‘नियमित औषधि खाए क्षयरोग निको हुन्छ’
गणेशभक्त गौतम
क्षयरोग–कुष्ठरोग अधिकृत,
जिल्ला स्वास्थ्य कार्यालय सुर्खेत
|
क्षयरोग के हो ?
हाम्रो आँखाले नदेखिने सुक्ष्म जिवाणुबाट मानिसमा लाग्ने एक किसिमको सरुवा रोग हो । माइक्रोब्याक्टेरियम ट्युबरकुलोसिस भन्ने किटाणुको संक्रमणबाट यो रोग लाग्दछ । रोग लागेको मानिसको शरीरभित्र यो जिवाणु हुन्छ र त्यो मानिसले खोक्दा वा हाँच्छ्यू गर्दा बाहिर आउँछ र अन्य निरोगी मानिसमा पनि सर्दछ ।
आम मानिसहरूको धारणा के छ भने धुम्रपान वा मद्यपान गर्दा हुन्छ भन्नेछ । कतिपयले पूर्वजन्मको पापका कारण लाग्ने रोग समेत भन्ने गरेका छन् । तर यी दुवै गलत कुरा हुन् । वैज्ञानिक आधारमा भन्ने हो भने क्षयरोग लाग्ने एक मात्र कारण के हो भने रोगग्रस्त मानिसभित्र माइक्रोब्याक्टेरियम ट्युबरकुलोसिस नामक किटाणु हुन्छ र त्यो चाहिँ बिरामीले खोक्दा र थुक्दा बाहिर आउँछ र स्वस्थ मानिसले श्वास लिँदा श्वासको माध्यमबाट उसको शरीरभित्र प्रवेश गर्छ र संक्रमण हुन्छ । किटाणु शरीरभित्र गयो भने क्षयरोग भइहाल्ने पनि होइन । मानिसभित्रको रोगविरुद्ध लड्ने शक्ति बलियो छ भने यो किटाणुले संक्रमण गर्न पाउँदैन तर त्यो क्षमता कमजोर भएको मानिसमा यसले आफ्नो गतिविधि बढाउँदै जान्छ । त्यसैले यसलाई अवसरवादी किरा पनि भनिन्छ ।
यो रोग लाग्यो भने कस्ता लक्षण देखा पर्छन् ?
यसको मुख्य लक्षण भनेको दुई हप्ताभन्दा बढी समयसम्म लगातार खोकी लाग्नु हो । त्यसको साथै ज्वरो आउने, पसिना अत्याधिक आउने, खाना खान मन नलाग्ने, दुब्लाउँदै जाने, मान्छे कमजोर हुने, तौल कम हुने लक्षण देखा पर्दछन् । रोगको संक्रमण बढ्दै गएमा खकारमा रगत देखिने पनि हुन्छ । प्रायः मानिसहरूले मुखबाट थुक वा खकारमा रगत देखिएपछि मात्रै क्षयरोग हो कि भन्ने शंका गर्ने गर्दछन् । तर जब रगत आउने अवस्था भनेको उपचारमा ढिला भइसकेको अवस्था हो । किराले फोक्सोमा धेरै नै असर पु¥याइसकेको हुन्छ । तसर्थ रगत आउञ्जेल कुर्नु हुँदैन । अन्य लक्षणहरू देखा परेभने तुरुन्तै स्वास्थ्य संस्थामा गएर परामर्श लिने र आशंका लागेमा जाँच गरिहाल्नु पर्दछ । यसरी रगत आउने अवस्थासम्म कुरेर बस्ने हो भने निको हुन पनि गाह्रो हुन सक्छ । सुरुकै अवस्था अर्थात् खोकी लाग्ने बित्तिकै जँचाउन जरुरी हुन्छ ।
सुर्खेतमा क्षयरोगको अवस्था कस्तो छ ?
सुर्खेत जिल्लाको अवस्थाको कुरा गर्ने हो भने क्षेत्रीय सदरमुकाम समेत भएकाले यहाँका मात्र नभएर बाहिरका अन्य जिल्लाहरूबाट समेत बिरामीहरू यहाँ आउने हुनाले बिरामीहरूको संख्या धेरै नै छ । चालु आर्थिक वर्षको साउनदेखि अहिलेसम्मको अवस्था हेर्ने हो भने तीन सय ९७ जना बिरामीहरू हामीसँग दर्ता हुन आएका छन् । जसमा एक सय ७ जनाको फोक्सोमा संक्रमण भइ खकारमा नै किरा देखिएको छ भने एक सय ५६ जनाको फोक्सोबाहेक अन्य अङ्गमा संक्रमण भएको देखिन्छ । किरा नदेखिएको तर फोक्सोमा संक्रमण भएका ९६ जना बिरामी छन् । यो बाहेक दोहोरिएर आउने गरेको तथा अन्य जिल्लामा जाँच गरेर आएकाहरू पनि छन् । यो आर्थिक वर्षको अन्त्यसम्ममा यो संख्या अझ बढ्न सक्दछ ।
क्षयरोग लागिसकेपछि पूर्ण रूपमा निको हुन्छ कि हुँदैन ?
यो पूर्ण रूपमा निको हुन्छ । तर औषधि सेवनमा भने विशेष ध्यान पु¥याउन आवश्यक हुन्छ । औषधि सेवनमा सानो व्यवस्था गरियो भने यो निको हुँदैन र फेरि बल्झिन्छ । क्षयरोगको औषधि लामो समयसम्म सेवन गर्नुपर्ने हुन्छ । पहिलो पटक हो भने ६ महिनासम्म नियमित औषधि सेवन गर्नुपर्दछ । यदि दोहोरिएर आएमा ८ महिनासम्म नियमित औषधि सेवन गर्नुका साथै खोप पनि लगाउनुपर्ने हुन्छ । बिरामीले आफ्ना आनीबानीमा सुधार ल्याउनुका साथै औषधिको सेवनमा ध्यान दिएको खण्डमा क्षयरोग निको हुन्छ ।
क्षयरोगको शंका लागेमा के गर्ने ?
क्षयरोगका कुनै लक्षणहरू देखिएर क्षयरोग भएको शंका लागेमा पायक स्वास्थ्यकर्मीहरूसँग परामर्श लिने र जाँच गर्नुपर्दछ । समयमै जाँच गरेर औषधि सेवन गरिएन भने यसले जटिल अवस्थामा पु¥याउने भएकाले पनि शंका लाग्नेबित्तिकै जाँच गर्न आवश्यक हुन्छ ।
क्षयरोग लागिसकेपछि अपनाउनुपर्ने सावधानीहरू के–के हुन् ?
यो रोग लागिसकेपछि अपनाउनुपर्ने प्रमुख सावधानी भनेको औषधिको सेवन
हो । डट्स विधि भनिन्छ, बिरामीले स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि सेवन गर्ने । यसमा ध्यान पु¥याइयो भने रोग निको हुने सम्भावना बढ्छ । रोग बल्झिने र फेरि फेरि दोहोरिने सम्भावना रहँदैन । तर यसो गरिएन भने रोग बल्झिने हुन्छ । यसका साथै बानीबेहोरा र खानपानमा सजगता अपनाउनुपर्छ । धुम्रपान र मद्यपानले क्षयरोग नै गराउने त होइन तर यसले बढाउन मद्दत गर्ने हुनाले यसको सेवन गर्नु हुँदैन । बिरामीले पौष्टिक खानेकुराहरू बढी खानुपर्छ । अरुलाई सर्न नदिनका लागि जथाभावी नथुक्ने, खकार जहाँ पायो त्यही नफाल्ने, हाँच्छ्यू गर्दा मुख छोपेर गर्ने गर्नुपर्दछ ।
क्षयरोग नियन्त्रणका लागि सरकारी प्रयासहरू के भइरहेका छन् ?
सबैभन्दा ठूलो त सरकारले क्षयरोगको जाँच र औषधि नै निःशुल्क उपलब्ध गराइदिएको छ । हरेक स्वास्थ्य संस्थाहरूमा क्षयरोगका औषधि उपलब्ध गराइरहेको छ । यसका साथसाथै जनचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ ।
सुर्खेतका कुन–कुन ठाउँमा क्षयरोगको जाँच र औषधि पाइन्छ ?
औषधि त जिल्लाका सबै स्वास्थ्य संस्थाहरूमा उपलब्ध छ । परीक्षण भने ६ वटा स्थानमा हुन्छ । परीक्षणका लागि ल्याबको आवश्यकता पर्ने हुनाले जिल्लाका ६ ठाउँमा मात्रै ल्याब सञ्चालनमा छन् । सालकोट प्राथमिक स्वास्थ्य केन्द्र, मेहेलकुना अस्पताल, दशरथपुर प्राथमिक स्वास्थ्य केन्द्र, अवलचिङ्ग प्राथमिक स्वास्थ्य केन्द्र, मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँ र जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतमा क्षयरोगको परीक्षण गरिन्छ ।
क्षयरोगप्रति सर्वसाधारणहरूको बुझाइ कस्तो छ ?
सर्वसाधारणहरूको बुझाइमा धेरै परिवर्तन आएको छ अहिले । सञ्चारमाध्यमहरूको स्वास्थ्य सन्देश प्रवाह हुन थालेपछि र जनचेतनामा वृद्धि भएसँगै क्षयरोगप्रतिको गलत जुन बुझाइ थियो त्यसमा परिवर्तन आइसकेको छ । तर समस्या के छ भने बिरामीले स्वास्थ्य संस्थामा नै गएर औषधि खानुपर्छ भन्ने कुरा बुझाउन गाह्रो भइरहेको छ । क्षयरोग निको हुने विधि त्यही नै हो त्यो बाहेक अरु कुनै उपाय छैन भनेर बुझाउन अझै जरुरी छ । यही कुरा सबैले नबुझ्दा क्षयरोग दोहोरिएर आउने समस्या पनि देखिएको छ ।
यसको नियन्त्रणका लागि कसले के गर्नुपर्ला ?
यसका लागि त सबैभन्दा पहिला सबै नागरिकमा क्षयरोगको बारेमा जनचेतना जगाउन जरुरी छ । क्षयरोग लागिसकेपछि अपनाउनुपर्ने सावधानी र स्वास्थ्यकर्मीकै निगरानीमा औषधि खानुपर्ने चेतना सबैमा पु¥याउन जरुरी छ । यसमा सञ्चारमाध्यमहरूको प्रमुख भूमिका रहन्छ । त्यसका साथै यसबारे जाने बुझेका सबैले यो कुरा बाँड्न सकेको खण्डमा क्षयरोगको नियन्त्रण गर्न सकिन्छ ।
अन्त्यमा, केही भन्न चाहनुहुन्छ ?
क्षयरोग रोग लागेको व्यक्तिको मात्र समस्या होइन, यो समाजको समस्या हो । क्षयरोगले धनीगरिब वा कुनै जात धर्म र उमेर छुट्याउँदैन जसलाई पनि र जहाँकहीं पनि लाग्छ सक्छ । सरुवा रोग भएकाले पनि विशेष सावधानी अपनाउन आवश्यक छ । त्यसैले क्षयरोगविरुद्ध समाजका सबैजना संगठित भएर लाग्न जरुरी छ । अहिलेको विश्व क्षयरोग दिवसको नारा नै बनेको छ, क्षयरोग अन्त्यका लागि सबै संगठित
होऔं । यो नाराले भनेजस्तै सबैजना संगठित भएर लागेमा क्षयरोगमुक्त समाज निर्माण गर्ने सरकारको परिकल्पना साकार हुन सक्दछ । त्यसैले क्षयरोग लागेमा दैनिक रूपमा स्वास्थ्य संस्थामा नै पुगेर औषधि सेवन गर्नुपर्छ भन्ने कुरा सबैमा पु¥याउन सबैले सहयोग गरौं ।
साझा बिसौनी संवाददाता ।