विवाह तथा उत्सवमा सहभागी हुने गरेको पाइएको छ । यस्तै केही कर्मचारीहरूले सरकारी गाडीमा घाँस र दाउरा समेत बोक्ने गरेका छन् । पछिल्लो समय कर्मचारीहरूले प्रशासनलाई गलत विवरण दिएर छल्न थालेका छन् । उनीहरूले कार्यालयको कामका लागि भनेर प्रशासनबाट स्वीकृती लिने र व्यक्तिगत प्रयोजनमा सरकारी सवारी साधनको अन्यत्रै प्रयोग गरिरहेका 
छन् । अनुमति नै नलिएर सरकारी कर्मचारीहरूले आफ्नो पारिवारिक प्रयोजनका लागि सरकारी सवारी साधनको दुरूपयोग गर्दा समेत सम्बन्धित निकायले कुनै चासो नदिएको गुनासो नागरिकहरूले गरेका छन् । स्वास्थ्य तालिम केन्द्रका प्रमुख हेमन्त पौडेलले यसअघि पनि गलत विवरण पेश गरेर सरकारी गाडीको दुरूपयोग गरेको क्षेत्रीय प्रशासन कार्यालयले जनाएको छ । क्षेत्रीय प्रशासन कार्यालयका अनुसार अधिकांश क्षेत्रीय स्तरका कार्यालयका प्रमुखहरूले अटेर गर्ने गरेका छन् ।
प्रशासनमा काठमाडौं जाने भनेर गाडीको स्वीकृती लिएका पौडेलले आफ्नो कार्यालयमा भने सोही अवधिमा नेपालगन्जमा हुने तालिममा सहभागी हुने भनेर काज मिलाएको पाइएको छ । कार्यालयका कर्मचारीहरूले भने पौडेल तालिममा सहभागि नभएर छोराको ब्रतवन्धका लागि पर्वत पुगेको जानकारी दिए । पौडेलले भने चितवन–मुग्लिन खण्डमा सडक मर्मत भइरहेको र बाटो बन्द भएकाले आफू पाल्पाबाट पोखरा हुँदै काठमाण्डौ गएको दाबी गरेका छन् । यता जिल्ला प्रशासन कार्यालयले बिदाको समयमा पनि कार्यालयको काम गर्नुपर्ने भएमा सरकारी सवारी साधन चलाउनका लागि अनिवार्य अनुमति लिनुपर्ने बताएको छ । प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले सरकारी सवारी साधनको दुरूपयोग गर्नेलाई कुनै पनि हालतमा नछोड्ने बताए । उनले भने, ‘अनुमति विना बिदाको दिन र व्यक्तिगत काममा सरकारी गाडी प्रयोग गर्न पाइदैन, अनुमति विना सञ्चालन भएको पाइएमा हामी कारवाही गर्छौं ।’ उनले यसको नियन्त्रण गर्नका लागि आफूहरूले तत्काल प्रहरीलाई निर्देशन दिने समेत जानकारी दिए ।
प्रकाशित मितिः   ३ बैशाख २०७३, शुक्रबार ०६:२४