डा. पूजा बिसी सम्मानित

दैलेखको दुल्लू क्षेत्रमा कोरोना प्रतिकार्यका लागि अग्रपंक्तिमा खटिएकी डा. पूजा बि.सी. सम्मानित भएकी छन् । निजामती सेवा दिवसको अवसरमा दुल्लू नगरपालिकाले डा. बिसीलाई सम्मान गरेको हो । नगर प्रमुख घनश्याम भण्डारीले सोमवार १५ हजार नगदसहित सम्मान गरेका हुन् ।

२८ वर्षीया डा. बिसी दुल्लू अस्पतालकी प्रमुख हुन् । कोरोनाको उच्च जोखिममा रहेको दुल्लूमा बिसीकै नेतृत्वमा नियन्त्रण र रोकथाम गर्न सम्भव भएको नगरप्रमुख भण्डारीले बताए । ‘उहाँले अहरोत्र खटेर दुल्लूलाई कोरोनामुक्त बनाउन ठूलो योगदान गर्नुभयो,’ उनले भने, ‘उहाँकै कारण अहिले पनि हामी कोरोनासँग प्रतिरोध गर्न सक्ने भएका छौं ।’

डा. बि.सी.को कमाण्डमा दुल्लू अस्पताल र स्वास्थ्यचौकीका करिब एक सय २५ स्वास्थ्यकर्मी परिचालन भएका छन् । उनले छिउडीमा रहेको कोरोना विशेष अस्पतालका साथै दुल्लू नगरपालिकाका ९ वटा स्वास्थ्यचौकीको समेत नेतृत्व र समन्वय गरिरहेकी छिन् । डा. बि.सी.ले नगरपालिकाले सम्मान गरेपछि कोरोना प्रतिकार्यमा काम गर्न अझ हौसला मिलेको बताइन् ।

दुल्लुमा एक सय ५६ जनामा कोरोना देखिएकोमा एक सय ४१ जना निको भएर घर गइसकेका छन् । अहिले १३ जनामात्र आइसोलेसनमा छन् । दुईजनाको मृत्यु भएको छ ।

प्रकाशित मितिः   २३ भाद्र २०७७, मंगलवार ०६:०२