द्धन्द्धकालका उजुरी सङ्कलन हुँदै

बिसौनी संवाददाता
सुर्खेत, २ वैशाख ।
द्वन्द्वपीडितहरूलाई राहत प्रदानका लागि निवेदन सङ्कलनको काम सुरु भएको छ । सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानविन आयोगले १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा मानवअधिकारको गम्भीर उल्लङ्घन भएका घटनाको उजुरी सङ्कलन गर्ने कार्य प्रारम्भ गरेका 
छन् । उजुरी सङ्कलन पश्चात आवश्यक छानविन गरी राहत प्रदान गरिने स्थानीय शान्ति समिति सुर्खेतले जानकारी दिएको छ ।
बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले व्यक्ति बेपत्ता पारिएको कार्यबाट पीडित व्यक्ति वा उनीहरूको तर्फबाट उजुरी सङ्कलन गर्न थालेको छ । स्थानीय शान्ति समितिमार्फत् उजुरी सङ्कलन गर्न सुरु गरिएको हो । उजुरी सङ्कलनको कार्य बिहीवारदेखि सुरु भएको स्थानीय शान्ति समिति सुर्खेतका संयोजक मोहन थापाले जानकारी दिए । उनका अनुसार आगामी जेठ मसान्तसम्म उजुरी दिन सकिनेछ । स्थानीय शान्ति समितिमार्फत् उजुरी आयोगलाई बुझाइनेछ । उजुरी २०५२ फागुन १ गतेदेखि २०६३ मंसिर ५ गतेसम्म सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका घटनासँग सम्बन्धित हुनुपर्ने जनाइएको छ । आफूसँग भएका सबुत प्रमाणहरू उजुरीका साथ संलग्न हुनुपर्ने संयोजक थापाले बताए । यसअघि बेपत्ता पारिएको राहतका लागि ३५ जनाको निवेदन सङ्कलन भएको थियो । जसमध्ये २१ जनाको केन्द्रमा सिफारिस भइ १३ जनाले राहत पाइसकेका छन् । 
यस्तै सत्य निरूपण तथा मेलमिलाप आयोग अन्तर्गत मानवअधिकार उल्लङ्घनका घटना सम्बन्धीका उजुरीहरू सङ्कलन पनि गरिने शान्ति समितिले जनाएको छ । हत्या, अपहरण वा शरीर बन्धक, अङ्गभङ्ग वा अपाङ्ग बनाउने, शारीरिक वा मानसिक यातना, बलात्कार तथा यौनजन्य हिंसा, व्यक्तिगत तथा सार्वजनिक सम्पत्ति लुटपाट, कब्जा, तोडफोड वा आगजनी लगायतका उजुरी सङ्कलन गरिनेछ । घरजग्गाबाट जबर्जस्ती निकाला वा अन्य कुनै किसिमबाट विस्थापन वा अन्तर्राष्ट्रिय मानवअधिकार
 वा मानवीय कानुन विपरित गरिएका जुनसुकै किसिमका मानवीय कार्य वा मानवता विरुद्धको अन्य अपराधका घटना सम्बन्धी उजुरी पनि सङ्कलन हुने थापाले जनाए । वैशाख ५ गतेदेखि असार २ गतेसम्म निवेदन दिन सकिनेछ ।
प्रकाशित मितिः   ३ बैशाख २०७३, शुक्रबार ०६:३१