मृत्यु जित्नेलाई जुम्लामा अभिनन्दन


साझा बिसौनी संवाददाता
जुम्ला, १० चैत ।
कालिकोटमा भएको जहाज दुर्घटनामा बाँच्न सफल भएकाहरूलाई जुम्लामा भव्य अभिनन्दन तथा स्वागत गरिएको छ । मृत्युलाई जितेर घर पुगेका दुर्घटनाका घाइतेहरूलाई जुम्ला सदरमुकाम खलङ्गामा बुधवार स्थानीय नागरिकहरूले भव्य रूपमा अभिनन्दन गरेका छन् । 
गत फागुन १४ गते नेपालगन्जबाट जुम्लाका लागि उडेको काष्ठमण्डप एयरको जहाज कालिकोटको चिलखायामा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा घाइते भएका यात्रुहरू उपचारपछि बुधवार घर फिर्ता भएका छन् । दुर्घटनामा मृत्युलाई जितेर घर फिर्ता भएको भन्दै जुम्लावासीले उनीहरूको भव्य सम्मान गरेका हुन् । स्थानीय नागरिकहरूले बाजागाजासहित दुर्घटनामा बाँच्न सफल भएकाहरूलाई नगर परिक्रमा समेत गराएका छन् ।
जहाज दुर्घटनामा घाइते भएका जुम्ला चन्दननाथका मेघराज गिरी, जगदम्बा खत्री र उनका छोरा उपचार गरी बुधवार जुम्लामा रहेको घरमा पुगेका हुन् । स्थानीयले उनीहरूलाई विमानस्थलबाटै बाजागाजासहित स्वागत गर्दै बजार परिक्रमा गराएका छन् । तारा एयरमार्फत् जुम्ला पुगेका उनीहरूलाई विमानस्थलबाट चन्दनाथ मन्दिर हुँदै खलङ्गा बजारको परिक्रमा गराएका थिए । ठूलो दुर्घटनामा पनि आफन्तहरू भाग्यले बाँच्न सफल भएको भन्दै छिमेकीहरू स्वागतका लागि जुम्ला विमानस्थलमै पुगेका थिए । आफ्ना छिमेकीहरू दुर्घटनाबाट जोगिएर घरमा आएको खुशीयालीमा जुम्लामा स्थानीय बासिन्दाले दुर्घटनामा बाँचेकाहरूलाई अभिनन्दन गरेका हुन् । स्थानीयले दुर्घटनामा बाँच्न सफल भएकाहरूलाई अविर र माला लगाएर सम्मान गरेका थिए ।
कालिकोटमा भएको उक्त जहाज दुर्घटनामा क्याप्टेन दिनेश न्यौपाने र सहचालक सन्तोष रानाको ज्यान गएको थियो । जहाजको इन्जिनमा खराबी आएपछि आकस्मिक अवतरण गराउने क्रममा जहाज दुर्घटनामा परेको थियो । दुर्घटनामा परेर नौ जना यात्रु घाइते भएका थिए । घाइतेमध्ये जुम्लाका तीन जना बुधवार उपचारपछि घर फिर्ता भए पनि अन्य यात्रुहरू भने अस्पतालमा उपचार गराइरहेका छन् । जहाज दुर्घटनामा आफन्तहरू घाइते भएको खबर सुनेका जुम्लावासीहरू उपचार सकेर घरमा पुगेपछि खुशी भएका हुन् । साथै उनीहरूले आफन्तहरू निको भएर गाउँ फिर्ता भएको भन्दै खुशीयाली समेत मनाएका छन् । मृत्युलाई जितेर घर फर्किएका आफन्त घर आउन लागेको जानकारी पाएपछि छिमेकीहरू बाजागाजा, अविर र मालासहित विमानस्थल पुगेका थिए । 
प्रकाशित मितिः   ११ चैत्र २०७२, बिहीबार १०:५८