जेहेन्दार विद्यार्थीलाई निःशुल्क पढ्ने अवसर

सुर्खेत : जेहेन्दार तथा मिहिनेती विद्यार्थीहरुले निःशुल्क पढ्न पाउने भएका छन् । एसईई उत्तीर्ण गरी कक्षा ११ अध्ययनको तयारीमा रहेका विद्यार्थीहरुलाई निःशुल्क पढ्ने अवसरसहितको छात्रवृत्ति योजना आएको छ । बी–वान ग्रुप अफ कम्पनीले यस्तो योजना ल्याएको हो ।

छात्रवृत्ति योजना अन्तर्गत उत्कृष्ट दश जना विद्यार्थी छनौट गरिने कम्पनीका अध्यक्ष त्रिभुवन ढकालले जानकारी दिए । छनौटका भएका दशजनामध्ये सर्वोत्कृष्ट एक जनाले मुलुकको जुनसुकै कलेजमा पनि पूर्ण छात्रवृत्तिमा पढ्ने अवसर पाउनेछ । बाँकी नौ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरिने उनले बताए ।

कोभिड–१९ का कारण मुलुकभर पठनपाठन ठप्प रहेको अवस्थामा कम्पनीले छात्रवृत्ति छनोट योजना–२०७७ ल्याएको हो । संकटको बेला सामाजिक उत्तरदायित्व बहन गर्दै जेहेन्दार तथा मिहिनेती विद्यार्थीहरुका लागि छात्रवृत्ति प्रदान गर्न लागिएको अध्यक्ष ढकालले बताए ।

अहिले एसईई उत्तीर्ण विद्यार्थीले मात्रै यो योजनामा सहभागि हुन पाउनेछन् । यसका लागि अनलाईनमार्फत फाराम भर्नुपर्ने हुन्छ । फाराम शुल्क भने लाग्दैन । यसरी संकलित फारामका आधारमा उत्कृष्ट विद्यार्थी छनोट गरी १० जनालाई मुलुकभरका जुनसुकै कलेजमा जुनसुकै विषय पढ्न पाउने गरी आंशिक र पूर्ण छात्रवृत्तिको व्यवस्था मिलाइने ढकालले जानकारी दिए ।

उनका अनुसार आगामी असोजमा हुने प्रवेश परीक्षाको आधारमा पहिलो हुने विद्यार्थीलाई मुलुकभर जुनसुकै कलेजमा जुन विषय अध्ययन गर्ने भए पनि पूर्ण रुपमा छात्रवृत्तिको व्यवस्था मिलाइने छ भने बाँकी नौ जनालाई आंशिक छात्रवृत्ति उपलब्ध गराइनेछ ।

आर्थिक अवस्था कमजोर भएका अभिभावक तथा तिनका जेहेनदार बालबालिकाका लागि यो योजना प्रभावकारी हुने विश्वास कम्पनीको छ । छात्रवृत्ति योजनामा सहभागि हुन असोज ७ गतेसम्म फाराम भर्नुपर्ने जनाइएको छ ।

यसैबीच सोही ग्रुप अन्तर्गतको ‘बी–वान कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी’ ले अनलाइनबाट नयाँ भर्ना कार्यक्रम एवम् सम्पूर्ण शैक्षिक क्रियाकलाप सञ्चालनमा ल्याएको कलेज प्रशासनले जनाएको छ । यसै वर्षबाट उक्त कलेजले डिप्लोमा इन होटेल म्यानेजमेन्ट, डिप्लोमा फर प्रोफेशनल कुकरी, डिप्लोमा इन रिटेल म्यानेजमेन्ट र डिप्लोमा इन फेसन डिजाइनिङका कोर्षहरु पनि सुरु गर्दैछ ।

प्रकाशित मितिः   १८ भाद्र २०७७, बिहीबार १८:५५