‘पर्याप्त जनशक्ति नहुँदा चुनौती बढेको छ’
सझा संवाद
नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको चार महिनासम्म कर्णाली प्रदेशमा भने संक्रमित फेला परेका थिएनन् । अन्य प्रदेशमा धमाधम संक्रमित फेला परिरहँदा कर्णालीलाई कोरोनामुक्त घोषणा गर्ने चर्चा चल्दै थियो । तर जब गत जेठ ५ गते दैलेखमा पहिलो संक्रमित फेला परे, त्यसयता संक्रमणको गति निकै तीव्र बन्यो । पछिल्लो तीन महिनामै संक्रमितको संख्या तीन हजार पुग्न थालिसकेको छ । एकातर्फ संक्रमित बढ्दैछन् भने अर्कोतर्फ समुदायस्तरमा पुगिसकेका कारण थप जोखिम निम्तिएको छ । यसै सन्दर्भमा कर्णालीमा कोरोना संक्रमणको अवस्था, प्रतिकार्यमा भइरहेका काम, आगामी योजना, स्वास्थ्य संरचना र जनशक्तिको अवस्था लगायतका विषयमा हाम्रा सहकर्मी सीता वलीले कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. डम्बर खड्कासँग गरेको कुराकानी:
नेपालमा कोरोना संक्रमण देखिएको चार महिनासम्म पनि कर्णाली ‘ग्रिन जोन’मा थियो । ढिलो संक्रमण देखिएको प्रदेशमा तीन महिनामै करिब तीन हजार संक्रमित फेला परिसकेका छन् । संक्रमण समुदायस्तरमा फैलिसकेको छ । यस्तो कसरी भयो ?
कर्णाली प्रदेशबाट कामको शिलशिलामा भारत जानेहरूको संख्या अत्याधिक छ । भारतमा संक्रमण फैलिन थालेपछि र नेपालमा समेत सरकारले लकडाउन गर्ने भएपछि त्यहाँबाट कामदारहरू गाउँ फर्कन थाले । अर्को कुरा अधिकांश नागरिक लुकीछिपी नाकाबाट प्रवेश गरे । जो व्यक्तिहरू वैधानिक रूपमा नाकाबाटै आरटी–पीसीआर गरी आए उनीहरू क्वारेन्टाइन बसेर परीक्षणपछि मात्रै समुदायमा गए । जो व्यक्तिहरू लुकीछिपी भित्रिएका थिए । उनीहरू परीक्षण नगरीकनै समुदायमा गए जसले गर्दा समुदायमा कोरोना भाइरस फैलिएको हो । नागरिक स्वयम् अनुशासित नहुँदा संक्रमण समुदायमा फैलियो ।
अब कर्णाली ‘ग्रिन जोन’ रहेन । समुदायस्तरमा संक्रमण पुगिसकेको छ । यो अवस्थामा स्वास्थ्य संरचनाहरूको अवस्था कस्तो छ ?
प्रदेशका चारवटा अस्पताललाई कोरोना विशेष अस्पताल यसअघिनै तोकिसकेको अवस्था हो । जसमा प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, चौरजहारी अस्पताल रुकुम–पश्चिम र दैलेख अस्पताल । अन्य अस्पतालहरूमा समेत संरचना होला । तर प्रदेश अस्पताल सुर्खेतको हकमा तीन सय शैयाको बेड भएकोले काम गर्न सहज छ ।
अर्को कुरा कोरोना प्रतिकार्यका लागि हामीसँग एक सय बेड क्षमताको आइसोलेसन भए पनि दुई सय जनासम्म राख्न मिल्नेगरी व्यवस्थापन गरेका छौं । अस्पतालमा भएका आठ वटा भेन्टिलेटरमध्ये हाल दुईवटा भेन्टिलेटरलाई कोरोना प्रतिकार्यका लागि प्रयोग गरेका छौं । यद्यपि संक्रमण फैलिएको अवस्था र जटिल खालको बिरामी आएको अवस्थामा बाँकी ६ वटा भेन्टिलेटर समेत प्रयोग गर्न सकिन्छ । संरचनाको अवस्था समग्रमा ठीकै भन्नुपर्छ । असार मसान्तसम्ममा जे संरचना थपिएका थिए सम्भवतः जिल्लाहरूमा समेत तिनै संरचना छन् ।
कोरोना प्रतिकार्यका लागि जनशक्ति पर्याप्त छन् ? पहिलेकै जनशक्तिबाट काम चलाउनु भएको छ कि, थप भएका छन् ?
हामीसँग कोरोना भाइरस प्रतिकार्यका लागि भनेर छुट्टै जनशक्ति पठाइएको छैन । पूरानै जनशक्तिहरूलाई प्रयोग गरी कोरोना प्रतिकार्यमा व्यवस्थापन गरेका छौं । हामीसँग करिब ९० को हाराहारीमा नर्सिङ्ग स्टाफ र ५५ जना जति डाक्टरहरू हुनुहुन्छ । उहाँहरूबाटै काम चलाएका छौँ । प्रदेश सरकारले नाकाहरूमा रहेका हेल्थ डेस्क र जिल्लाहरूमा केही नर्सहरूलाई खटाएको छ । तर प्रदेश अस्पतालमा भने कोरोना प्रतिकार्यका लागि छुट्टै स्वास्थ्यकर्मी भने खटाइएको छैन । जसले गर्दा हामीहरूलाई काम गर्न अप्ठ्यारो परेको अवस्था हो ।
एउटै स्वास्थ्यकर्मी दुवैतिर खटिनुपरेको अवस्था छ । यदि थप जनशक्ति भएको भए पटक–पटक स्वास्थ्यकर्मीहरू संक्रमित हुँदा अस्पतालको सेवा बन्द गर्न पर्दैनथ्यो । हालसम्म हाम्रा ४१ जना स्वास्थ्यकर्मीहरूलाई संक्रमण भइसकेको छ । जनशक्ति अभावमा पटक–पटक अस्पताल बन्द पनि गर्नुपरेको अवस्था छ । जनशक्ति अभावमा कोरोनासँग लड्नु हाम्रो लागि चुनौतिको विषय हो ।
समुदाय स्तरमा फैलिसकेको कोरोना भाइरसबाट नागरिकहरू कसरी सुरक्षित हुने ?
सबैभन्दा पहिले त नागरिकहरू नै सचेत हुनु जरुरी छ । भौतिक दूरी नै कोरोनासँग बच्ने अचुक औषधि हो । अत्यावश्यक बाहेक छिमेकीको घरमा समेत नजानुहोस् । बजार तथा कार्यालयहरूमा जाँदा समेत दूरी कामय गरी बस्नुहोस् । सकेसम्म अस्पतालमा समेत फोनबाटै सेवा लिने बानी बसाल्नुहोस् । नागरिकहरू सचेत नभएसम्म स्वास्थ्यकर्मी, प्रशासन र सुरक्षाकर्मीहरूले मात्रै केही गर्न सक्दैनन् । नागरिक अनुशासनमा बस्न जरुरी छ । सरसफाइमा अत्याधिक ध्यान पु¥याउनुप¥र्यो ।
पटक–पटक हात धुने, मास्कको प्रयोग गर्ने र भिडभाड नगर्नाले समुदायस्तरमा कोरोना फैलिँदैन । स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा नगर्नेलाई कडा सजाय र जरिवानाको व्यवस्था गर्न सकिएको खण्डमा नागरिकहरू डराउँथे । कानुन कमजोर र कार्यान्वयन समेत कम भएकोले नागरिकहरूको अटेरी पनि बढेको छ । यसमा सबैको ध्यान जानु जरुरी छ ।
महामारी नियन्त्रणका लागि सरकारले अवलम्बन गरेको विधि र बनाएको योजना ठीक छ ?
प्रदेश सरकारले समेत कोरोना भाइरस नियन्त्रणका लागि कोशिस गरेकै छ । अस्पतालमा आवश्यक परेको सामग्री प्राप्त भएकै छ । तर जनशक्ति भने व्यवस्था गर्न नसक्दा हामीहरूलाई काम गर्न समस्या भएको हो । तर आर्थिक रूपमा भने प्रदेश सरकारले सहयोग नगरेको भन्न मिल्दैन ।
यदि कर्णालीमा अहिलेकोभन्दा भयावह स्थिति आयो भने त्यसका लागि आवश्यक तयारी के गर्नुभएको छ ?
अब त्यस्तो अवस्था आयो भने त विश्वमा अपनाएको विधि नै अपनाउनुपर्छ । लक्षण देखिएकाहरूलाई मात्रै अस्पतालमा भर्ना गर्ने । लक्षण नदेखिएकाहरूलाई घरमा होम आइसोलेसनमा राख्ने । तर निरन्तर डाक्टरहरूको निगरानीमा राख्ने ।
कोरोना भाइरसलाई सामाजिक अपराधको रूपमा लिने गरिएको छ । त्यो सबैभन्दा गलत कार्य हो । आखिर हिजोदेखि हामी सबैलाई ज्वरो, रुघाखोकी त लागेकै हो । तर कोरोना मात्रै होइन सबै बिरामीसँग दूरी बनाउँदा दुवैलाई फाइदा हुन्छ । दूरी कायम गर्ने नाममा समाजबाटै बहिस्कार र तिरस्कार भने गर्नुहुँदैन । घरको एउटा कोठामा बिरामीलाई राख्न सकिन्छ । निश्चित अवधि (१४ दिन)सम्म ‘होम आइसोलेसन’मा बस्यो भने समुदायमा संक्रमण फैलिन पाउँदैन ।
कोरोना भाइरस परीक्षणको दायरा कस्तो छ ? परीक्षण बढाउनको लागि सामग्री र जनशक्तिको अवस्था के छ ?
कोरोना परीक्षण त भइरहेकै छ । तर आवश्यक नपर्ने व्यक्तिहरूले समेत परिक्षण गरिरहेका छन् । परिक्षणको दुरूपयोग पछिल्लो समयमा बढेको हो कि भन्ने मलाई लाग्छ । संक्रमित देश वा क्षेत्रबाट आएका, कन्ट्याक्ट टे«सिङमा परेका र लक्षण देखिएकाहरूलाई परीक्षण गर्दा ठीकै हुन्छ । तर त्यसो हुन सकेको छैन । सामग्रीको कुरा गर्दा हामीसँग थप कोरोना परीक्षणको लागि मेसिन समेत आइसकेको छ । तर कोरोना प्रतिकार्यका लागि जनशक्ति नहुनु सबैभन्दा ठूलो चुनौतिकै विषय बनेको छ । यद्यपि भइरहेकै जनशक्तिहरू प्रयोग
गरिएको छ ।
एक पटक कोरोना संक्रमण भइसकेकाहरूलाई पछिसम्म श्वासप्रश्वास प्रणालीमा असर गर्छ भन्ने हल्ला छ नि ?
दीर्घ रोगीहरूलाई यसले असर गर्ने हो । तर अन्य रोग नलागेकाहरूलाई यसले छुट्टै समस्या निम्त्याउँदैन । हल्लाको पछाडि लाग्नुभन्दा पनि आफू र आफ्नो परिवारलाई कसरी कोरोना भाइरसको संक्रमणबाट बचाउने भन्ने कुरामा सबै सचेत हुनु जरुरी छ ।
अन्तमा, आम नागरिकहरूलाई केही भन्न चाहनुहुन्छ ?
जोखिमको समय छ । सबै सचेत हुन जरुरी छ । यसका लागि भौतिक दूरी कायम गर्न सकियो भने कोरोनाको संक्रमण फैलिँदैन । नियममा बस्न सम्पूर्ण नागरिकहरूलाई आग्रह गर्न चाहन्छु । अत्यावश्यक बाहेक घरबाट ननिस्कनुहोस् । अस्पतालमा समेत अनावश्यक व्यक्तिहरू नआइदिनुहोस् । तपाईंहरू एक जनाले गर्दा संक्रमण धेरै ठाउँमा फैलन सक्छ । त्यसैले भिडभाड, सभा, जात्रा भन्दा पनि भौतिक दूरीलाई अवलम्बन गर्नुहोस्, सरसफाइमा विशेष ध्यान दिनुहोस् । यसले कोरोना मात्रै होइन अन्य थुप्रै रोगहरूबाट बचाउँछ ।
प्रकाशित मितिः २५ भाद्र २०७७, बिहीबार ०६:०३
सीता वली ।