यात्रु ठग्ने चालक र सवारी नियन्त्रणमा

यात्रुलाई ठग्ने चालक र सवारी साधन नियन्त्रणमा लिइएको छ । प्रहरीले मंगलवार दुई वटा गाडी र त्यसका चालकलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले यात्रु ठगेको पाइएकाले सवारी साधन र चालकलाई नियन्त्रणमा लिई सम्झाइ–बुझाइ गरेर छोडिएको बताए ।

उनका अनुसार भे १ झ ८६८ नम्बरको फोर्स गाडी र भे १ च २१३८ नम्बरको स्कार्पियो नियन्त्रणमा लिइएको हो । सवारी साधनलाई नियन्त्रण लिएर पहिलो पटक भएकाले सम्झाइ–बुझाइ गरी छोडिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुर्खेतबाट दैलेख जाने यात्रुबाट एक हजारसम्म भाडा असुलेको पाइएको छ । ‘सवारी पास लिने र अरु यात्रुहरूसँग महङ्गो भाडा लिएर बोक्ने गरेको पाइएको छ,’ डीएसपी घर्तीले भने, ‘हामीले पहिलो पटक भएकाले दुवै सवारी साधनलाई आइन्दा यसो नगर्ने सर्तमा छोडेका हौं ।’

उनले अबदेखि यात्रु ठग्ने तथा सवारी पासको दुरूपयोग गर्ने सवारी र चालकलाई नियन्त्रणमा लिएर कारबाही गरिने उनले बताए । सवारी साधनको प्रशासनबाट पास लिएर त्यसको दुरूपयोग समेत गर्ने गरिएको पाइएको प्रहरीको भनाइ छ ।

प्रकाशित मितिः   २४ भाद्र २०७७, बुधबार ०६:०२