आत्महत्या र न्यूनिकरणका उपाय

ध्रुवकुमार अधिकारी

विषय प्रवेश

१० सेप्टेम्बरलाई विश्व आत्महत्या रोकथाम दिवसको रूपमा मनाइयो । यस वर्ष ‘आत्महत्या रोक्न सँग–सँगै काम गरौँ’ मुख्य नारा रहेको थियो । आइएएस्पी, डब्लुएचओ, डब्लुएफएमएच लगायतका संगठनले यसलाई चासो र चिन्ता व्यक्त गर्दै कार्यक्रमहरू पनि सञ्चालन गरेका छन् । सन् २००३ देखि यो दिवस मनाउन थालिएको हो । आत्महत्या विश्वमा विकराल बन्दै गएको र यसलाई न्यूनिकरण गर्नु दिवसको उद्देश्य हो । दिवसको अवसरमा विभिन्न रचनात्मक र सचेतनामुलक कार्यक्रम गर्ने गरिएको छ ।

आत्महत्या विनाकारणले हुँदैन भन्ने साझा मान्यता रहेको छ । आत्महत्या गर्ने व्यक्तिगत कारण हुन सक्छ । सामुदायिक कारण हुन सक्छ । सामाजिक कारण हुन सक्छ । मनोवैज्ञानिक वा अन्य यस्तै । मलाई लाग्छ आत्महत्याका कारणहरू अधिक मनोवैज्ञानिक नै हुन्छन् । तिनीहरू लुकेका हुन सक्छन् । जे भएपनि आत्महत्या एउटा साझा समस्या हो । यसको साझा समाधानको उपाय हुनु सार्थक हुन्छ ।

आत्महत्या भनेको के हो?

यो व्यक्तिमा आत्मघाती विचारद्वारा निर्देशित लहड हो । यसले व्यक्तिलाई आत्म–अवहेलनाबाट मृत्युमा पु¥याउने कुकर्मोन्मुख बनाउँछ । व्यक्तिले स्वबाध्यता महसुस गरी जानी–जानी मर्ने मनस्थितिबाट आफ्नो ज्यान आफै लिने बहकाउ हो । यो विश्वव्यापी समस्या हो । विश्व स्वास्थ्य संगठनको केही महिनाअघिको प्रतिवेदन हेर्ने हो भने पनि विश्वमा एक दिनमा तीन हजार एक सयभन्दा बढी र एक वर्षमा एघार लाखभन्दा बढी मानिसहरूले आत्महत्या गरेको तथ्याङ्क देखाउँछ । नेपाल विश्वमा कतै सातौं त कतै आठौं आत्महत्या गर्ने देशको सूचीमा पर्छ । एसियामा भारत, श्रीलंकापछि तेस्रो आत्महत्या गर्ने देशको सूचीमा नेपाल रहेको छ । नेपालमा एक लाखमा २६ जनाले आत्महत्या गर्ने गरेको तथ्याङ्क रहेको छ । पछिल्लो समयमा कोभिड–१९ को संक्रमणपछिको जटिल परिस्थितिले यो संख्या अझै ह्वात्तै बढ्ने देखिन्छ । नेपालमा पछिल्ला सरकारी र गैर–सरकारी तथ्याङ्कहरूले एक दिनमा औषतमा १६ देखि १९ जनासम्मले आत्महत्या गर्ने गरेको देखाउँछन् । यसबाट नेपालमा पनि यो गम्भिर समस्याको रूपमा बढेको अनुमान गर्न सकिन्छ ।

आत्महत्याका कारणहरू

मानिसले आफ्नो ज्यान आफै किन लिन्छ ? के एउटा मानिसले आफ्नो जीवनको जिम्मा आफै लिन नै कारण हुन्छ त ? प्रश्नहरू जति पनि आउँछन् । तर मृत्यु शैयामा पुग्ने कारणहरू पक्कै पनि हुन्छन् । यस्तो अवस्थामा पुग्न यस्ता मानिसको मनमा सकारात्मक भावनाभन्दा पनि नकारात्मक भावनाको हावी रहेको हुन्छ भनिन्छ । अर्को कारण मानसिक रूपमा विक्षिप्त (डिप्रेशन)हुनु पनि हो । पारिवारीक रूपमा एकल हुनु एउटा अर्को कारण बन्न सक्छ । कहिले कडा रोग लाग्नु र म बाँचेर यो संसारमा के काम छ र भन्ने हीन भावना हुनुले पनि मानिस मर्न सक्छ । जीवन जिउने कला नहुने पनि यसो गर्ने गर्छन् । लागू पदार्थको अत्यधिक सेवन गर्नेहरूको पनि आत्महत्याको सूचीमा ठूलो तथ्याङ्क रहेको छ । निराशाका भावनाहरूमा पौडिनु, आवेगपूर्ण वा आक्रामक स्वभावमा परिवर्तन नल्याउनु, सामाजिक रूपमा आफू बहिष्कृत भएको महसुस गर्नु, आत्मघाती विचारहरूले जित्नु, मानसिक विकारले दिमागलाई नियन्त्रण गर्नु पनि आत्महत्या गर्नेका कारणहरूमा पर्दछन् ।

यतिमात्र होइन, सामाजिक लाञ्छना, धार्मीक कारण, सामाजिक मनोवृत्ति समेत यसमा जोडिएको हुन्छन् । सामान्यतया आफ्नो आवश्यकता पूरा भएन र सामान्य पैसाको कारण आत्मग्लानी भएर बाँच्नुभन्दा मर्छु भन्ने भावनामा बगेर पनि आत्महत्या गरेका हुन्छन् । गतमहिना कोहलपुरमा एक जना युवक परिवारले मोटरसाइकल नकिन्दिएको कारण आत्महत्या गरेको समाचार आएको थियो भने गतवर्ष कोहलपुरमा नै एकजना युवति आमाबाबुले स्कुटर नकिन्दिएको कारण आत्महत्या गरेको समाचार आएको थियो । यसलाई सामान्य कारण भन्ने कि जटिल ? विद्यार्थीले पढ्न मन लागेको स्कुलमा पढ्न नपाएको कारण आत्महत्या गरेका घटना छन् । घरेलु हिंसामा परेर महिलाहरूले आत्महत्या गरेका घटना रहेका छन् । पारिवारिक तनाव र बोझले आत्महत्या गर्ने पुरुषहरूको संख्या पनि कम छैन । आमाबाबुले अत्यधिक मन नपरेको काममा दबाब दिएका कारण । स्वास्थ्य समस्याका कारण, गरिबी र अभावका कारण । असफलताको कारण । प्रेममा धोका पाएका कारण वा यस्तै–यस्तै विभिन्न प्रकारका विभिन्न मानिसले आत्महत्या गरेको अवस्था रहेको छ ।

कस्ता व्यकितहरूले आत्महत्याको बाटो रोज्छन् ?

मनोविज्ञानले आत्महत्या गर्नेहरूको बारेमा विभिन्न तरिकाले बताएको छ । स्वभावको हिसाबले हेर्दा जो जिद्दी स्वभावका हुन्छन् । आफ्नो विचार र कुरा मात्र लागू गर्न खोज्छन् । जो बढी अन्तरमुखी स्वभावका पनि हुन्छन् । राम्रो नराम्रो जे भएपनि मैले भनेको सही हो भन्ने भावना राख्छन् । लैङ्गिक रूपमा पुरुषभन्दा महिला । शैक्षिक रूपमा साक्षर भन्दा निरक्षर । उमेरगत रूपमा किशोरवस्थाका बालबालिका विशेष गरी १५ देखि ४० वर्ष उमेर समूहका र ७० वर्ष भन्दा बढी उमेरका ज्येष्ठ नागरिक । क्षेत्रगत रूपमा शहरी क्षेत्रका मानिसहरू । समस्यालाई गम्भिर रूपमा हेर्न नसक्नेहरू । समालोचनात्मक सोचाइको कला नभएका । संसारबाट हारेको महसुस गरेका मानिसहरू नै आत्महत्यामा पुगेको देखिन्छ । मनोविज्ञानले पनि भनेको कुरा यही नै हो ।

विश्व तथ्याङ्क हेर्ने हो भने महिलाभन्दा पुरुषले बढी आत्महत्या गरेको देखिन्छ । आत्महत्यामा पनि धेरै जसो झुण्डिएर आत्महत्या गर्ने गर्छन् । आत्महत्याको एउटा कारण बसाइँसराइँ पनि हो । वैदेशिक रोजगार अर्को कारण हो । उदास हुने, भावविह्वल हुने, निराश हुने र आत्महत्या गर्ने गरेको समाचार आउँछन् । आत्महत्या सबै प्रकारका मानिसले गर्छन् । तर कम–वेसीको कुरा हो । धनी, गरिब, शिक्षित, अशिक्षित, केटा, केटी, बेरोजगार, शहरीया, वृद्ध, शहरका धनी र सम्पन्न परिवारमा पनि यो समस्या विकराल छ । मनोविक्षिप्तताका रोगीहरू, लागू पदार्थ सेवन गर्नेहरू र तनावमा बाँचेकाहरू । आत्महत्याको मनोवैज्ञानिक र सामाजिक असरले पछिल्लो पुस्तालाई पनि नराम्रो असर गर्न सक्छ । मनोवैज्ञानिक सिग्मण्ड फ्राइडले व्यक्तिमा हुने हतास र विध्वंसनात्मक सोच र रचनात्मक क्षमता नभएका कारण मृत्युमा पुग्छ भनेका छन् । इच्छा दमित हुने, आवश्यकता पूरा हुननसक्ने, चाहानाहरू बढ्ने, आत्म सम्मानमा चोट पुग्ने, जीवनप्रति दिक्दारी हुने, मनका कुरा खुलस्त बाहिर ल्याउने वातावरण नभएका परिवार, समुदाय आदि । यो एउटा संवेगात्मक कुरा पनि हो । आत्महत्या गर्नेहरूमा सिजेफ्रेनिया भएकाहरू पनि धेरै नै छन् ।

नेपालमा हेर्दा त सामाजिक विचलन, सांस्कृतिक विचलन, मानसिक रोग, हेला, लामो समयसम्म निको नहुने शारीरिक रोगहरू, नैराश्यता, पारिवारीक कलह, अनमेल विवाह, यौन दुर्बलता, व्यस्तता, असन्तुष्टि, आपसमा अविश्वास, इमान्दारीताको कमी, असुरक्षा, अन्यायमा पर्नु, द्वन्द्व, बेरोजगारी, गरिबी, सञ्चार माध्ययम तथा इन्टरनेटको दुरूपयोग, व्यक्तिगत गुण, जीवनमा सधंै असफलता, समाजमा हुने अस्वस्थ प्रतिस्पर्धा, असमानता, घरेलु हिंसा, सञ्चार प्रविधिको दुरूपयोग, नैतिक शिक्षाको अभाव र नक्कल गर्ने मनोविज्ञान जस्ता थुप्रै कारण जिम्मेवार भएको देखिन्छ । जब मानिसको खुसी र दुख हराउँदै जान्छ ऊ सँग जीवन जीउने कुनै विकल्प हुँदैन अनि ऊ यही बाटो रोज्न पुगेको हुन्छ । अधुरो प्रेम अर्को कारण हो । आर्थिक असफलता, छटपटी, भ्रष्टाचार, दोधार मनस्थिति, श्रीमान्–श्रीमतिबीच वैमनस्यता, सासू ससूराको टोकसो जस्ता नेपालका कारणहरू बढी मात्रामा देखिन्छन् । नदीमा हामफाल्ने, महिलाले हातको नसा काट्ने, निद्रा लाग्ने औषधि अधिक मात्रामा सेवन गर्ने, सबै औषधि एकैपटक खाने आदि माध्यम अपनाएर आत्महत्या गरेका हुन्छन् ।

न्युनिकरणका उपायहरू

विश्वमा सबै भन्दा बढी आत्महत्या गर्ने देश अमेरिका मानिन्छ । नेपालमा पनि यो दर डरलाग्दो रहेको छ । यसलाई न्यूनिकरण गर्न पक्कै पनि सकिन्छ जसको लागि परिवार र समुदायबाट सम्मान भावनाको विकास गर्न लगाउन सकिन्छ । सकारात्मक भावनाले आत्मघाती विचारलाई कम गराउने हुनाले सकारात्मक भावनाको विकास गराएर कम गराउन सकिन्छ । विद्यालय तहका बालबालिकाहरूलाई परामर्श महŒवपूर्ण हुन्छ । कामको बोझ हुनेको लागि तनाव व्यवस्थापन पनि एउटा राम्रो उपाय हो । तर अझ महŒवपूर्ण कुरा त लक्षित समूह पहिचान नै हुन्छ ।
यसमा सबै शिक्षा, स्वास्थ्यसँग काम गर्ने मानिसहरूले सहकार्य गरेर अघि बढ्नु सान्दर्भिक हुन्छ । योगाभ्यास पनि एउटा उपाय हो । सत्य, अहिंसा, सद्भाव, मानवता र मेलमिलापको भावनाले सांस्कृतिक सहिष्णुता र सौहार्दपूर्ण वातावरण निर्माणले शान्ति ल्याउँछ  । मनमा डर, त्रास, तनाव, चिन्ता, उदासिन, दिग्दारी र अन्यौलतापूर्ण भविष्य लिएर बाँच्न नसक्नेले मात्र यो बाटो रोज्छ । यसको लागि मनोशिक्षा कार्यक्रम अत्यन्तै आवश्यक रहेको छ । मनोविमर्श, मनोचिकित्सा एवम् उपचारको माध्यमबाट यसलाई कम गर्न सकिन्छ । सञ्चार माध्यमलाई विभिन्न कार्यक्रममार्फत उपयोग गर्न सकिन्छ । विभिन्न देशहरूले विशेष मानसिक स्वास्थ्य नीति कार्यान्वयन गरेका छन् । हाल नेपालमा कोरोना भाइरसको कारणले भन्दापनि आत्महत्याको कारणले मृत्यु हुनेको संख्या धेरै रह्यो । लकडाउनको अवधिमा नेपालमा आत्महत्याको कारण मृत्यु हुनेको संख्या तीनहजार नाघेको छ । डिप्रेशन, तनाव, निराशापन, सिजोफ्रेनिया, भ्रम, तनाव, माइन्ड स्विङ भइरहने समस्या, व्यक्तित्व विकार, डर, अल्कोहलमा निर्भरता, जटिल दीर्घरोग आदिको पहिचान र उपचार महŒवपूर्ण हुन्छ । आत्महत्या गर्नेहरू सो गर्नु अघि पनि असामान्य व्यवहार देखाउने गर्दछन् । ऋण भए ऋण तिरीदिने, कसैलाई भेट्नुपर्ने भएमा भेट्ने, कसैसँग अति नजिकिने, कसैसँग झगडा परेको भए माफी माग्ने आदि गर्ने गर्छन् । भनिन्छ आत्महत्यालाई नियन्त्रण गर्न सकिन्न तर न्यूनिकरण गर्न सकिन्छ । रिस वा आवेगको व्यवस्थापन गर्ने, सजगता अपनाउने, मानसिक स्वास्थ्यमा ध्यान जाने, डिप्रेसन, मानसिक असन्तुलन, लागुपदार्थ, दुव्र्यसनी, धुम्रपान, मद्यपान कुलतका कारणहरू, केही दीर्घ रोगहरूसमेत कारणहरू हुने हुनाले यसको पहिचान गरी उपचार गरेमा यसले सहयोग पु¥याउँछ ।

उपसंहार

नकारात्मक जीवन घटनाहरूलाई सकारात्मक बनाएर, निराशालाई आशामा रूपान्तरण गरेर, पारिवारीक तनावलाई न्यूनिकरणका उपाय अपनाएर, उदासीन भावनालाई सकारात्मक र रचनात्मक भावनामा पु¥याएर, आत्म–अवमूल्यन नगरी आत्मसम्मानको भावना जागृत गराएर यसलाई न्यूनिकरण गर्न सकिन्छ । यो व्यक्तिगत कुण्ठामा र मनमष्तिस्कमा सुसुप्त, निष्कृय र लुकेर रहेको अपराध हो । मानसिक रोगी अझ बढी यो समस्याको सिकार हुन्छन् । यसलाई साझा समस्याको रूपमा लिएर व्यक्ति नै सजग हुनुको विकल्प छैन ।

प्रकाशित मितिः   २६ भाद्र २०७७, शुक्रबार ०६:०२