अप्ठ्यारोभित्रको अवसर

कर्णाली प्रदेशमा विगतदेखि नै पर्याप्त स्वास्थ्य पूर्वाधार छैनन् । भएका स्वास्थ्य संस्था सुविधायुक्त छैनन् । आवश्यक जनशक्ति नै छैन । धेरै दरबन्दी रिक्त छन् । नागरिकको स्वास्थ्य संस्थासम्म सहज पहुँच छैन । यसले गर्दा उपचार नपाएरै ज्यान गुमाउनुपर्ने बाध्यताबाट कर्णालीका नागरिक मुक्त हुन सकिरहेको छैनन् । यही अप्ठ्यारोकाबीच कोरोना भाइरस (कोभिड–१९)को महामारीले थप संकट निम्त्याएको छ । कोरोनाले आम नागरिकलाई त त्रसित बनाएको छ नै स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूलाई पनि सकसमा पारेको छ । कर्णालीका स्वास्थ्यकर्मी जोखिमपूर्ण अवस्थामा काम गरिरहेका छन् । उनीहरू एकातिर पूर्वाधार अभावसँग लडिरहेका छन् भने सँगसँगै कोरोना महामारीसँग पनि जुधिरहेका छन् ।

कर्णालीमा कोरोना अन्य प्रदेशको दाँजोमा सबैभन्दा ढिलो देखिएको थियो । जेठ ५ गते पहिलो संक्रमित पहिचान भएको प्रदेशमा झण्डै चार महिनाको अवधिमा संक्रमितको संख्या दुई हजार सात सयभन्दा बढी पुगेको छ । प्रदेशका १० वटै जिल्ला र अधिकांश पालिकासम्म फैलिएको कोरोना संक्रमणको जालो तोड्न स्वास्थ्यकर्मीहरू नै अंग्रपक्तिमा खटिएका छन् । संक्रमणदर बढी भए पनि उनीहरूकै सक्रियताका कारण संक्रमणमुक्त हुनेहरूको संख्या पनि ठूलो छ । सम्भावित संक्रमितको पहिचान, आइसोलेसन र उपचारका लागि पर्याप्त तयारी नहुँदा नहुँदै पनि स्वास्थ्यकर्मीहरूले उच्च जोखिम मोलेर दिनरात गरेको मेहेनतले कोरोना त्रास विस्तारै घट्दै गएको छ । प्रदेशमा एक सयभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन् । यद्यपि पूर्वाधारसँगै जनशक्तिको अभावले चुनौती पनि थपिएको छ ।

भौगोलिक रूपमा कर्णाली दुर्गम छ । छरिएका बस्ती छन् । सडकसहित अन्य विकासका पूर्वाधारहरू सबै ठाउँमा पुगिसकेको छैन । ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाहरू नाम मात्रका छन् । जटिल भौगोलिक अवस्थितिको चुनौती खेपेर काम गर्नुपर्ने छँदैछ । किनभने स्वास्थ्य पूर्वाधारको अवस्था निकै कमजोर छ । त्यसमाथि विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरससँग लड्न पक्कै सजिलो थिएन । संक्रमितको उपचार र व्यवस्थापन अहिले पनि चुनौतीको विषय बनेको छ । यद्यपि स्वास्थ्य पूर्वाधारको अभाव र अप्ठ्यारो परिस्थितिका बीच कर्णालीमा कार्यरत स्वास्थ्यकर्मीले कोरोना महामारीलाई सम्हालिरहेका छन् । अर्को सकारात्मक संकेत के पनि छ भने कोरोना महामारी कर्णालीका लागि अवसर समेत बनिदियो । सामान्य अवस्थामै पनि कर्णालीमा कैयौंले झाडापखाला र सिजनल फ्लूका कारण अकालमै ज्यान गुमाउने गरेका छन् । कोरोना भाइरसको महामारी सुरु हुनुअघि प्रदेशका सुर्खेत र जुम्लामा गरी सघन उपचार कक्ष (आईसीयू) १७ शैया र भेन्टिलेटर ६ वटा मात्रै थिए । प्रदेश मातहतको एक मात्र ठूलो अस्पताल प्रदेश अस्पतालमै पर्याप्त स्वास्थ्य पूर्वाधार थिएनन् । तर, अहिले प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका साथै विभिन्न जिल्ला अस्पतालहरूमा गरी ६२ शैया आईसीयू र २६ वटा भेन्टिलेटर थपिएको छ । स्थापनाको वर्षौंसम्म आईसीयू र भेन्टिलेटर नदेखेका कर्णालीका अस्पतालले यो अवधिमा स्वास्थ्य पूर्वाधारमा फड्को मारेका छन् ।

प्रकाशित मितिः   २८ भाद्र २०७७, आईतवार १०:०५