तीन दशकसम्म पनि अधुरै

123456सुर्खेत, २८ कात्तिक ।
साटाखानी–४ बडीपाटीका रणबहादुर खड्काको घर धुलियाविट–भेडावारी सडकको छेउमै छ । आजभन्दा तीन दशकअघि आफ्नै घरआँगनबाट सडक बन्दा उनको खुशीको सीमा नै थिएन । सडक निर्माणको अभिन्यताहरूमध्ये एक उनी पनि थिए । तर, त्यतिबेलाको उनको खुशी आज निराशामा परिणत हुन पुगेको छ । किनभने ३१ वर्ष बितिसक्दा पनि सडकको स्तरोन्नति हुन सकेन ।
जिल्लाका पूर्वी तथा उत्तरी भेगका गाविसलाई सदरमुकाम वीरेन्द्रनगर जोड्ने प्रमुख सडक मानिएको धुलियाविट–भेडावारी सडक वर्षौंदेखि स्तरोन्नतिको पखाईमा छ । उसैगरी कालोपत्रे गरिएको सडकमा सहज यात्रा गर्न पाउने दिनको पखाईमा छन् पूर्वी सुर्खेतका नागरिकहरू । तर रणबहादुर भन्छन्, ‘यत्तिका वर्ष बितिसक्यो अहिलेसम्म जस्ताको त्यस्तै छ, खै कहिले सुधार होला र यो सडक ?’ सडक निर्माण सुरु भएको तीन दशक बिति सक्दा पनि सडकको स्तरोन्नति नहुँदा स्थानीयले सास्ती व्यहोर्नु परेको छ । ‘जनतालाई सुविधा दिन बनाइएको सडकले झन् सास्ती दिएको छ’ रणबहादुर दुखेसो पोख्छन् ।
सडक धुलाम्मे छ । अनगिन्ती खाल्डाखुल्टी छन् । कतिपय स्थानमा सडक निकै साँघुरो छ । सवारी साधन सञ्चालन हुँदा उड्ने धुलोले सडक आसपासका घरभरी धुलो भरिन्छ । ‘चिसो सुरु भयो, आँगनमा बसेर घाम तापौं भने पनि धुलोले बसी खान दिदैंन’ ८४ वर्षीय रणबहादुर गुनासो गर्दछन् । सडकको केही भाग ग्राभेल गरिएको छ तर ग्राभेल गरिएको हो भने पत्याउन मुस्किल छ । किनभने सडकमा गिट्टी भन्दा बढी धुलो छ ।
सडक स्तरोन्नतिका लागि हरेक वर्ष बजेट विनियोजन हुने गरेको छ । तर हरेक वर्ष नै न्यून बजेट विनियोजन हुँदा मर्मतको काम अधुरै रहने गरेको हो । सडक डिभिजन कार्यालयको कार्यक्रममा नरहेको उक्त सडकमा ६ वर्षदेखि जिल्ला विकास समिति सुर्खेतले मर्मत गर्दै आएको छ । धुलियाविट–भेडावारी सडकलाई सडक कार्यालयले जिल्ला विकास समितिको मातहतमा रहेको भन्दै बजेट तथा कार्यक्रम राखेको छैन भने जिल्ला विकास समितिले नियमित र मर्मतमा थोरै बजेट मात्र छुट्याउने गरेको छ । जसले गर्दा दशकौंदेखि धुलियाविट–भेडावारी सडकको अवस्था जस्ताको त्यस्तै छ ।
यो सडकले सुर्खेतको पूर्वी भेगका करिब डेढ दर्जन गाविसका बासिन्दालाई यातायात सेवा उपलब्ध गराउँछ । ३७ किलोमिटर उक्त सडक सरकारको केन्द्रीय योजनाबाट विमुख हुन पुगेको छ । रणबहादुर खड्का सरकारले नै यो सडकलाई प्राथमिकतामा नराखेको बताउँछन् । उनले जनप्रतिनिधिहरूले पनि सडक निर्माणका लागि पहल नगरेकाले निर्माण हुन नसकेको उनले बताए । यस क्षेत्रका स्थानीयवासीले तत्काल मर्मत सुधार र स्तरोन्नति गर्न माग गर्दै आएका छन् । वीरेन्द्रनगर–२२ जर्बुटाकी आशा गन्दर्भले सडक कालोपत्रे गर्ने आश्वास दिएर पनि नगरिएको बताइन् ।
जिल्ला विकास समिति सुर्खेतले भने बजेटकै कमीका कारण सडकको स्तरोन्नति हुन नसकेको जनाएको छ । स्थानीय यातायात पूर्वाधार क्षेत्रगत कार्यक्रमबाट वर्षेनी बजेट आउने गरे पनि पर्याप्त नभएको जिल्ला विकास समितिका इन्जिनियर हरि केसी बताउँछन् । वर्षमा आउने १० लाख बजेटले ३७ किलोमिटर सडक मर्मत गर्न नपुग्ने उनले बताए । अर्कोतर्फ सडकका लागि आएको बजेट सदुपयोग गर्न नसक्दा पनि पुनर्निर्माणमा ढिलाइ भएको हो । बाढीपहिरोले क्षति भएका आयोजना निर्माण योजना अन्तर्गत गत वर्ष उक्त सडकका लागि ३५ लाख बजेट छुट्याइएको भए पनि उपभोक्ता समितिले काम गर्न नसक्दा ठूलो रकम फ्रिज भएको थियो । ३७ किलोमिटर सडकको विस्तृत अध्ययन गरिसकिएको छ । डीपीआर तयार भइसकेको छ । १० किलोमिटरको स्तरोन्नतिका लागि लगत कट्टा पनि भइसकेको छ । आउँदो असार मसान्तभित्र ३७ किलोमिटर सडककै वटासिलका लागि टेण्डर हुने जिल्ला विकास समितिले जनाएको छ । सडकको मर्मत सुधारका लागि हाल १९ जना पिटौली खटाइएको छ ।
बजेटको अभाव भए पनि सडकको स्तरोन्नतिका लागि काम भइरहेको जिल्ला विकास समितिले जनाएको छ । धुलियाविटदेखि दुई किलोमिटर पूर्वमा रहेको करैखोलामा पुल निर्माणको काम भइरहेको छ । त्यसैगरी गमखोलामा पुल निर्माणका लागि टेण्डर भइ काम सुरु भइसकेको छ । सोही सडकमा पर्ने चिङ्गाड खोलामा सडक डिभिजनले नै पुलका लागि टेण्डर गरीसकेको छ तर काम अधुरै छ । यो सडक स्तरोन्नति भएमा पूर्वी सुर्खेतका नागरिकले सहज यातायात सुविधा पाउनुका साथै सुर्खेतबाट काठमाडौं जानलाई समेत हालको भन्दा ५० किलोमिटर दूरी छोटो पर्दछ । त्यसकारण पनि जति सक्दो छिटो धुलियाविट–भेडावारी सडकको स्तरोन्नति गर्न यहाँका नागरिकहरूले माग गरेका छन् ।