बजेट अभावले निर्माणमा ढिलाइ

साझा बिसौनी संवाददाता
सुर्खेत, १० चैत । 
लेखगाउँदेखि कुनाथरीसम्म विद्युत प्रसारण लाइन निर्माणका लागि दुई करोडको स्टिमेट गरिए पनि आवश्यक बजेट विनियोजन नहुँदा निर्माण कार्य अघि बढ्न सकेको 
छैन । करिब दुई करोड रूपैयाँ लागत इस्टिमेट रहेको उक्त आयोजनाका लागि सरकारले यस वर्ष पाँच लाख मात्र बजेट विनियोजन गरेको छ । 
आवश्यक बजेट विनियोजन नहुँदा निर्माणमा ढिलाइ हुने भएको छ । आयोजनाको निर्माण ढिलाइले लागत इस्टिमेटसमेत बढ्ने देखिन्छ । गत वर्ष १६ लाख रूपैयाँ विनियोजन भएको नेपाल विद्युत प्राधिकरण शाखा सुर्खेतले बताएको छ । गत वर्ष विनियोजित रकमबाट खरिद गरिएका पोल लेखगाउँ र विद्युत प्रसारण कार्यालय अगाडि राखिएका छन् । ‘खरिद गरिएका ती पोल यसवर्ष पोलिङ गर्ने योजना थियो,’ विद्युत प्राधिकरण सुर्खेत शाखा प्रमुख दीपकजङ्ग चौधरीले भने, ‘तर, यसवर्ष रकम पाँच लाख रूपैयाँ मात्र आएकाले सोचेजति काम गर्न नसकिने भयो ।’ 
बजेट घटेर आउँदा तोकिएको समयमा आयोजना पूरा गर्न कठिनाइ हुने उनले बताए । उनका अनुसार यस वर्ष आएको रकमबाट पोल ढुवानीसँगै केही पोलिङ पनि गर्न मात्र सकिनेछ । प्रसारण लाइन निर्माणका लागि थप रकम बढाउन आफूले प्रक्रिया सुरु गरे पनि त्यो पर्याप्त हुन नसकेको चौधरीले बताए । उनले यस वर्ष भूकम्पप्रभावित जिल्लाहरूमा बढी लगानी लगाउनुपर्ने सरकारी बाध्यताका कारण थप रकमका लागि समस्या रहेको उल्लेख गरे ।
पश्चिम सुर्खेतको विकासका लागि महŒवपूर्ण मानिएको ११ केभीए प्रसारण लाइनको निर्माण कार्य गत वर्षदेखि सुरु भएको थियो । तर बजेट अभावकै कारण निर्माण कार्य अघि बढ्न नसकेको हो । ‘जिल्लामै पहिलोपटक कुनाथरीमा कृषि क्याम्पस सञ्चालनार्थ ल्याउन लागिएको उक्त विद्युत लाइन निर्माणको ढिलाइले अन्य नयाँ परियोजनासमेत प्रभावित हुनेछन्’ गाविस सचिव आनन्द चपाईंले भने । उनले राष्ट्रिय योजना आयोगको नीतिमै परेको योजनाको निर्माणका लागि रकम अभाव हुनु दुर्भाग्य भएको बताए । उनका अनुसार राजनीतिक दलका प्रतिनिधिले आयोजनालाई तोकिएकै समयमा पूरा गर्न पहलकदमी बढाउनुपर्छ ।
प्रकाशित मितिः   ११ चैत्र २०७२, बिहीबार १०:५९