छिन्चु बजार बन्द

राजमार्गमा चल्ने लामो दूरीका सवारी साधनमा रोक नलगाइने

कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार भेरीगंगा नगरपालिकाले छिन्चु बजारमा आवतजावतमा रोक लगाएको छ । स्थानीय व्यापारीलाई संक्रमण देखिएपछि सुर्खेतको दोस्रो व्यापारिक केन्द्रसमेत रहेको छिन्चु बजार बन्द गरिएको हो ।

भेरीगंगा नगरपालिकाको केन्द्र उक्त बजार मंगलवार राति १२ बजेदेखि भदौ ३० गते राति १२ बजेसम्मका बन्द गरिने नगर उप–प्रमुख रेणु ढकालले जानकारी दिइन् । उनकाअनुसार एक जना व्यापारीको परिवारका पाँच जना सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ । ‘व्यवसायीमा नै कोरोना देखिएपछि जोखिम बढेकाले एक हप्ताका लागि बजार पूर्णरूपमा बन्द र आवतजावतमा रोक लगाएका हौं,’ ढकालले भनिन् ।

मंगलवार बसेको सर्वपक्षीय बैठकले बजार बन्द गर्ने निर्णय गरेको हो । बजारको पूर्वमा चिप्लेखोला, पश्चिममा भेरी पुल, उत्तरमा राताचौर र दक्षिणमा हर्रे क्षेत्रभित्र आवतजावत बन्द गरिएको छ । बजार आसपासका औषधि पसलबाहेक बैंक तथा वित्तीय संस्थाहरू समेत बन्द हुनेछन् । छिन्चु बजार भएर जाने राजमार्गमा चल्ने लामो दूरीका सवारी साधनलाई भने रोक नलगाइने निर्णय भएको उप–प्रमुख ढकालले बताइन् । भेरीगंगामा हालसम्म कुल ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य शाखाका धिरेन्द्र घर्तीले जानकारी दिए । कोरोना संक्रमितको दर बढेपछि नगरपालिकाले यसअघि जहरे र झिङ्नी बजार सिल गरेको थियो ।

प्रकाशित मितिः   २४ भाद्र २०७७, बुधबार ०६:०४