विचार

जातको जकडबन्दी

शंकर आचार्य

ओडारमा बस्ने मानिसहरू अन्तरिक्षमा बस्ने भए । ढुङ्गाको हतियार बोक्नेहरू परमाणु बम खसाल्ने भए । छोटो समयमा नै मान्छेले आफ्नो दैनिकीमा आकाश–पातालको परिवर्तन गरिसक्यो तर हामीले भने एउटै कुरापनि परिवर्तन गर्न सकेनौं त्यो हो, छोइछिटो ।

मलाई याद छ जतिबेला म सानो थिएँ । मेरो हजुरआमा सकभर दलितहरूसँग छोइनु हुन्थेन । कथम–कदाचित उहाँ छोइहाल्नु भएछ भने तुरुन्त घरमा आएर छि–छि र दुर–दुर गर्दै नुहाउनुहुन्थ्यो । त्यसपछि सुनपानी छर्केर चोखिनु हुन्थ्यो । यो करिब दुई दशक अगाडिको कुरा हो तर अहिलेसम्म पनि समाजमा दलितले छोएको पानीसम्म पनि नखाने चलन यथावत नै छ ।
यस्तै कुरिती र कुसंस्कारको अन्त्य गर्नुपर्छ  । यस्तो हुनुमा देशको शासन व्यस्था नै खराब रहेको भन्दै १२ वर्षसम्म जङ्गल र सडकदेखि विद्रोह गर्नेहरूकै हातमा देशको बागडोर छ तर अझै पनि किन परिवर्तन हुन सकेन त हाम्रो समाज, तपार्इं अनि म ? प्रश्न गम्भिर छ ।

सार्वजनिक सभा–सम्मेलन हुन् या त कुनै बैठक–गोष्ठी जतापनि दलित सँग–सँगै बस्नु पर्दा कथित माथिल्लो जात मानिएका बोक्रे भलाद्मीहरू नाक ङिच्च पार्न पछि पर्दैनन् । देखाएर उनीहरूले भेदभाव गर्न सक्दैनन् तर मानसिक रूपमा भेदभाव गरेकै हुन्छन् । अझै पनि दलितको छोरो या छोरी राम्रो भए भने हेरन तल्लो जातिको छोरो भएर पनि कति राम्रो हो के ? भनेकै हुन्छन् ।

आखिर यो समाजको सबै मान्छे एउटै हुन् । जुन जातका मानिसको पसिनाको कमाई खाइरहेका छन् तिनैले छोएको पानीसम्म पनि नचल्नुले समाज भित्रको अहंकारलाई परिभाषित गर्दछ । मरेपछी सबैजनाले यो संसार छोडेर नै जानू पर्छ । दलित होस् या ब्राह्मण–क्षेत्री सबैलाई एउटै अग्निले जलाउँछ ।

हालै दलित समुदायबाट पहिलो पटक मानबहादुर विश्वकर्मा नेपाल सरकारको सचिव बने । उनको क्षमता कदरसँगै दलित समुदायको खिल्ली उडाउने काम पनि भयो । एउटा अखबारको समाचार शीर्षक थियो, ‘दलित भएर पनि सचिव !’ यस्ता समाचारहरूको आशय बुझ्दा सजिलै अनुमान गर्न सकिन्छ कि मानौं दलित भन्ने मान्छे नै होइनन् । मानौं कि दलितसँग कुनै क्षमता नै हँुदैन । अरु जस्तै एक सामान्य मान्छे सरकारको सचिव भएको हो । अरु जस्तै क्षमतावान मान्छे सचिव भएको हो । यसमा अचम्म मान्नु पर्ने कुरा के छ र ? अनि राष्ट्रिय पत्रिकाको मुख्य समाचार बन्नु पर्ने के छ र ?

देशमा छुवाछुतविरुद्ध थुप्रै आन्दोलनहरू भए । थुप्रै दलितहरूले नै आफूलाई देशको सत्तासम्म पुग्ने भ¥याङ्ग बनाए तर जब काम गर्ने बेला आयो उनीहरूले दलित को हुन् भन्ने चिन्न पनि बिर्से । कानुनी रूपमा देश वि.स. २०२० सालमा नै छुवाछुतमुक्त घोषणा भइसक्यो तर व्यवहारिक रूपमा नै २०७७ सालमा पनि मुक्त हुन सकेको छैन भन्ने कुराको यथेष्ट प्रमाणको रूपमा रहेको छ, रुकुम घटना ।

एक दलित समाजको केटाले समाजमा ‘राजा साहेब’ बनेर बसेका ठकुरीको छोरीसँग बिहे गर्न खोजे तब निकै निर्ममता पूर्वक ६ जनाको हत्या गरियो । यो घटनाले परिभाषित गर्दछ कि हाम्रो वास्तविक समाज अझै कुन ठाउँमा छ भनेर । हामीले कागजी रूपमा थुप्रै परिवर्तन गरिसक्यौँ तर व्यवहारमा भने रत्तिभरिको परिवर्तन हुन पनि सकेनौँ ।

हामीभन्दा पछि दास प्रथाबाट मुक्त भएको अमेरिका अहिले विश्वकै अग्रपङ्तिमा खडा रहेको छ । रूवान्डा यस्तो देश हो, जहाँ जातिय लडाइका कारण ८ दिन मै एक लाख भन्दा बढीले ज्यान गुमाएका थिए । हाम्रो देशमा अहिलेसम्म कुनै जातिय भड्काउ भएको छैन र यस्तो नहोस पनि । तर हामीले यस्तो कुरामा विचार पु¥याउन भने आवश्यक देखिन्छ ।

देशले बनाएका नीतिहरूले पनि दलित समुदायलाई बराबर बनाउने भन्दा अझै तल दबाउने कोसिस गरिरहेको छ । समावेशीको नाममा दलितलाई अझै हेप्ने कोसिस गरिरहेको छ । अन्य समुदायका मानिसहरूको नजरमा दलित कम क्षमतावान हुन भन्ने कानुनी रूपमा उल्लेख गरिदिएको छ । दलित हुन या ब्राहमण–क्षेत्री सबैलाई गुणस्तरिय शिक्षामा समान अवसर दिइयोस् । काठमाडौं र जुम्लाको जुनसुकै विद्यालयमा पढ्ने विद्यार्थीले एउटै शिक्षा प्राप्त गर्न सकुन् । धनिको छोरो होस् या गरिबको छोरो सबैले आफूले चाहेको विषयमा गुणस्तरिय शिक्षा प्राप्त गर्नमा केही कुराले पनि रोक्ने वातावरण नबनोस् अनि चाँहिदैन कसैलाई समावेशिता । अनि हँुदैन फरक दलित र ब्राह्मण, अनि हुँदैन फरक महिला र पुरुष ।

समाजबाट छुवाछुत जस्तो जघन्य अपराध हटाउनको लागि दलित समुदायमा एकताको आवश्यकता रहेको देखिन्छ । समाजमा तल्लो भनिएकै समुदायबीचमा पनि छुवाछुतको झनै ठूलो खाडल देखिन्छ । त्यसको अन्त्य जरुरी छ । जबसम्म एक जातले अर्को जातलाई सम्मान गर्न सक्दैन तबसम्म माथिलो भनिएका जातले कदापी समान व्यवहार गर्न सक्दैनन् । भनिन्छ नि अधिकार मागेर होइन अधिकार खोसेर लिनुपर्दछ । त्यसैले समाजमा जुन वर्गले तल्लो जात भनेर हेपिरहेको छन् त्यै वर्गका विरुद्धमा एकजुट भएर लड्न जरुरी हुन्छ । मानिसहरूको केवल दुईवटा जात हुन्छन् । एक महिला अनि अर्को पुरुष यी बाहेक कुनै पनि जात होइनन् भनेर यो समाजका प्रत्येक व्यक्तिलाई चेतनशिल बनाउनु पर्छ ।

राज्यद्वारा बनाइएका कतिपय नीति नियम पनि विभेदकारी रहेका छन् । दलितको नाममा दिएका आरक्षण व्यवस्था जातिय रूपमा होइन वर्गिय रूपमा दिने व्यवस्था गरिनु पर्छ । दलित जतिसुकै धनी भएपनि आरक्षणको व्यवस्था हुनुपर्ने तर एउटा गरिब ब्राह्मणको छोराले चाही आरक्षणको ‘आ’ पनि देख्न नहुने हुनु हुँदैन यसैको कारणले समाजमा ब्राह्मण, क्षेत्री र दलित समुदायबीच बैमनस्यता उत्पन्न भएको देखिन्छ । भोलि यही कारण नै जातीय द्वन्द्व उत्पन्न हुने कारण पनि हुन सक्छ । यसको बारेमा समेत बेलैमा सचेत हुनुपर्ने देखिन्छ ।

अन्त्यमा, अहिलेको समाजमा देखिएका जातपातहरू मल्लराजा जयस्थिति मल्लले आफ्नो शाषनकालमा उनीहरूको सीप र क्षमताको आधारमा वर्गीकरण गरेका थिए । अहिले सीप र क्षमता हुनेले अन्य जात र समुदायको जस्तै समान अवसर प्राप्त गर्ने वातावरण हुनुपर्छ । जबसम्म देशमा सबै नागरिकहरूमा यस्तो चेतना हुँदैन तबसम्म राज्यका कुनै पनि नीति र कानुनले यस्ता कु–संस्कारहरूको अन्त्य गर्न हुन सक्दैन ।

प्रकाशित मितिः   २० भाद्र २०७७, शनिबार ०७:००