अग्नि प्रभावितलाई राहत

हुम्लाको सर्केगाड–७ ठूला गाउँका अग्नि प्रभावितलाई राहत वितरण गरिएको छ । आगलागी भएको चार दिन पछि शनिवार कर्णाली प्रदेश सरकारले खाद्यान्न तथा लत्ताकपडा दिएको हो । प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलसहितको सरकारी टोलीले अग्नि प्रभावित गाउँको स्थलगत अवलोकन समेत गरेको छ ।

मन्त्री रावलका अनुसार सरकारले त्रिपाल, कम्बल, म्याट, हाइजिन किट, प्लाष्टिकका भाँडाकुडा, चामल ४० बोरा, दाल एक सय केजी र नुन ५० केजी तथा कपडाहरू वितरण गरेको छ । बुधवार साँझ स्थानीय जोखे जैसीको घरबाट सुरु भएको आगोले ठूला गाउँस्थित बामनवाडाका १५ घरमा क्षति पुगेको थियो । तत्काल गास–बासको समस्या भएकाहरूका लागि स्थानीय सर्केगाड गाउँपालिकाले समेत बिहीवार प्रतिघर १२ हजार रूपैयाँको दरले राहत वितरण गरेको थियो ।

प्रकाशित मितिः   २१ भाद्र २०७७, आईतवार ०६:०३