प्रेमदेवको साइकल प्रेम

कलाकार प्रेमदेव गिरीले साइकल चढ्न थालेको तीन दशक बित्योे । २०४६ सालदेखि उनी निरन्तर साइकलमै यात्रा गर्छन् । साइकल नै उनको मुख्य सवारी साधन हो । घुमघाम र यात्राको सारथी हो ।

साइकलसँगको नाता भने उनका बहिनी–ज्वाईंले जोडिदिएका हुन् । त्यसबेला उनी इगरब्रिज बोर्डिङ्ग स्कुुलमा अतिरिक्त शिक्षकको रूपमा कार्यरत थिए । घरदेखि हिँडेरै आउने–जाने गर्थे । घुमघाम गर्न उत्तिकै मन पथ्र्यो । जहाँ पनि हिँडेरै पुग्थे ।

एक दिन उनका बहिनी–ज्वार्इंले ‘हजुर हिँडिरहनुहुँदो रहेछ, यो साइकल चलाउनुस्’ भनेर दिए । त्यसदिनदेखि प्रेमदेवको सारथी बन्यो साइकल । उनले साइकलको यात्रा छोडेका छैनन् ।
उनको सम्झनामा सुर्खेतमा २०३० सालदेखि औँलामा गन्न सकिने व्यक्तिहरूले मात्र साइकल चढ्थे । ‘वि.सं. २०५० को दशकमा भने साइकलको लहर चल्यो’ उनले सम्झिए ।

२०२८ सालमा वीरेन्द्रनगरका रतनबहादुर गुरुङले साइकल ल्याएका थिए । प्रेमदेवले देखेको पहिलो साइकल त्यही थियो ।

२०३० सालपछि सुर्खेतमा साइकलको माग बढ्न थाल्यो । उनी भन्छन्, ‘त्यसबेलामा साइकल चढ्नेहरू २०५० सालसम्म बाइकमा चढ्न थाले । पछि त विस्तारै साइकलको लहर गयो ।’
साइकल चढ्नेहरू मोटरसाइकल चढे । मोटरसाइकल चढ्नेहरू कार चढ्न थाले । तर प्रेमदेवको सदावहार साथी हो, साइकल । तीन दशकअघि जोडिएको साइकलसँगको साइनो अहिले पनि कायम छ ।

वीरेन्द्रनगरभित्र जुुनसुुकै ठाउँमा जाँदा साइकलमै यात्रा गर्छन् । ३६ वर्षको उमेरमा साइकल चलाउन सुुरु गरेका गिरी अहिले ६७ वर्षका भए । अब त बुढेसकालले छुँदै गइरहेको छ । तर अझै उनी तीन वर्ष अर्थात् ७० वर्ष पुग्ने बेलासम्म साइकल चलाउन सक्ने आत्मविश्वासका साथ बताउँछन् ।

साइकल एक सवारी साधन मात्रै होइन, यसको धेरै फाइदा छन् । प्रेमको अनुभवमा पनि उनको जीवनमा साइकल उपयोगीसिद्ध भएको छ । एक त साइकल सर्वसुलभ छ । पुग्नुपर्ने ठाउँमा दुुई कदम अघि पुुग्न सघाउँछ  । शारीरिक व्यायाम पनि हुन्छ, शरीर स्वस्थ राख्न मद्दत गर्दछ । स्वच्छ वातावरण निर्माणमा पनि उत्तिकै महत्वपूर्ण हुने उनी बताउँछन् ।

अर्को महत्वपूर्ण फाइदा के पनि हो भने साइकलमा दुर्घटनाको जोखिम कम हुन्छ । मोटरसाइकल होस् वा अन्य चार पांग्रे सवारी साधन जस्तो साइकलमा दुर्घटना हुने गरेका छैनन् । यसकारण पनि साइकल आम जीवनशैली सुहाउँदो साधन भएको तर्क प्रेमदेवको छ ।

प्रेमदेव साइकल त चलाउँछन्, सँगसँगै त्यसको जतन पनि गर्छन् । साइकललाई प्रेम गर्छन् । कतिसम्म जतन गरेर चलाउँछन् भने तीन दशकको अवधिमा उनले तीन वटा मात्रै साइकल फेरेका छन् । प्रेमपूर्वक जतन गरे एउटा साइकल तीन पुुस्तालाई हुुने उनको जिकिर छ । ‘मेरो नातिले पनि मैले चलाएको साइकल चलाउँछ’ उनले उदाहरण दिए ।

२०६५ सालमा गिरी एक महिनाका लागि अमेरिका गएका थिए । त्यहाँ साइकलको उपयोगिता कतिसम्म रहेछ भनेर राम्रोसँग बुझ्ने मौका पाए । मानिसहरूले टाढा जाँदा कारमा साइकल लिएर जान्थे । एक ठाउँमा कार रोकेर साइकल चढ्थे । उनी भन्छन्, ‘साइकल रहर र साथी मात्र होइन साथीको पनि साथी रहेछ ।’

साइकलमा चढ्दा रमाइलो लाग्ने उनी सुनाउँछन् । पहिलो पटक साइकल चढ्दाको अनुभूति सुनाउँदै भने, ‘सानोमा पिङ खेल्दा भुर्इं छोड्दा र चिप्लेटी खेल्दा जति रमाइलो हुन्थ्यो । त्यस्तै आनन्दको अनुभूति भयो ।’

पहिलो साइकलपछि स्कुुलले नयाँ साइकल दियो । उनले त्यो साइकल पनि धेरै वर्ष चलाए । बीचमा उनले केही वर्ष साइकल चलाएनन् । हातखुट्टा झम्झमाउने र दुख्ने समस्या भएपछि कतै साइकल चलाएर त होइन भन्ने उनलाई लाग्यो । तर अरुले रिक्सा चलाएर नैै जीवन गुजारेको देख्थे । साइकलमा ठूलो भारी बोकेको देख्दा म भ्रममा परेको छु कि भन्ने उनलाई लाग्यो । त्यसपछि उनी मानसिक रूपमै साइकलको कारण यस्तो समस्या आउँदैन, अबदेखि साइकल चलाउँछु भनेर तयार भए ।

उनी हरेक कुरा समय अनुसार हुुने बताउँछन् । संस्कार र युुग परिवर्तन भइरहन्छ । ‘३६ वर्ष उमेर अघि मैले जहाज चढे हुँला तर साइकलमा चढेका थिएनन् । अहिले साइकल मलाई बरदान जस्तो लाग्छ । हरेक कुरा समय अनुसार नै परिवर्तन हुन्छ ।’

कहिलेकाहीँ साइकल चलाएर उनी अलायचौर, फलाँटे, रानीघाट पुग्छन् । साइकल चलाउँदै गर्दा उनीसँग रमाइलो र सुखद् अनुभूति छन् । घुम्न मन पर्ने भएकाले उनी साइकलमा वीरेन्द्रनगर उपत्यकाका विभिन्न ठाउँमा जान्छन् । थकाई लागेको समयमा साइकल समातेर घुम्न निस्किहाल्छन् ।

अहिले कोरोना संक्रमणको त्रासका कारण उनी बस्तीहरूमा त्यति गएका छैनन् । तर यसअघि वीरेन्द्रनगरका धेरै बस्तीमा पुगेका छन् । उनी भन्छन्, ‘मैले बालबालिकाले पनि सानैदेखि साइकल चढ्न प्रेरित गरुँन भनेर साइकल चढ्छु । अहिले म इन्टरनेशनल को–अपरेटिभ बोर्डिङ्ग स्कुलमा अतिरिक्त शिक्षकको रूपमा पढाउँछु । म स्कुल जाँदा पनि साइकल चलाएर जान्छु र विद्यार्थीको घर–घरमा पनि साइकलमा जाने गर्छु । म किन गएको भने, अभिभावकलाई छोराछोरीले महङ्गो मोटरसाइकल भन्दा साइकल नै किन्न भनुन् भनेर जान्छु ।’

उमेर दिनप्रति दिन बढ्दो छ । प्रेमदेवका दाह्री र कपाल फूलेर सेतै भएका छन् । यो उमेरमा साइकल चलाएर हिँडेको देख्दा कतिपयले आश्चर्य मान्छन् । बालबालिका पनि दङ्ग पर्छन्, रमाइलो मान्छन् । कतिपय बालबालिका उनको साइकललाई पछ्याउँछन् । त्यो क्षण उनलाई निकै रमाइलो लाग्छ ।

साइकलमा धेरै वर आइसके पनि परबाट केटाकेटीले हेरिरहेका हुुन्छन् । उनी मुसुक्क हाँसेर एउटा हात हल्लाएर अघि बढ्छन् । भन्छन्, ‘मलाई त्यो क्षण साँच्चिकै आनन्द लाग्छ । सायद साइकल भएका बालबालिका साइकल सम्झन्छन् होला । नभएकाले रहर गर्छन् होला । आफूले पनि यस्तैगरी पछिसम्म साइकल चलाउँछु भन्ने उनीहरूमा सोच आउँछ होला भन्ने लाग्छ ।’

पछिल्लो समय वीरेन्द्रनगरमा पनि साइकल चलाउनेहरूको समूह बनेका छन् । कोही दैनिक त कोही साप्ताहिक रूपमा साइकिलिङ्ग गर्छन् । यसले उनलाई खुशी लाग्छ । तर केही दिनको रहरका लागि मात्रै हो कि भन्ने पनि लाग्छ । उनी भन्छन्, ‘देखाउनका लागि मात्र साइकल नचढ्नुुस् । यदि साइकल चढेको हो भने वीरेन्द्रनगर उपत्यकाभित्र जुनसुकै काम पर्दा पनि साइकल चढ्ने गर्नुस् । कम्तीमा पाँच वर्ष उदाहरणको रूपमा रहनुस् । कम्तीमा पनि सानो बच्चाले आफू ठूलो हुुने बेलासम्म साइकल चढेको देख्न पाओस् ।’

साथै उनले बालबालिकाहरूलाई सानो उमेरदेखि नै साइकलको उपयोगिताबारे जानकारी दिएर प्रेरित गर्नुपर्ने बताए । ताकि उसले ठूलो भएपछि बाइक किनिदिनु भन्ने ठाउँमा अभिभावकसँग साइकल किन्न भनोस् ।

त्यसो त सरकारले पनि वीरेन्द्रनगरलाई साइकलमैत्री बनाउन छुट्टै साइकल लेन गराउने योजना आफ्नो नीति तथा कार्यक्रममा नै घोषणा गरेको छ । प्रेमदेवले पनि यो कुरा सुने । तर यो कार्यान्वयन हुन्छ कि हुँदैन भन्नेमा उनी विश्वस्त छैनन् । वीरेन्द्रनगरलाई साइकल सिटी बनाउने प्रदेश सरकार होस् वा वीरेन्द्रनगर नगरपालिका । नीति तथा कार्यक्रम लोकप्रियता बाहेक अरु प्रभावकारिता नहुुने उनको भनाइ छ । उनी भन्छन्, ‘प्रदेशका सरकारका मन्त्री हुन् या नगरपालिकाका प्रमुख–उपप्रमुख १५÷२० मिनेटको बाटो पनि गाडीमा चढेर कार्यालय जान्छन् । अधिकृतले मोटरसाइकल चढेर कार्यालय जान्छन् । अनि अरुलाई साइकल चलाउँ भनेर सफल हुुन्छ ? अरुलाई भन्नुुभन्दा पहिले आफैबाट सुरुवात गर्नुपर्छ अनि मात्र नीति कार्यक्रम सफल हुुन्छन् ।’

उपत्यका बाहिर जाँदा मात्रै गाडी चढ्ने र यही हुुँदा सरकारी गाडी नचलाएर साइकल चलाउने अभियान मन्त्री र जनप्रतिनिधिहरूले नै सुरु गर्न आवश्यक रहेको उनले औंल्याए । नीति राम्रो भए पनि कार्यान्वयन महथ्वपूर्ण हुने बताउँदै प्रेमदेवले अरुलाई निर्देशन दिनु भन्दा पहिले आफैबाट सुरुवात गर्नुपर्ने धारणा राखे ।

प्रकाशित मितिः   २० भाद्र २०७७, शनिबार ०७:१०