वाणिज्य बैंक एक साता बन्द
कर्मचारीमा कोरोना संक्रमण देखिएपछि राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय सुर्खेतले एक साताका लागि सेवा बन्द गरेको छ । शनिवार बैंकमा कार्यरत एक जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । अन्य कर्मचारी र सेवाग्राहीलाई समेत संक्रमणको जोखिम हुने भएकाले सेवा बन्द गरिएको हो ।
कार्यालय प्रमुुख लिलाराम ढुङ्गानाले कन्ट्याक्ट टे«सिङका आधारमा पाँच दिन पछि कोरोना परीक्षण गरेर मात्रै सेवा पुनः सुरु गरिने जानकारी दिए । कर्मचारीमा कोरोना देखिएपछि सेवाग्राहीमा थप संक्रमण फैलिन नदिनका लागि अहिले सेवा बन्द गरिएको उनको भनाइ छ । कोरोना संक्रमण देखिएका व्यक्तिको भदौ १८ गते परीक्षणका लागि स्वाब दिएका थिए । स्वाब दिएपछि उनी कार्यालय आएका थिएनन् । उनले भने, ‘कर्मचारीमा कोरोना देखिएपछि सबै कर्मचारीको परीक्षण नगर्ने बेलासम्मका लागि सेवा बन्द गरेका हौं । २३ गते परीक्षण गरेर त्यसपछि रिपोर्ट के आउँछ त्यसै अनुसार सेवा प्रवाह गर्ने निर्णय गर्छौं ।’
यसअघि जिल्ला अदालतमा कार्यरत कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि अदालत एक साताका लागि सिल गरिएको थियो । त्यस्तै आन्तरिक मामिला तथा कानून मन्त्रालयको सुरक्षार्थ खटिएका प्रहरीसहित चालक र कार्यालय सहयोगीमा पनि संक्रमण देखिएको थियो । मन्त्रालयले बिहीवारदेखि अत्यावश्यकबाहेक अन्य सबै सेवाहरू बन्द गर्नाका साथै मन्त्रालयका सबै कर्मचारी होम क्वारेन्टाइनमा बसेका छन् । पछिल्लो समय कर्णालीका विभिन्न कार्यालयका कर्मचारीहरूमा पनि संक्रमण देखिएको छ । संक्रमित स्वास्थ्यकर्मीहरूको संख्या पनि थपिँदै गएको छ ।
प्रकाशित मितिः २१ भाद्र २०७७, आईतवार ०६:०४
साझा बिसौनी ।