भोकको भय

कोरोना भाइरस (कोभिड–१९)को महामारी फैलिदै गएपछि भारतमा रहेका धेरै नेपाली स्वदेश फर्किए । कर्णाली प्रदेशमा मात्रै करिब एक लाख नागरिक यो समयमा भित्रिए । कोरोना कहर कायमै छ । यही कहरकाबीच केही महिनाअघि भारतबाट नेपाल फर्किएका नागरिक भने पुनः भारत छिर्दैछन्, रोजगारीको खोजीमा । कोरोनाको संक्रमण नियन्त्रण हुने संकेत देखिएको छैन । हरेक दिन संख्या थपिँदैछन् । सरकारले लामो समय लकडाउन ग¥यो । अहिले पनि विभिन्न क्षेत्रमा निषेधाज्ञा गरिएकै छ । यति गर्दा पनि संक्रमण घटेको छैन । बरु नागरिकको जनजीवन मात्रै प्रभावित बनिरहेको छ । रोजगारीका अवसर गुमेका छन् । आम्दानीको स्रोत बन्द हुँदै गए । धेरै नागरिक बेरोजगार हुन पुगे । दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्नेहरूलाई साँझ बिहानको छाक टार्नै मुस्किल हुँदैछ । भोकले सताउने अवस्था निम्तिन सक्ने देखेपछि अहिले हरेक दिनजसो कर्णालीका विभिन्न जिल्लाका नागरिक जोखिम मोलेर भारत जान लर्को लागेका छन् । कोरोनाले भन्दा भोकको भयले उनीहरूलाई बढी पिरोलेको छ । गुजरा चलाउन गाउँमै ज्याला मजदुरीको कामसमेत नपाएपछि कोरोना त्रासले भारतबाट घर फर्किएकाहरू फेरि भारत जान थालेका छन् ।

रोजगारी गुमाएर परदेशबाट नागरिक स्वदेश फर्किए । तर यता रोजगारीका अवसर थिएनन् । सरकारले पनि उनीहरूलाई स्वरोजगार बनाउन कुनै कदम चालेन । अन्ततः कालापहाड फर्कनुको विकल्प देखेनन् । यतिबेला मुलुकमा तीन तहका सरकार छन् । तर तीनै तहका सरकारसँग नागरिकलाई गाउँमै रोक्ने रोजगारीका कुनै ठोस योजना छैनन् । रोजगारी सिर्जना कहिलेसम्म होला भन्ने कुनै टुङ्गोसमेत छैन । कोरोनाको त्रासले घर फर्किएकाहरू प्रदेशमै रोजगारी नपाएर जीविकोपार्जनमा धौ–धौ परेपछि महामारीकैबीच फेरि भारततिरै हानिन् थालेका हुन् । पछिल्लो समय बाँकेको जमुनाह, पश्चिमी सीमा नाका गड्डाचौकी र गौरीफन्टामा भारत जानेको लर्को लागेको छ । भारत जाने अधिकांश नागरिक कर्णालीका छन् । कोरोना कहरकैबीच कर्णालीका विभिन्न जिल्लाका कतिपय नागरिक भारत पसेका छन् भने केही भारत जानका लागि उपयुक्त समयको पखाईमा छन् ।

सरकारसँग बजेट नभएको भने होइन । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा करिब सात अर्ब रूपैयाँ बजेट रोजगार केन्द्रित कार्यक्रमका लागि विनियोजन गरेको छ । तर कोरोना महामारीका कारण रोजगारी गुमाएर फर्किएका नागरिकलाई लक्षित गरी तत्काल रोजगारी सिर्जना गर्न ल्याएको बजेटको पोको भने फुकाएको छैन । चालु आर्थिक वर्ष सुरु भएको तीन महिना पूरा भइसक्दा पनि बजेट कार्यान्वयनमा नगएको हो । प्रदेश सरकार र स्थानीय तहले गाउँमै रोजगारी दिने बजेट, नीति र कार्यक्रम बनाए पनि लामो समयसम्म कार्यान्वयन गराउन नसकेका हुन् । कर्णालीमा रोजगारीका अवसर नहुँदा वर्षेनी हजारौं श्रम जनशक्ति कामको खोजीमा भारत जाने गर्छन् । उनीहरूलाई स्वदेशमै स्वरोजगार बनाउन नसक्नु सरकारको अक्षमता हो । आँगनमै आएको सरकार नै गैरजिम्मेवार देखिएको छ । नजिक हुनुको औचित्य पुष्टि गर्न नसकेको एक दृष्टान्त हो, यो ।