अनुभूति

त्यो नबिर्सिने यात्रा

कपिलकुमार बोगटी

पुषको अन्तिम दिन बेलुका ४ बजेतिर मेरो यात्रा सुरुभयो एक अपरिचित गाउँ, जहाँ म पहिले कहिल्यै गएको थिएनँ । त्यही गाउँमा पहिलो पटक जाँदै थिएँ । मसँग मेरा दुई आत्मीय मित्रहरू पनि थिए । भनौं साथीकै ससुराला जाँदै थियौँ ।

बेलुकातिरको बस भेट्टाउने हिसाबले कोठाबाट निस्किएका हामी अन्तिम बसमा चढ्यौँ । बसभित्र यात्रीहरूको भिडले उभिने ठाउँ समेत थिएन, त्यसैमा भए पनि कोचिएर जानु बाहेक अरु कुनै विकल्प हामीसँग थिएन ।

बसभित्र हामीले एक आपसमा कुरा गर्ने त के एकअर्कालाई देख्न पनि पाइएन । यात्रा गर्दा जोसँग पनि कुरा गर्नुपर्ने मेरो बाध्यता यो पटक भने चुपचाप उभिनु पर्ने नै थियो ।

बसभित्र गीत गुञ्जिरहेका थिए । बस निरन्तर गुडिरहेको थियो । बीचबीचमा यात्रीहरू कोही झर्ने त कोही चढ्ने क्रम जारी नै थियो । मनले कोही झर्दाखेरी सीट पाइन्छ कि भनेर आश त मानिरहेको थिएँ तर अहँ कतै पाएन ।

रात परिसकेको थियो । बसभित्र पनि बत्ती थिएन । जताततै अँध्यारो अनि हेर्दा अपरिचित अनुहार मात्र देखिन्थे । त्यो दिन यात्रीहरूको भिडभाड हुनु स्वाभाविकै थियो भोलिपल्ट माघी पर्व थियो । सबै जना आ–आफ्नो घर जान आतुर जस्ता देखिन्थे । उनीहरूबीच भएका कुराले पनि त्यही संकेत गथ्र्यो । अरुकै गफहरू सुनेरै लगभग २–३ घण्टाको यात्रा सकियो ।

बसभित्र चढ्ने भन्दा झर्नेको संख्या धेरै देखिन्थ्यो  । अनि यत्तिकैमा हामी तीन पनि अलि नजिक भयौँ । बसभित्र केही सीट पनि खाली हुन थाले । कुरा गर्नुभन्दा पहिला हामीले सीटमा बस्ने प्रयास ग¥यौँ । म उभिरहेको बायाँतिर एकजना महिला बसिरहेकी थिइन् । उनलाई नै इशारा गर्दै भनेँ, ‘के यो सीट खाली छ ? बस्न मिल्छ ?’

म पनि कस्तो, एक सीट खाली छ थपक्क बस्नुको साटो ‘बस्न मिल्छ ?’ भनेर सोध्दै थिएँ ।

‘हुन्छ, किन बस्न नमिल्नुनी, बस्नुहोस्’ उनले आग्रह गरिन् ।

म सीटमा बसेँ अनि मेरो जस्ट अगाडिको सीटमा गोविन्द र पछाडिको सिटमा अमर बसेका थिए । २–३ घण्टापछि सँगै भयौँ हामी । मलाई भने यतिबेला उनीहरूसँग भन्दा पनि सँगै सीटमा बसिरहेकी युवतीसँग कुरा गर्न पाए लागिरहेको थियो । कसरी कुरा सुरुवात गर्ने, के सोध्ने जस्ता कुरासँग मन खेलिरहेको थियो अनि उत्तिकै डर पनि लागिरहेको थियो ।

केही समयपछि कुरा परिचयबाट नै सुरुवात भयो । सप्पै कुराहरू एक–एक मनभित्र बाँकी नराखेर भन्न थालिन् उनले । अनि त्यस्तै आदर्शवादी कुरा पनि गर्न थालिन् । म उनको कुरा सुन्दा–सुन्दै कता हराइरहेको थिएँ । र, केही प्रेरित पनि बनिरहेको थिएँ । उनका कुरा गरेको सुन्दा मलाई यस्तो लाग्यो कि उनी पनि कुरा गर्ने मान्छे नपाएर मसँग भएभरिका कुरा गरिरहेकी छन् ।
विस्तारै मैले पनि उस्तै कुराहरू गर्न थालेँ । कुरा गर्दै–गर्दा अब हामी झर्ने ठाउँ लगभग नजिकै आउँदै छ भनेर उनले भनिन्, एकै ठाउँ झर्नु पर्ने गाउँपनि एउटै तर बिहान भेट गरेर कुरा गर्न पाको भए राम्रो हुन्थ्यो भनेर सोचिरहेको थिएँ ।

‘यो हाम्रो अन्तिम कुरा होला है, भोलि त भेट भएर पनि कुरा हुँदैन । म त झन् चिन्न नै सक्दिन नयाँ मान्छे, सप्पैलाई नयाँ नै देख्छु’ यी सबै कुरा गर्नुको अन्तर्यमा अब उनको नम्बर पाउनु थियो । अनि झटारो हान्दै ‘तिम्रो नम्बर देउन है, हामीलाई सजिलो हुन्छ के भोलि बिहान कतै काम लाग्छ, चिनेको पनि तिमी बाहेक कोही छैन यो गाउँमा’ मैले भनेँ । उनले पनि हुन्छ भन्दै नम्बर दिइन् अनि मैले पनि दिएँ । भनेँ, ‘बिहानपख फोन गर्छु हामीलाई घुमाउनु पर्छ है ?’

‘हुन्छ’ यो उनको उतर थियो ।

बस रोकियो । हामी झर्ने ठाउँ पनि आयो । अब भोलिपल्ट भेट गर्नुपर्छ है भन्दै बिदा भयौँ । अनि हामीलाई घरसम्म लिन भनी सडकसम्म कोही मान्छे आएका थिए । हामी उनीहरूलाई पछ्याउँदै घरसम्म पुग्यौँ ।

साँझको खाना खाइसकेपछि हामी सुत्न भनेर कोठामा गयौं । रातको १० बजिसकेको थियो । सुत्न भनी गएका हामी बाटोमा भएका कुराहरू गर्न थाल्यौँ । मैले पनि सुनाएँ, ती कुराहरू जे–जे भएका थिए । सुनेर दुवैजना हास्न थाले । उतिकै तारिफ, अनि यात्रा सफल तपाईंको भयो भन्दै मख्ख बनाउन थाले ।

गफ गर्दागर्दै साथीहरू सुते । उनीहरू मज्जाले निदाए तर म भने भावनामा डुब्न थालेँ । त्यही यात्राको कुरा सम्झेर सुत्न नै सकिनँ ।

बिहान करिब ७ बजेतिर उठेपछि सबै नित्यकर्म सक्यौ अनि गाउँ घुम्न जाने भन्दै निस्कियौँ । तर बिहानीको हुस्सुले केही पनि देखिँदैनथ्यो । चिसो पनि उत्तिकै । यसैक्रममा हामी घुम्दै फिर्दै फेरि घरमा आयौँ खाना खान ।

माघको एक गते । माघी मेला लाग्छ । मेला जानुपर्छ भनेर मेला लाग्ने ठाउँसम्म पुग्याँै । बाटोमा सुटुक्क एक कल गरेँ, ‘हामी मेला लाग्ने ठाउँमा जाँदै छौँ, जाने होइन ?’ ‘जाँदिन अहिले’ उनले भनिन् ।

‘त्यसो भए, हामी एक्लै जान्छौँ’ मैले भनेँ । मेला सुरु हुन लागेको थियो, मानिसहरू आउँदै थिए, जम्मा हुँदै थिए । हामी भने आज नै फर्किनुपर्ने भएकाले मेला हेर्ने मौका गुमायौँ  ।

बसको पर्खाइमा बसेका हामी चौतारीमै बेलुका चार बजेसम्म पनि गाडी आएन । मन आत्तिरहेको थियो । जसरी पनि आज सुर्खेत नपुगे भोलिको काम छुट्नेथ्यो ।

आधा घण्टाजति पछि एउटा हाइस आयो, ‘सुर्खेत…सुर्खेत’ भन्दै । त्यही हाइसमा चढेर हामी बाटो लाग्यौं । बीच बाटामो पुग्दा फोन बजिरहेको थियो । हेरे, त्यही नम्बर । उठाएँ, ‘कहाँ हुनुहुन्छ ? मेलामा आउनुस् न रमाइलो भइरहेको छ’, उनले भनिन् ।

‘सरी, म सुर्खेत पुग्न लागेँ, यतै भेटौंलाँ’ भन्दै फोन राखेँ ।

दिनहरू बितिरहेका थिए । अध्ययन–अध्यापनमै व्यस्त भयौं हामी । बीचमा कैयौं पटक फोन गरेँ, उनीसँगको भेट सफल भएन । सुर्खेत हुँदा पनि भेट भएन तर पनि उनीप्रतिको माया भने कायमै थियो । तर त्यति चासो भने थिएन ।

१ वैशाख २०७७ को शुभकामना सन्देश म्यासेजमा सबैलाई पठाइरहेको थिएँ । उनको नम्बर पनि सेभ नै थियो पठाएँ । केही छिनमै उताबाट ‘धन्यवाद’ लेखेको म्यासेज मोबाइलमा आयो । अनि फोन पनि । उठाएँ । उतैबाट ‘को बोल्नु भा’को नि ?’ भनेर सोधिन् ।

मैले पनि नढाटी सबै कुरा भनेँ । ‘आजसम्म कता हराउनु भएको थयो, निष्ठुरी मन भाको मान्छे ?’ प्रश्न ममाथि नै तेर्सियो ।

मैले नसम्झिनुको एक–एक कारण भनेँ । कुराहरू हुँदै गए, त्यो दिनदेखि विस्तारै मायाको महसुस हुन थाल्यो । हाम्रो निरन्तर रूपमा फोनबाट कुरा हुन थल्यो । दुःख–सुख, हाँसो–रोदन, खुशी–पीडा अनि त्यस्तै पारिवारिक कुराहरू दिनहुँ सेयर हुन थाले । बेग्लै रोमाञ्चकताका साथ ।

कसैको मायामा पर्नु पनि छुट्टै आनन्द हुँदो रहेछ । मनले उनलाई नै खोजिरह्न्थ्यो हरेक पल हरेक क्षण तर मनले नजिक भएका हामी त्यो रातिको यात्रा बाहेक कहिल्यै पनि भेट भाको थिएन । राम्रोसङ्ग देखेको पनि थिएन । र पनि हामी एकअर्कालाई माया गरिरहन्थ्याँै । बीचमा केही मनमुटाव भए पनि हाम्रो सम्बन्ध अगाडि बढीरहेको थियो र छ । मन यसै छट्पटिन्छ, तड्पिन्छ, नछुटौँ भन्छ, भेटौँ भन्छ, हाँस्छ, मुकुराउँछ, रमाउँछ, डराउँछ अनि यस्तै यस्तै माया लगाइराखौँ भन्छ प्रिय तिमीसँग ।

प्रकाशित मितिः   २० भाद्र २०७७, शनिबार ०७:०५