थप २८ जनामा संक्रमण

कर्णाली प्रदेशमा थप २८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । बुधवार आएको रिपोर्टमा कर्णालीका ६ जिल्लाका २७ र चितवनका एक गरी २८ जनामा संक्रमण भेटिएको हो । सुर्खेतका १७, रुकुम–पश्चिमका चार, सल्यान र दैलेखका दुई÷दुई, जाजरकोट र मुगुका एक÷एक जनामा कोरोना देखिएको छ ।

योसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या दुई हजार सात सय १९ पुगेको प्रदेश स्वास्थ्य सेवा महाशाखा प्रमुख विर्षबहादुर शाहीले जानकारी दिए । उनका अनुसार बुधवार प्रदेशभर १४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म दुई हजार तीन सय ५४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो तथ्याङ्कअनुसार प्रदेशभर तीन सय २८ जना सक्रिय संक्रमित छन् । प्रदेशमा हालसम्म ६४ हजारभन्दा बढीको आरटी–पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । संक्रमितमध्ये ६ जनाको मृत्यु भइसकेको छ ।

यस्तै, बुधवार देशभर थप एक हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा संक्रमितको संख्या संख्या ४९ हजार दुई सय १९ पुगेको जनाएको छ । हालसम्म सात लाख ९९ हजार तीन सय ४१ स्वाबको परीक्षण भएको छ । देशभर आइसोलेसनमा १५ हजार २५ र क्वारेन्टाइनमा पाँच हजार चार सय ८० जना रहेका छन् ।

प्रकाशित मितिः   २५ भाद्र २०७७, बिहीबार ०६:०१