जसलाई विद्यालय सधैं बिरानो

यतिबेला देशभरका लाखौं बालबालिका घरमै छन् । विद्यालय तहका बालबालिकाले लामो समयदेखि विद्यालय जान पाएका छैनन् । जसका कारण उनीहरूको पठनपाठन प्रभावित भएको छ । छोरोछोरीको भविष्य बिग्रने डरले अभिभावकलाई पिरोलेको छ ।

कोरोना महामारीका कारण शैक्षिक संस्थाहरूले तत्कालै पठनपाठन सुरु गर्ने अवस्थासमेत देखिएको छैन । झण्डै ६ महिनादेखि विद्यालय नखुलेपछि यो शैक्षिक सत्रमा विद्यालय नै जान नपाइने हो कि भन्ने चिन्ता उनीहरूलाई छ । तर, हाम्रै समाजमा यस्ता बालबालिका पनि छन् जसले अहिलेसम्म विद्यालय देख्न पाएका छैनन् । लेख्ने पढ्ने अवसरबाट वञ्चित छन् ।

आधारभूत तहकै शिक्षा लिनबाट वञ्चित उनीहरू विकट र दूरदराजका मात्रै छैनन् प्रदेश राजधानीसमेत रहेको सुर्खेतका पनि हजारौं बालबालिका विद्यालय बाहिरै छन् । केही महिना विद्यालय जान÷पठाउन नपाएर छट्पटिएका विद्यार्थी र अभिभावक तथा तिनको भविष्यका बारेमा चिन्तित सरोकारवाला निकाय विद्यालयकै पहुँचमा नभएका बालबालिकाहरूबारे भने गम्भीर भएको देखिँदैन । यी बालबालिका मौलिक हकबाट वञ्चित हुँदै आएका छन् ।

यस्ता बालबालिकाको संख्या बहुसंख्यक गरिबीको रेखामुनी रहेको कर्णाली प्रदेशमा झनै बढी छ । सुर्खेतमा मात्र साढे चार हजार बालबालिका विद्यालय बाहिर छन् । ती पाँच वर्षदेखि १२ वर्ष उमेर समूहका बालबालिका हुन् । जो सधंै विद्यालय बाहिर छन् । यो तथ्याङ्कले आधारभूत शिक्षा अनिवार्य र निःशुल्क भनिरहेको सरकार र सरोकारवाला निकायलाई गिज्याइरहेको छ । राजधानीजस्तो ठाउँका विद्यालय उमेरका यति ठूलो संख्यामा बालबालिका विद्यालय बाहिर हुनु मुलुककै भविष्य अन्धकार हुनु हो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको शैक्षिक सत्र २०७६ को शैक्षिक व्यवस्थापन तथा सूचना प्रणालीको तथ्याङ्क अनुसार सुर्खेतका नौ वटा स्थानीय तहमा गरी चार हजार सात सय २७ बालबालिका विद्यालय बाहिर रहेका छन् । जसमा एक हजार नौ सय ८९ बालिका र दुई हजार सात सय ३८ बालक हुन् । जिल्लाभर पाँच वर्ष उमेरका एक सय ५७ बालिका र एक सय ८६ बालक गरी जम्मा तीन सय ४३ जना विद्यालय बाहिर रहेको केन्द्रको तथ्याङ्क छ ।

त्यस्तै, ६ वर्ष उमेरका एक सय ८६ बालिका र दुई सय ९१ बालक गरी चार सय ७७, सात वर्ष उमेर समूहका ६ सय २३, आठ वर्ष उमेर समूहका दुई सय ३१ बालिका र तीन सय २९ बालक गरी पाँच सय ६० बालबालिका विद्यालय जानबाट वञ्चित छन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार नौ वर्ष उमेर समूहका पाँच सय ७३, दश वर्ष उमेरका ६ सय ११, एघार वर्ष उमेरका सात सय १७ र १२ वर्ष उमेर समूहका आठ सय २३ बालबालिका विद्यालय जान पाएका छैनन् । विद्यालय बाहिर रहेका पाँच वर्षदेखि १२ वर्ष उमेरका बालबालिकाहरूमा बालिकाको भन्दा बालकहरूको संख्या धेरै रहेको तथ्याङ्कले देखाएको छ ।
संविधानमा उल्लेख भए बमोजिम आधारभूत शिक्षा लिनुपर्ने बालबालिकाहरू नै विद्यालय बाहिर रहनुका थुप्रै कारणहरू रहेको भेरीगंगा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख ‐उप–सचिव) धिरेन्द्रप्रसाद शर्माले बताए । उनका अनुसार विद्यालय जान नसकेका बालबालिका अधिकांश भौगोलिक विकटता, आर्थिक अभाव, अभिभावकको चेतनास्तरको कमी र सिमान्तकृत समुदायका हुन् । ‘व्यवहारिक शिक्षा हामीकहाँ छैन,’ उनी भन्छन्, ‘पढेर आर्थिक अभाव झेल्नुभन्दा कलिलै उमेरदेखि आय–आर्जनमा लाग्ने सोच धेरैको देखिन्छ ।’ शिक्षा आर्जनमा समेत असमानता भएका कारण बालबालिकाहरू विद्यालय बाहिर रहेको उनले बताए ।

शिक्षा विकास तथा समन्वय इकाई सुर्खेतका प्रमुख भोजराज न्यौपानेले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय ल्याउनका लागि सर्वेक्षण गरी योजना बनाउनुपर्ने औल्याए । प्रोत्साहनका कार्यक्रम र कानुनी बाटोसमेत अपनाएर विद्यालय बाहिर रहेका बालबालिकाहरूलाई विद्यालयसम्म ल्याउनुपर्ने उनको भनाइ छ ।

‘शिक्षाको मुख्य अधिकार स्थानीय तहलाई छ,’ उनले भने ‘हामीहरूसँग खासै विद्यार्थीहरूको तथ्याङ्क छैन ।’ जनशक्ति अभावका कारण आफूहरूले यस्ता बालबालिकाको तथ्याङ्क संकलनसमेत गर्न नसकेको उनी बताउँछन् । आफ्नो क्षेत्रभित्रका बालबालिकाहरू विद्यालय बाहिर भएको खण्डमा सम्बन्धित पालिका र त्यस क्षेत्रका विद्यालयहरूले समेत चासो राख्नुपर्ने उनले बताए ।

नेपालको संविधान २०७२ ले मौलिक हकमै कुनै पनि नेपाली नागरिक शिक्षाबाट वञ्चित हुने छैन भनी स्पष्ट व्यवस्था गरेको छ । अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ को परिच्छेद–३ मा अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धीसमेत व्यवस्था गरिएको छ । जसको उपदफा १ मा भनिएको छ– चार वर्ष पूरा भइ १३ वर्ष उमेर पूरा नभएको बालबालिकालाई अनिवार्य आधारभूत शिक्षा प्रदान गर्नुपर्नेछ । तर पनि अधिकांश बालबालिकाहरू नै आधारभूत शिक्षा प्राप्त गर्नबाट वञ्चित भइरहेका छन् । विद्यालय क्षेत्र विकास योजना अन्तर्गत नेपाल सरकार वि.सं. २०८० सालसम्म विद्यालय बाहिर रहेको विद्यार्थीहरूको संख्या शून्यमा झार्ने लक्ष्यसमेत लिएको छ ।