निरीह सरकार

कृषकहरू यतिबेला मलको खोजीमा छन् । तर बजारमा अभाव छ । चाहिएकै बेला नपाएपछि विशेष गरेर धान खेती गरिरहेका किसान मर्कामा परेका छन् । धानखेतीलाई यूरिया मल चाहिन्छ । अहिलेको गोलमेल गर्ने समयमै मल छैन । कृषि सामग्री कम्पनीले समयमा झिकाउन नसक्दा किसान समस्यामा परेका हुन् । नेपाल मलमा पूर्णतः परनिर्भर छ । भारतबाट सरकारले आयात गर्छ । चाहिएको बेला नल्याइदिने परम्परा यसपालि पनि दोहोरिएको छ ।

बारीमा लगाइएको खेती गोडमेल गर्ने समय हो, यो । उपयुक्त गोडमेल र स्याहारले नै उत्पादन बढाउँछ । उचित संरक्षण पाएन भने लगानी अनुसारको प्रतिफल लिन सकिँदैन । त्यसैले कृषकहरू लगाइएको बालीको स्याहारमा विशेष जोड दिन्छन् । यतिबेला उनीहरू यही कार्यमा तल्लिन छन् । तर मलको अभावले कृषकलाई पिरोलेको छ । समयमै वर्षात् भएका कारण यो वर्ष कृषकले उपयुक्त समयमै धान रोप्न पाए । तर हुर्काउन सघाउने वस्तु मल पाइरहेका छैनन् । गोडमेल गर्दा मल हाल्यो भने धानले राम्रोसँग गाँज हाल्छ । त्यही अनुसार बाला लाग्न पाउँछ । राम्रो बाला लाग्नु भनेको उत्पादन राम्रो हुनु हो । मलले यसकै लागि सघाउँछ । त्यसैले कृषकहरूले विशेष गरेर गोडमेल गर्दा यूरिया मलको प्रयोग गर्ने गर्दछन् । धान हुर्कने, बढ्ने र फल्ने बेलामा मलको आवश्यकता पर्ने हुँदा यो अपरिहार्य छ ।

मुलुकभर नै यतिबेला मलको चरम अभाव छ । चार–पाँच महिनायता रासायनिक मल (यूरिया) आयात नभएपछि किसानहरू मर्कामा परेका छन् । बजारमा मलको हाहाकार भएपछि उनीहरू चिन्तित भएका हुन् । मल नपाएपछि खाली धान गोडमेल गर्ने काम मात्रै गरेको किसानहरूले बताएका छन् । मलको अभावका कारण यो वर्ष धान उत्पादनमा कमी आउने उनीहरूको चिन्ता छ । रासायनिक मल नपाउँदा यस वर्ष किसानले थप सास्ती खेप्नु परेको हो । धानले मलमार्फत आफूलाई आवश्यक रसायन मात्रै लिँदैन अन्य रोगसँग लड्ने क्षमता पनि ग्रहण गर्दछ । तर समयमै धानमा मल हाल्न नपाउँदा रोग लाग्ने गर्दछ । जुन यहाँका कृषकका खेतमा देखिन थालिसकेको छ । जसले गर्दा यो वर्ष धान उत्पादन घट्ने चिन्ताले कृषकलाई पिरोलेको छ ।

विगतका वर्षहरूमा अहिलेजस्तो मल अभाव हुँदैनथ्यो । यस पटक भने कोरोना महामारीको कारण पनि समयमै मल आपूर्ति हुन सकेको छैन । मल नपाएर कृषक छटपटाइरहँदा सरकारले भने यसतर्फ ध्यान दिएको छैन । कर्णालीमा गत चैतदेखि नै यूरिया मल भित्रिन सकेको छैन । कृषकका समस्या समाधान गर्न अहिले संघीय सरकारकै मुख ताकेर बस्नुपर्ने अवस्था छैन । प्रदेश र स्थानीय सरकार छन् । तिनले पनि आवश्यक कदम चाल्न सक्दछन् । कृषि उत्पादन बढाउने नारा सरकारको प्राथमिकतामा परे पनि कृषकलाई आवश्यक मल आपूर्ति गर्न नसक्नु विडम्बना हो । जतिसक्दो छिटो मल आपूर्ति गर्नेतर्फ सरकार गम्भीर हुन जरुरी छ ।

प्रकाशित मितिः   १८ भाद्र २०७७, बिहीबार ०८:०१