अलपत्र गुरुयोजना
तीन वर्षअघि सरकारले देशभरी जमिनको कित्ताकाटमा रोक लगायो । कृषियोग्य भूमि खण्डीकरण हुन नदिने भन्दै यस्तो निर्णय गरिएको थियो । २०७४ सालदेखि रोकिएको जग्गाको कित्ताकाट फुकुवा भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भदौ १८ गतेदेखि देशभर जग्गा कित्ताकाट खुला गरेको हो । तर कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा भने निर्णय कार्यान्वयन हुने या नहुने भन्ने अन्योल कायमै छ । नगरपालिकाले के गर्ने भन्ने निर्णय गरिसकेको छैन । एकातर्फ संघीय सरकारले नै कित्ताकाटमा रोक लगाएको थियो भने अर्कोतर्फ वीरेन्द्रनगर उपत्यकाभित्र पर्ने खेतीयोग्य जमिनमा नगरपालिकालेसमेत २०७५ माघ तेस्रो सातादेखि कित्ताकाटमा रोक लगाएको थियो । वीरेन्द्रनगरभित्र जग्गाको कारोबारमा वृद्धि हुनुका साथै जथाभावी रूपमा कित्ताकाट र घर निर्माण हुन थालेपछि नगरको गुरुयोजना नबन्दासम्मको लागि भन्दै उक्त कार्यमा रोक लगाएको हो ।
वीरेन्द्रनगर प्रदेशको राजधानी हो । अन्य जिल्लाहरूको प्रवेशद्वार । प्रदेशको सबैभन्दा सुगम नगरपालिका । यसकारण पनि वीरेन्द्रनगरमा जनसंख्याको चाप बढ्दैछ । बस्ती थपिँदैछ । घर बनाउने क्रम तीव्र छ । सहरीकरणको प्रभाव पनि बढ्दै गइरहेको छ । बसाइँसरी आउनेहरू थपिँदैछन् । यही कारण पनि जग्गाको कारोबार उच्च हुने गरेको छ । वीरेन्द्रनगरमा जनसंख्याको चाप बढेसँगै अब नगरपालिकाले पनि केही कुराहरूमा ध्यान दिनैपर्ने देखिन्छ । अहिले पनि वीरेन्द्रनगरको बजार व्यवस्थित हुन सकेको छैन । भोलिका दिनहरूमा घर र भवनहरूको संख्या झन थपिँदै जाँदा थप अव्यवस्थित बन्नेछ । त्यसैले सुर्खेत उपत्यकाको विस्तृत गुरुयोजना बनाएर कार्यान्वयन गर्न जरुरी छ । हुन त विगतमा पनि नगर विकास समितिले गुरुयोजना नबनाएको होइन । वि.सं. २०२९ सालमा सहरी योजनाविद् माधवभक्त माथेमाद्वारा वीरेन्द्रनगरको गुरुयोजना तयार पारिएको थियो । जसमा राजमार्गदेखि उत्तरतर्फको क्षेत्रलाई आवास क्षेत्र र दक्षिणतर्फ कृषि क्षेत्र तोकिएको थियो । तर पछिल्लो समय कृषियोग्य क्षेत्रको रूपमा लिइएको दक्षिणी भागमा धमाधम प्लटिङ्ग गरी घर बनेका छन् । जग्गा प्लटिङ्गका नाममा जथाभावी बनाइएका साँघुरा सडकले विकास निर्माणका क्रियाकलाप सञ्चालन गर्नसमेत धौ–धौ परेको छ ।
वीरेन्द्रनगरलाई व्यवस्थित सहरको रूपमा स्थापित गर्न अहिलेदेखि नै गुरुयोजना बनाएर कार्यान्वयनमा ल्याइएन भने भविष्यमा वीरेन्द्रनगर अव्यवस्थित मात्र होइन असुरक्षित सहर बन्नेछ । खेत मासेर धमाधम घडेरी निर्माण गर्ने र त्यसमा घर बनाउने कामलाई नियन्त्रण गर्न जरुरी छ । सडकलाई अहिलेदेखि नै चौडा बनाउनुपर्दछ । ढल निकासको ढोका अहिलेदेखि नै खोलिराख्न आवश्यक छ । फोहोर व्यवस्थापनको विकल्प पनि अहिलेदेखि नै तय गरिरहन आवश्यक छ । यी सबै काम गर्नका लागि जतिसक्दो छिटो गुरुयोजना बनाउन जरुरी छ । गरुयोजना बनाउनु मात्र पनि महत्वपूर्ण कुरा होइन त्यसको कार्यान्वयनमा पनि उत्तिकै तदारुकता जरुरी छ । यद्यपि वीरेन्द्रनगरको नयाँ गुरुयोजनाको काम भने सम्पन्न भइसकेको छैन । नगरपालिकाले तत्काल जग्गाको कित्ताकाट खुलाउनुभन्दा गुरुयोजनालाई पूर्णता दिएर सोही अनुसार काम अघि बढाउनु नै उत्तम हुनेछ ।
प्रकाशित मितिः २५ भाद्र २०७७, बिहीबार ०६:०२
साझा बिसौनी ।