साटाखानीबासीको आन्दोलन फिर्ता

news-imgसुर्खेत, २७ कात्तिक ।
स्थानीय तह पुनर्संरचनामा वीरेन्द्रनगर नगरपालिकाबाट छुट्याइएको भन्दै आन्दोलनमा उत्रिएका सटाखानीवासीले आन्दोलन फिर्ता लिएका छन् । शनिवार साटाखानीमा भएको सर्वदलीय बैठकले साटाखानी गाविसलाई दुई वटा वडामा विभाजन गरेर वीरेन्द्रनगरमा गाभ्नका लागि प्रस्ताव पठाउने सहमति गरेर आन्दोलन फिर्ता लिइएको हो ।
वीरेन्द्रनगर नगरपालिकामा जाँदा दुई वटा वडासहित हुनुपर्ने भन्दै सर्वदलीय बैठकले दुई वटा वडा नभएमा प्रस्तावित लेकवेशी गाउँपालिकामा रहने निर्णय गरेको छ । केन्द्र तोक्दा सबैलाई पायक पर्ने स्थानमा हुनुपर्ने माग समेत राखिएको छ । वीरेन्द्रनगरपालिका गाभ्नुपर्ने माग गर्दै केही दिनदेखि साटाखानीवासीले वीरेन्द्रनगरमा आएर प्रदर्शन गर्दै आएका थिए ।
स्थानीयवासीले विरोधमा प्रदर्शन गरेपछि स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले गाविसस्तरमा छलफल गर्न गाविस सचिवलाई निर्देशन दिएको थियो । सर्वदलीय बैठकको निर्णय जिल्ला प्राविधिक सहयोग समितिमा पठाइने छ । उक्त निर्णय हेरेर केन्द्रमा सिफारिस गरिने समितिका संयोजक एवम् सुर्खेतका स्थानीय विकास अधिकारी अमृत लम्सालले जानकारी दिए ।
स्थानीय कमल आचार्यको सभापतित्व एवम् साटाखानी गाउँ विकास समितिका सचिव डिलाराम चपाईंको प्रमुख आतिथ्यतामा सर्वदलीय बैठक सम्पन्न भएको हो । सर्वदलीय बैठकमा नेपाली कांग्रेसका टोपबहादुर टंलामी, नेकपा एमालेका टीकाराम सोमै, नेकपा माओवादी केन्द्रका चन्द्रलाल पौडेल र राप्रपा नेपालका
श्याम कँडेलको सहभागिता रहेको थियो । साटाखानीस्थित सामाजिक संघ–संस्था तथा बुद्धिजीविहरूको सहभागिता रहेको भेलाले लेकवेशी गाउँपालिकाको केन्द्र आफूहरूलाई पायक पर्ने स्थानमा राखेमा वीरेन्द्रनगरमा नगाभे पनि सहमत हुने भएका छन् ।

प्रकाशित मितिः   २८ कार्तिक २०७३, आईतवार ०७:५४