जोखिम नियन्त्रणको विधि

कोरोना भाइरस (कोभिड–१९) को प्रभाव घटेको छैन । त्रास पनि घटेको छैन । पछिल्लो समय समुदायस्तरमा संक्रमण फैलिएसँगै त्रास झन बढेको छ । संक्रमित पनि बढी रहेकै छन् । नेपालमा हालसम्मका कुल संक्रमतिको संख्या ५० हजार नाघिसकेको छ भने मृत्यु हुनेको संख्या पनि तीन सय नाघिसक्यो । तथ्याङ्क दिनप्रति दिन बढ्दै गइरहेको बेला यो भाइरसबाट कोही पनि व्यक्ति, कुनै ठाउँ वा समुदाय सुरक्षित छैन । जोखिममा सबै छन् । सडकमा ज्यालामजदुरी गर्नेदेखि उच्चपदस्थ व्यक्तिमा संक्रमण देखिइसकेको छ । जोखिम छ, तर त्यसबाट जोगिने पर्याप्त उपायहरू पनि छन् । ति उपायहरू अवलम्बन गर्दै सतर्कता अपनाउने हो भने त्रसित जीवन बाँचिरहनुपर्ने अवस्था हुँदैन ।

मानव जीवन विभिन्न समयमा विभिन्न किसिमका महामारीहरूसँग लड्दै अघि बढिरहेको छ । त्यस्ता किसिमका महामारीहरूसँग जुध्न आजको विज्ञानले धेरै सजिलो पनि बानाइसकेको छ । थुप्रै भाइरस र संक्रमणको औषधि बनिसकेका छन् । तर हालै मात्र पहिचान भएको कोभिड–१९ को औषधि भने बनिसकेको छैन । जसले गर्दा पनि यसले ठूलो त्रास उत्पन्न गराएको छ । जोखिम जस्तोसुकै भएपनि त्यसविरुद्ध लड्ने उपाय भनेकै सजगता, सतर्कता र बौद्धिकता हो । यही उपायबाट कोरोना संक्रमणको प्रभावबाट आफूलाई जोगाउन सकिन्छ ।

विज्ञहरूले विभिन्न किसिमका उपायहरू पनि बताइरहेकै छन् । कोरोनाबाट बच्न आफ्नो शरीरको रोगप्रतिरोधक क्षमता बढाउने उपाय पनि महŒवपूर्ण छ । यसका लागि जीवनशैलीलाई व्यवस्थित र अनुशासित बनाउन जरुरी हुन्छ । सँग–सँगै व्यक्तिको आत्मबल पनि कोरोनासँग लड्ने उपाय हो । कोरोनको प्रभाव ठाउँ अनुसार फरक–फरक देखिएको छ । जस्तो कि नेपालमा अहिलेसम्म संक्रमण पुष्टि भएका अधिकांशमा लक्षण देखिएको छैन । संक्रमित अधिकांश व्यक्ति पनि त्यसबाट मुक्त भइसकेका छन् । यो अवस्थामा आफैमा त्रास पैदा गरेर आत्मबल घटाउनु संक्रमणको जोखिम बनाउनु हो । यस्तो बेलामा सचेत, सतर्क भएर स्वयम्लाई भाइरस संक्रमणको सम्भावना कम गर्न संक्रमित व्यक्ति या त्यस क्षेत्रलाई समेत बचाएर राख्नका साथै आत्मबल बलियो बनाएजस्तै आफ्नो शरीरको रोगप्रतिरोधक क्षमतालाई बढाउने उपाय गर्नु श्रेयस्कर हुने विज्ञहरूको सुझाव छ ।

औषधि फेला नपरेको अवस्थामा सतर्कता अपनाएर जोखिम घटाउनु नै अन्तिम विकल्प हो । विश्व स्वास्थ्य संगठनले यसबाट बच्नका लागि अपनाउनुपर्ने केही निर्देशन दिएको छ । जसलाई हरेक पालना गर्न अपरिहार्य छ । जोखिम घटाउनै भनेर लकडाउन गर्नेदेखि निश्चित क्षेत्रमा निषेधाज्ञा जारी गर्नेसम्मका उपाय अपनाइएको छ । यद्यपि यसले संक्रमण नियन्त्रण गर्न प्रभावकारी भने भइरहेको छैन । तर व्यक्ति स्वयम सजग हुने कुरा नै सबैभन्दा महŒवपूर्ण हो । धेरै मानिस जम्मा नहुने, अत्यावश्यक काममा भेला हुर्नैपर्ने भए भौतिक दूर कायम राख्ने, मास्क र सेनिटाइजरको अनिवार्य प्रयोग गर्ने, साबुनपानीले नियमित हात धुने, सरसफाइमा विशेष ध्यान दिने, जहाँ पायो त्यही नछुने जस्ता सतर्कताका उपाय व्यक्तिले अपनाउनुपर्दछ ।

प्रकाशित मितिः   २६ भाद्र २०७७, शुक्रबार ०६:०३