निगरानी

सांसदको मूल्याङ्कन

दिनेश गौतम

२०७२ सालमा बनेको नयाँ संविधानले संस्थागत गरेको संघीयताको अभ्यास अनुसार नेपालमा तीन तहका सरकार छन् । एकप्रकारले भन्दा तीन प्रकारका राज्य छन् । संघीय तहमा दुईवटा संसद् हुन्छन्, राष्ट्रियसभा र प्रतिनिधिसभा । त्यस्तै प्रदेश तहमा एउटा संसद् हुन्छ, जसलाई प्रदेशसभा भनिन्छ । स्थानीय तहमा सभा त हुन्छ तर सभा सदस्यलाई सांसद भनिदैन, सभा सदस्य वा जनप्रतिनिधि भनिन्छ ।

हामीले निर्वाचित गरेका सांसदहरू हाम्रो आवाज बोल्ने प्रतिनिधिहरू हुन् । शासकीय व्यवस्थामा सबै नागरिकले शासन गर्न सक्दैनन्÷भ्याउँदैनन् र उपयुक्त हुँदैन भनेर आमनागरिकको प्रतिनिधिको रूपमा सांसदहरू निर्वाचित गरिन्छ । सांसदहरूको पनि आफ्नै दायित्व हुन्छ, जिम्मेवारी हुन्छ । नेपालका विभिन्न कानुनले सांसदहरूले गर्नुपर्ने कामको विषयमा उल्लेख गरेको हुन्छ भने संसदीय अभ्यासका विश्वव्यापी मान्यताबाट पनि उनीहरू निर्देशित हुने गर्दछन् । यस आलेखमा सांसदले गरेका कामलाई प्रभावकारी भएको कसरी मान्ने वा नमान्ने, सफल सांसदको मूल्याङ्कन कसरी गर्ने भन्ने विषयमा विवेचना गरिएको छ ।

१. विश्वास र सहयोगको वातावरण विकास

सबैलार्ई थाहा भएकै कुरा हो, कुनै पनि सरकारले प्रभावकारी रूपमा काम गर्नको लागि त्यहाँका नागरिक र नागरिकका प्रतिनिधिहरू जसलाई हामी सांसद भन्दछौं, उनीहरूबीचको सम्बन्ध बुझ्न आवश्यक हुन्छ । राज्यका अत्यावश्यक तथा साझा विषयहरू हुन्छन्, व्यक्तिका पनि साझा विषयहरू हुन्छन्, ती साझा विषयहरूलाई सुन्ने, बुझ्ने र सरकार समक्ष पु¥याउने भूमिका सांसदले खेल्नुपर्दछ । सांसदले आफ्ना मतदाताको रूपमा रहेका नागरिकहरूको विश्वास जितेको हुनुप¥यो भने सहयोगपूर्ण वातावरणको विकास भएको हुनुपर्छ । के कर्णालीका सांसदहरूलाई तपार्इंहरू विश्वास गर्नुहुन्छ ? सहयोगपूर्ण वातावरण छ ? एक जिम्मेवार नागरिकको रूपमा हामीले मूल्याङ्कन गर्न आवश्यक छ ।

२. संसदीय मूल्य–मान्यताको पालना

सांसदहरू पनि व्यक्ति हुन् । उनीहरू पनि यही समाजका जिम्मेवार सदस्य हुन् । जसरी हामी कुनै जागिर गर्छौं, त्यहाँ त्यो निकायको आफ्नै कानुन हुन्छ र हामी त्यो जागिरमा रहिरहनको लागि त्यो कानुन, मूल्य, मान्यता मान्नुपर्दछ । सांसदहरूको कामकारबाही कति प्रभावकारी भइरहेको छ भन्ने जान्न उनीहरूले संसदीय मूल्य–मान्यताको पालना गरिरहेका छन् वा छैनन् भन्ने कुरा बुझ्न आवश्यक हुन्छ । उनीहरूका गतिविधि एवम् अभ्यासहरू संसदीय मान्यता विपरीत र अस्वाभाविक छन् भने उनीहरू गलत बाटोमा छन् भने थाहा हुन्छ ।

३. उच्च नैतिकता र जिम्मेवार

के हाम्रा सांसदहरूमा उच्च नैतिकता छ ? के उनीहरू उनीहरूलाई सुम्पिएको जिम्मेवारीप्रति प्रतिबद्ध छन् ? भन्ने कुरा हामी आम नागरिकले विवेचना गर्नुपर्दछ । उनीहरूलाई नागरिकले जुन जिम्मेवारी सुम्पिएका छन्, त्यो जिम्मेवारीप्रति उनीहरू जुनसुकै हालतमा पनि प्रतिबद्ध हुनुपर्दछ । अझ हाम्रा सांसदहरू कत्तिको आफ्नो स्वार्थमा मात्र काम गर्छन् र संसदीय गतिविधि तथा बहसहरूमा कत्तिको भाग लिन्छन् भन्ने कुराले पनि उनीहरूको जिम्मेवारीप्रतिको इमान्दारिता बुझ्न सजिलो हुन्छ । कर्णाली प्रदेशसभामा विगतका दिनमा आफूले भनेअनुसार निर्वाचन क्षेत्र विकास कोषमा बजेट छुट्याएपछि
बजेट पारित हुन दिएको अभ्यास यो कुरामा एउटा उदाहरण हुन सक्छ ।

४. सिकाइप्रतिको चाहना

सांसद हामीजस्तै सामान्य मानिस हुने हो । सांसद कोही भगवान पनि होइन, यन्त्र मानव पनि होइन । सांसदलाई सबै कुरा थाहा हुँदैन र हामीले पनि सबै कुरा थाहा हुनपर्छ भनेर जिद्दि गर्नु हुँदैन । तर सांसदमा सिकाइप्रतिको उच्च चाहना हुनपर्छ । कुनै पनि नयाँ कुरा सिक्न चाहनुपर्दछ र संसद्मा बोल्ने विषयमा सकेसम्म अध्ययनशील हुनपर्दछ । नागरिकहरूको अगुवा प्रतिनिधि सांसदको सिकाइको चाहनाले आम नागरिकमा पनि सिकाइप्रति सकारात्मक भावना ल्याउन मद्दत गर्दछ । मै जान्ने मै सुन्ने, म भन्दा कोही पनि बाठो छैनन् भन्छन् भने ती सांसदमा सिकाइको चाहना छैन भन्ने बुझिन्छ र ती कुनै पनि हालतमा हाम्रो सांसद बन्न उपयुक्त छैनन् ।

५. समय व्यवस्थापन

नेपालजस्तो समयको विषयमा लापरबाही विश्वमा कहीँ पनि हुँदैन होला । कर्णालीमा कुनै पनि नागरिक तहबाट आयोजना गरिएको छलफलमा यदि तपार्इं सहभागी हुनुभएको छ भने महसुस गर्नुभएको होला, अधिकांश सांसद, मन्त्री समयभन्दा ढिलो आउँछन् । कति त एकदमै ढिलो पनि गर्दिन्छन् । एक पटक स्तम्भकारलाई कर्णालीकै एक सांसदले भनेका थिए, ‘हेर्नुस् समयमै कार्यक्रममा गयो भने त केही काम छैन, खाली होला, त्यही भएर पहिल्यै आएर बसेको रैछ भन्छन्’ रे । त्यही भएर व्यस्त देखिनको लागि पनि ढिलो जानुपर्ने रे । तर हामीले बुझ्न आवश्यक छ, जो हाम्रो प्रतिनिधिको रूपमा रहेको सांसद आफै समयमा ढिलो छ र समय व्यवस्थापन गरिरहेको छैन भने हाम्रो भविष्यको सुखद् व्यवस्थापन उसले कसरी गर्न सक्ला र ?

६. नागरिकसँगको खुल्ला र सहज सम्बन्ध

तपार्इंले आफ्नो क्षेत्रबाट निर्वाचित सांसदलाई कहिल्यै फोन गर्नुभएको छ ? फोन उठेको छ ? फोन उठेपछि तपार्इंको सांसदले तपाईंको हालखबर सोध्नुभएको छ ? केही अनौपचारिक कुरा भएको छ ? भेट हुँदा आफ्नो मान्छे जसरी बोल्नुभएको छ ? यी प्रश्नको जवाफले पनि तपार्इंको सांसदको मूल्याङ्कन गर्न सकिन्छ । तपार्इंको आवाज सुन्न पर्ने व्यक्ति तपार्इंको आवाज समेत सुन्न चाहँदैन, तपाईंबाट सधैँ टाढा हुन्छ र तपार्इंप्रति जवाफदेही हुँदैन भने के ऊ तपाईंको उचित प्रतिनिधि हो त ? सोच्न जरुरी छ ।

७. भाषणमा स्पष्टता

एउटा आम मतदाताको रूपमा स्तम्भकारको पनि एउटा समस्या छ, त्यो हो कतिपय सांसदको भाषण नबुझ्नु । नबुझ्नु भन्नाले आवाज अस्पष्ट भएर नबुझिएको भन्ने हैन । मञ्चमा रहेर वा संसद्मा रहेर भाषण गरिरहेको मेरो सांसदले बोलेको कुरा मैले बुझ्न सकिरहेको छैन्, सांसदको मन्तव्यको आशय बुझ्न सकिरहेको छैन भने उनको भाषणप्रति अरुचि हुन सक्छ । भाषण बुझ्ने गरी भन्नुपर्दछ । कतिपय सांसद अंग्रेजी जानेको छु भन्दैमा अंग्रेजीमा बोल्न रुचाउने, कति चाहिँ आफ्नो निर्वाचन क्षेत्रको बहुसंख्यकले बुझ्ने भाषा नबोल्दिने, कतिले ज्यादै नै प्राविधिक शब्द प्रयोग गर्ने, कतिले अति नै कुटनीतिक शब्द प्रयोग गर्दछन् जुन आमनागरिकले बुझ्नै सक्दैनन् । जसको आवाज सुनाउनु पर्ने हो, उसैले बुझ्न सकेन भने त्यसरी बोलेको के काम ?

माथि उल्लेखित विषयमा हामीले हाम्रा सांसदहरूको संसद्भित्र मात्र नभएर संसद् बाहिर र आमरूपमा देखिने गतिविधिमा मूल्याङ्कन गर्नुपर्दछ । आम नागरिकको राज्यसँगको सम्बन्ध स्थापित गर्न नागरिकको प्रतिनिधिको रूपमा रहने सांसदहरू नै यदि गलत बाटोमा छन् वा हामी आमनागरिकको पक्षमा काम गरिरहेका छैनन् भने हाम्रो भविष्य पनि त अन्धकार हुन्छ । पटक–पटकको निगरानी, प्रश्न र मूल्याङ्कन जरुरी हुन्छ । नागरिकले आफ्नो प्रतिनिधिलाई चुनावसँगै बिर्सिने हैन, बरु चुनावपछिका हरेक दिनलाई चुनावी दिन जसरी मूल्याङ्कन गर्नुपर्दछ । नागरिकमा रहेको मतको अधिकारले सबै कुरा परिवर्तन गर्न सक्दछ भन्ने चेत शासक र सत्तामा रहने, अनि सांसदहरू सबैलाई गराउनुपर्दछ ।

प्रकाशित मितिः   २३ भाद्र २०७७, मंगलवार ०६:०३