‘प्रदेश र संघले लगानी नगरी वीरेन्द्रनगर बन्दैन’

उप–प्रमुख एवम् कार्यवाहक प्रमुख:- मोहनमाया ढकाल

स्थानीय सरकार गठन भएको तीन वर्ष बितिसकेको छ । तर यो अवधिमा नागरिकको अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै आलोचना हुने गरेको छ । प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिका पनि यस्तो आलोचनाबाट मुक्त छैन । देखिने गरी विकास–निर्माणका काम भएका छैनन् । पछिल्लो समय कोरोना भाइरसको महामारीले धेरै काम प्रभावित भए । जसका कारण पनि गर्नैपर्ने काम गर्न नसकिएको जिकिर जनप्रतिनिधिहरूको छ । वीरेन्द्रनगरले हालसम्म गरेका काम, उपलब्धि, नागरिकका अपेक्षा, नगरका आगामी योजना र कोरोना संक्रण रोकथाम तथा नियन्त्रणका लागि भइरहेका कामका बारेमा हाम्रा सहकर्मी सीता वलीले वीरेन्द्रनगरका उप–प्रमुख एवम् कार्यवाहक प्रमुख मोहनमाया ढकालसँग गरेको कुराकानी:

  • नगरपालिकाको उप–प्रमुख आफैमा थुप्रै जिम्मेवारी भएको पद हो । त्यसमाथि लामो समयदेखि कार्यवाहक प्रमुखको जिम्मेवारी पनि तपाईंकै काँधमा छ । दुईवटै जिम्मेवारी वहन गर्दाका सजिला–अप्ठ्यारा के रहेछन् ?

उप–प्रमुखकै रूपमा मेरा थुप्रै जिम्मेवारी थिए । पछिल्लो ६ महिनादेखि कार्यवाहक प्रमुखको जिम्मेवारी पनि सम्हालीरहेकी छु । त्यसमाथि यो जिम्मेवारी मैले यस्तो समयमा पाएँ, जतिबेला कोरोना भाइरस (कोभिड–१९) को महामारीले विश्वलाई नै त्रसित बनाइरहेको थियो । नेपालमा पनि यसको असर देखिन थालेको थियो । यसकारण पनि दुवै जिम्मेवारी एकै पटक बहन गर्नु चुनौतिपूर्ण थियो नै । महामारीकाबीच मैले नगरको कार्यवाहक प्रमुख र उप–प्रमुख दुवै जिम्मेवारी लिनुपर्ने भयो । नगरपालिकाले गर्नुपर्ने नियमित काम त थियो नै, त्यसमाथि कोरोना भाइरसको महामारीसँग जुध्नुपर्ने चुनौति थपियो । वीरेन्द्रनगर अरुजस्तै एउटा नगरपालिका मात्र नभएर प्रदेशको राजधानी पनि हो । प्रदेशको केन्द्र हो । अन्य जिल्लाहरूसँगको सम्बन्ध जोडिएको छ । त्यसकारण पनि नगर र नगरबासीलाई कोरोना महामारीबाट जोगाउनुपर्ने त थियो नै यहाँबाट अन्यत्र समेत संक्रमण फैलिन नदिन थप मेहेनत गर्नुपर्ने दायित्व थियो ।

कोरोना त्रासकै कारण लामो समय लकडाउन समेत भयो । यो अवधिमा कमजोर आर्थिक अवस्था भएका र दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने नागरिक मर्कामा परे । उनीहरूलाई राहत दिनेदेखि आँगनमै सरकार छ भन्ने अनुभूति दिलाउन सक्दो मेहेनत गर्नुप¥यो । रोजगारीका लागि भारतसहित अन्य मुलुक गएकाहरू रोजगारी गुमाएर फर्किएका थिए । यसरी फर्किनेहरूको स्वास्थ्य सुरक्षाका लागि क्वारेन्टाइनको व्यवस्थापन, पीसीआर परीक्षण, आइसोलेसनको व्यवस्था लगायतका कामको चाप बढ्यो । यहीबीचमा नगरसभा, आर्थिक वर्षको समापन, योजना फरफारक, नयाँ नीति कार्यक्रम तथा बजेट ल्याउनुपर्ने लगायतका कामले पनि चुनौति बढाएको थियो । तर यति धेरै चुनौतिका बाबजुद मैले दुवै जिम्मेवारीलाई कुशलतापूर्वक सम्हालेँजस्तो लाग्छ । कर्मचारी, जनप्रतिनिधि लगायत सबै क्षेत्रबाट सहयोग पाएकाले पनि चुनौतिलाई अवसरका रूपमा लिएर काम गरेँ ।

  • तीन वर्ष बिताइसक्दासम्म तपार्इंहरूले नगरको विकासका प्रशस्त सम्भावना रहेको मात्रै आंैल्याउनु भयो । तर, सोही अनुसार काम गर्न सक्नुभएन भन्ने नगरबासीको गुनासो छ नि ?

नागरिकलाई घर–आँगनको स्थानीय सरकारप्रति ठूलो भरोसा र आशा छ । सोही अनुरूप नभएको खण्डमा काम नगरेको जस्तो लाग्नु स्वाभाविक पनि हो । तर वीरेन्द्रनगर नगरपालिकाले अघिल्लो वर्षमा ८६ प्रतिशत भौतिक प्रगति गरेको छ । बजेट फ्रिज भएको छैन । सांसद विकास कोषबाट आएको रकम समेत फ्रिज नगरी काम भएको छ । नगरको स्रोत र साधनले भ्याएसम्म नगरका १६ वटै वडामा समान ढङ्गले विकासका क्रियाकलाप अगाडि बढाउने नगरसभाले नीतिगत निर्णयसमेत गरेको छ । हामीले सक्दो गरेका छौं । गर्नुपर्ने केही काम भइरहेका छन् र आगामी दिनमा पनि हुनेछन् ।

यो कर्णाली प्रदेशको राजधानी समेत हो । यहाँको विकासमा प्रदेश सरकारले पनि ध्यान दिन जरुरी छ । किनभने राजधानी यहाँका मात्रै नभएर प्रदेशभरकै नागरिक जोडिएका हुन्छन् । यसकारण पनि प्रदेश सरकारले राजधानी केन्द्रित पूर्वाधार विकासका कार्यक्रम यहाँ ल्याउनुपर्ने हुन्छ । नगरको मात्रै लगानीले विकास सम्भव छैन । प्रदेश र संघीय सरकारको ध्यान हाम्रो नगरमा जान जरुरी छ ।

  • नगरबासीको अपेक्षा र नगरको आवश्यकता अनुसार काम गर्न नसकेको स्वीकार्नु हुन्छ ?

यहाँको विकासका लागि नगरको एक्लो प्रयासले मात्रै सम्भव छैन । यसको लागि मेघा प्रोजेक्ट, ठूला प्रशासनिक संयन्त्रको आवश्यकता पर्छ । पर्याप्त विकास निर्माणका काम गर्नको लागि स्थानीय तहसँग स्रोत र साधन छैन । आफूसँग भएको स्रोत र साधनलाई व्यवस्थापन गर्न नसकेको भए नागरिकको गुनासो र आरोप पनि स्वाभाविक हुन्थ्यो तर हामीसँग पर्याप्त स्रोतसाधन नभएकोले समस्या भएको छ । हामीसँग भएको स्रोत र साधनलाई अधिकतम प्रयोग गरेका छौं । सकेसम्म नागरिकलाई हाम्रो नजिकको सरकार छ र हामीले विकासको अनुभूति गरेका छौं भन्ने खालको अनुभूति दिलाउने प्रयास गरेका छौं । वीरेन्द्रनगरको समग्र विकासका लागि तीन वटै तहका सरकारले लगानी गर्न जरुरी छ ।

  • अघिल्लो वर्षको तथ्यांक हेर्दा नगरको कुल बजेटको करिब ८ प्रतिशत मात्रै आन्तरिक स्रोत छ । अनुदानमै भर पर्ने कि आन्तरिक स्रोत समेत बढाउने ?

आन्तरिक स्रोत बढाउनको लागि करको दायरा बढाउनुपर्छ जसको सुरुवात गरिसकेका थियौं । नागरिकलाई थप सेवा प्रदान गर्ने र विकास निर्माणका काम गरी करको दायरा समेत बढाउने योजना कोरोना भाइरसको कारण असफल भएको छ । संघीयताको मर्म नै आफै कमाउ र आफै विकास गर भन्ने हो । त्यसैले आन्तरिक राजस्व बढाउने कुरामा हामीले सोचेका छौं । अर्को कुरा वीरेन्द्रनगरमा ठूलो उद्योगधन्दा र कलकारखाना छैनन् । साना व्यापारी र एकीकृत सम्पत्ति तथा नक्सापासबाटै राजस्व संकलन भएको छ । राजस्वको लागि पर्यटकीय क्षेत्रको विस्तार जरुरी छ । त्यसको लागि फेरि पनि हामीहरूले मात्रै केही गर्न सक्दैनौं । प्रदेश सरकार र संघीय सरकारलाई पटक–पटक भन्दै आएका पनि छौं र स्रोतले भ्याएसम्म नगरले पनि काम गरेकै छ ।

  • नगरको बजेटको आकार ठूलो हुने तर पूँजीगत भन्दा चालु खर्च बढी देखिन्छ नि ?

झट्ट हेर्दा त्यस्तो लाग्छ । तर नितान्त रूपमा नगरको बजेट बाहेक संघबाट आउने अनुदान जस्तै कृषि, पशु, स्वास्थ्य, सामाजिक सुरक्षा भत्ता लगायत सबै बजेटलाई हामीहरूले चालु खर्चमा नै राखेका छौं । यो पटकदेखि हामीहरूले खर्चलाई सूत्रमा राखेका छौं । सफ्टवेयरमा हेर्न मिल्नेगरी खर्चलाई राखेपछि पारदर्शिता हुन्छ ।

  • अब कार्यकाल पनि घर्किंदै छ । कार्यकाल सकिँदासम्म वीरेन्द्रनगरको यो संरचना बनायौं वा यस्ता विकासका काम ग¥यांै भन्ने कुनै संरचना वा काम देखाउन सक्नुहुन्छ ?

सबैभन्दा पहिले त स्थानीय तहको सबै संरचना निर्माण भएको छ । त्यसैगरी काम गर्नको लागि आवश्यक पर्ने ऐन, नियम, नीतिहरू निर्माण गरिएको छ । अब कसैले पनि काम गर्नको लागि कानुन भएन भन्ने खालको परिस्थिति आउने छैन । त्यसको अलावा सबै वडाहरूमा वडा स्वास्थ्यचौकी सञ्चालन भएको छ । नगरको गुरुयोजना निर्माण भइ कार्यान्वयनको प्रक्रियामा छ । चक्रपथलाई ३० मिटर फराकिलो बनाउने काम अगाडि बढ्दै छ । सामाजिक क्षेत्रमा समेत थुप्रै कामहरू गरेका छौं । हिंसापीडित महिलाहरूका लागि सेफ हाउस भवन निर्माण भएको छ । करिब ३० लाख लगानीमा सीप विकास भवन निर्माण भएको छ । नगरले एम्बुलेन्स खरिद गरी कार्यविधि निर्माण गरी सञ्चालनको तयारीमा छ । नगरको फोहोरलाई प्रशोधित गरी बायोग्यास निर्माणको प्रक्रियामा छौं । नगरका सबै सडकहरू निर्माण भइ कालोपत्रे गर्ने योजनासहित टेण्डर भइसकेका छन् । यही वर्ष सकिने काम हुन तर कोरोना भाइरसको कारण काम रोखिएको हो । सबै सडकका नाला खन्ने काम अहिले पनि सञ्चालन भइरहेको छ । यस्ता थुप्रै काम भएका छन् जसले भोलि निर्वाचित भएर आउनेहरूलाई पनि बाटो बनाइदिएको छ । हाम्रो पालामा हामीले काम गर्नको लागि नयाँ बाटोको ट्रयाक खनिदिएका छौं । अब निर्वाचित भएर आउनेहरूलाई हिँड्न सजिलो हुनेछ ।

  • नगरभित्रका सडकको अवस्था देख्नुभएको छ ?

हामी निर्वाचित भएर आउँदादेखि नै वीरेन्द्रनगरका सकडहरू जीर्ण अवस्थामा थिए । पहिलो वर्ष हामीहरूलाई संरचना निर्माण र ऐन नियम कानुन निर्माण गर्न लाग्यो । अहिले वीरेन्द्रनगरको घण्टाघरदेखि कालुङ्गचोक, मन्त्रालय वरीपरीका सडक, मंगलगढीचोकदेखि काँक्रेविहार, हटियालाइनदेखि क्याम्पसरोड, नगरपालिका अगाडिको सडक लगायत सबै सडकहरूको टेण्डर भइ नालाको काम भइरहेको छ । अघिल्लो वर्ष सकिने काम भए पनि कोरोनाका कारणले रोकिएको हो ।

कोरोना महामारी नियन्त्रणमा आयो भने रोकिएका कामहरू पुनः सञ्चालन हुनेछन् । हाम्रै पालामा वीरेन्द्रनगरका सडक कालोपत्रे हुन्छन् । रत्न राजमार्गको धुलियाविटदेखि बाङ्गेसिमलसम्म विभिन्न स्थानमा पुल निर्माणकै क्रममा छन् । यसरी निर्माणको काम सञ्चालन भइरहेको समयमा नागरिकलाई केही सास्ती त भएकै छ । नागरिक आक्रोशित हुनु स्वाभाविक पनि हो तर सञ्चालनमा रहेको कामहरू पूरा भएको खण्डमा ठूलो परिवर्तन नागरिकले देख्न पाउनुहुनेछ ।

  • नगरका पर्यटकीय क्षेत्र, फूटपाथ तथा फोहोर व्यवस्थापनमा के–के काम गर्नुभयो ?

नगरका पर्यटकीय क्षेत्रको पहिचान गरेका छौं । तर स्रोत र साधनको अभावमा कामहरू अगाडि बढ्न सकेको छैन । फोहोर व्यवस्थापनको सन्दर्भमा भने ल्याण्डफिल साइडको काम सम्पन्न भइ फोहोर व्यवस्थापन गर्न सकेका छौं । छाडा पशु व्यवस्थापनको काम समेत अगाडि बढाएका छौं । ढल निकाससहितको बृहत प्रोजेक्ट अन्तर्गत ३९ करोडको डीपीआर तयार भएको छ ।

  • एउटा सीटी बसपार्कसम्म सञ्चालन गर्न नसक्ने तपाईंहरूले प्रविधिमैत्री र ग्रिनसीटी बनाउने योजना किन ल्याउनु भएको हो ?

हामी निर्वाचित हुनुभन्दा पहिले नै सीटी बसपार्क नगर विकास कोषको लगानीमा निर्माण कार्य सुरु भइसकेको थियो । थुप्रै पटक ठेकेदारले हामीहरूलाई धोका दियो । ठेक्का तोड्दा झन् थप खर्च हुने देखेर म्याद थप गर्दै त्यही ठेकेदारलाई काम गराउन बाध्य भयौं । अहिले सीटी बसपार्क निर्माण भइ सञ्चालनको लागि कार्यविधि समेत तयार भएको छ । यो कोरोना भाइरसको कारणले सञ्चालनमा केही ढिला भएको हो । बस व्यवसायीहरूको काउण्टरलाई कसरी व्यवस्थित बनाउने भन्ने विषयको टुङ्गो लागिसकेको छ । ठेक्कामा लिनेले समेत धरौटी बुझाइसकेकोे अवस्था छ । अब लामो दूरीका यातायातका साधनहरू सञ्चालन हुने वित्तिकै बसपार्क समेत सञ्चालनमा आउँछ ।

वीरेन्द्रनगर कोरोना संक्रमणको उच्च जोखिममा छ । समुदायस्तरमा संक्रमण व्यापक भइसकेको अवस्थामा रोकथाम तथा नियन्त्रणका लागि के गर्दै हुनुहुन्छ ?

पहिलो कुरा त कोरोना भाइरस नियन्त्रणका लागि स्थानीय सरकार, प्रदेश सरकार र प्रशासन तथा प्रहरी एक्लैले सम्भव छैन । त्यसमा नागरिकको ठूलो भूमिका रहन्छ । बाहिरबाट आउने नागरिकको व्यवस्थापन, स्वास्थ्य जाँच र उपचार तथा अटेरी गर्नेलाई कारबाहीको जिम्मेवारी सरकारको भए पनि नागरिक आफै सचेत नभएको खण्डमा नियन्त्रणमा सहजता हुँदैन । अब हरेक नागरिकले म र मेरो परिवारलाई कसरी कोरोना भाइरसबाट जोगाउने र स्वास्थ्य सुरक्षा विधि कसरी अपनाउने भन्ने विषयमा सोच्नु जरुरी छ । म सम्पूर्ण नगरबासीलाई अनुरोध गर्न चाहन्छु कि अत्यावश्यक बाहेक घरबाहिर ननिस्कनुहोस् र सकेसम्म वल्लो घरबाट पल्लो घरमा समेत नजानुहोस् । समूहमा नबस्ने, भिडभाड नगर्ने र स्वास्थ्य सुरक्षा सामग्री प्रयोग गर्ने हो भने कोरोना आफै नियन्त्रण हुन्छ । कोरोनाबाट अत्यन्तै सचेत हुने र कत्ति पनि नडराउने हो भने केही पनि हुँदैन ।

हामीले नगरका सबै वडाहरूमा कोरोना संक्रमण व्यवस्थापन समिति गठनको तयारी गरेका छौं । हरेक टोल विकास संस्थालाई टोलको सुरक्षाको जिम्मेवारी दिने तयारी समेत गरेका छौं । टोलमा कोही नयाँ मान्छे प्रवेश गरेको, भिडभाड गरेको र क्वारेन्टाइन तथा आइसोलेसनमा बसेको व्यक्तिको समेत निगरानीको जिम्मा टोल विकास संस्थाले जिम्मा लियो भने रोग नियन्त्रणमा सहज हुन्छ । ‘म गर्छु मेरो टोलको सुरक्षा’ भन्ने नाराका साथ वीरेन्द्रनगरका टोल–टोलका युवाहरूलाई कोरोना नियन्त्रणमा सहयोग गरी कोरोनामुक्त नगर बनाउन अनुरोधसमेत गर्न चाहन्छु ।