मध्यपश्चिममा दुई हजार क्षयरोगी, रोग लुकाउँदा निवारणमा समस्या

साझा बिसौनी संवाददाता
सुर्खेत, १० चैत ।
सरकारले वर्षेनी करोडौं रकम खर्च गरे पनि मध्यपश्चिम क्षेत्रमा क्षयरोगका बिरामीहरूको संख्या घट्न सकेको छैन । भारतसँगको खुला सीमाना र रोग लुकाउने प्रवृत्तिका कारण यस क्षेत्रमा क्षयरोग निवारणमा थप चुनौती थपिएको हो । पछिल्लो समय थप कडा खालका बिरामीहरू समेत फेला परेको र हाल उपलब्ध औषधिले निको नै नहुने समस्या देखा परेको स्वास्थ्यकर्मीले बताएका छन् ।
क्षयरोग निवारणका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट विभिन्न प्रयासहरू भइरहेका छन् । तर मध्यपश्चिममा भने वर्षेनी नयाँ बिरामी फेला पर्ने दर बढ्दै गइरहेको छ । मध्यपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय सुर्खेतका अनुसार हाल यो क्षेत्रमा करिब दुई हजार क्षयरोगका बिरामी उपचार गराइरहेका छन् । एक हजार आठ सय ७७ जना क्षयरोगका बिरामीहरू उपचारमा रहेको भन्दै निर्देशनालयले त्यसमध्ये ६ सय ९८ जना महिला रहेको जनाएको छ । रोग निवारणका लागि प्रयास भइरहेको भन्दै निर्देशनालयका क्षयरोग फोकल पर्सन महेश पुरीले बिरामीहरूले रोग लुकाउने गरेकाले निवारणमा समस्या भएको बताए । साथै उनले खुला सीमानाका कारण भारतबाट समेत क्षयरोगका बिरामीहरू जिवाणु बोकेर नेपाल आउँदा रोग सर्ने दर बढेको जानकारी दिए ।
अहिले मध्यपश्चिमको बाँकेमा सबैभन्दा बढी क्षयरोगका बिरामी छन् । निर्देशनालयका अनुसार बाँकेमा तीन सय ७८ क्षयरोगका बिरामीले औषधि सेवन गरिरहेका छन् । यस्तै दाङमा तीन सय पाँच, सुर्खेतमा दुई सय ६३ र बर्दियामा दुई सय ५७ जना बिरामी उपचार गराइरहेका छन् । यस क्षेत्रका बाँके, दाङ, सुर्खेत र बर्दिया क्षयरोगको उच्च जोखिममा रहेको समेत स्वास्थ्य निर्देशनालयले जनाएको छ । भारतसँगको खुला सीमानाका कारण क्षयरोगका बिरामीहरू नेपाल आउने र यो रागको जिवाणु अन्य व्यक्तिमा सार्ने गरेकाले यी जिल्ला उच्च जोखिममा रहेको बताइएको छ । अघिल्लो वर्ष पनि यो वर्षकै हाराहारीमा बिरामीहरू फेला परेको निर्देशनालयको भनाइ छ । समयमा उपचार नगर्ने, सामाजिक त्रासका कारण रोग लुकाउने, नियमित रूपमा औषधि सेवन नगर्ने र खुला नाकाका कारण यस क्षेत्रमा क्षयरोग निवारणमा कठिनाइ भइरहेको फोकल पर्सन पुरीले बताए । उनले भने, ‘यो त उपचारका लागि आएका बिरामीहरूको संख्या मात्र हो, अधिकांश बिरामीहरू स्वास्थ्य संस्थामा आउँदैनन् । रोग लुकाएर बस्ने संस्कारले गर्दा चुनौती बढेको हो ।’ उनले यस क्षेत्रमा अहिले पनि २० प्रतिशत भन्दा बढी क्षयरोगका बिरामीहरू सम्पर्कविहीन रहेको जानकारी दिए । रोग निवारणका लागि सरकारले सुरुवात गरेको संरचनामा ती बिरामीहरू उपचारका लागि नआएको उनको भनाइ छ ।
समयमा नै उपचार नगर्ने र औषधि सेवनमा समेत आनाकानी गर्दा धेरै बिरामीको मृत्यु नै हुने गरेको छ । बिरामीहरूले स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा लगातार ६ महिनासम्म औषधि सेवन गरेमा यो रोग निको 
हुन्छ । तर अधिकांश बिरामीले नियमित औषधि सेवन नगर्ने समस्याले निरोगीमा समेत रोग सर्ने गरेको स्वास्थ्यकर्मीले बताएका छन् । क्षयरोग अधिकृत पुरीले थपे, ‘यो क्षेत्रका २० प्रतिशत बिरामीहरू हाम्रो सम्पर्कमा छैनन्, उनीहरूले औषधि सेवन गरे वा नगरेको हाम्रो रेकर्डमा छैन । यदि उनीहरूले औषधि सेवन नगरेको भए अरुलाई समेत सर्छ ।’ पछिल्लो समय नयाँ र कडा खालका बिरामीहरू फेला पर्न थालेको भन्दै उनले अहिले उपलब्ध औषधिले काम नै नगरेको बताए ।
उनका अनुसार एचआईभी संक्रमित व्यक्तिहरूमा क्षयरोगको समस्या जटिल बन्दै गएको छ । हरेक जिल्ला र स्वास्थ्य संस्थामा औषधि खुवाउने व्यवस्था गरिएको भए पनि बिरामीहरूले रोग लुकाउँदा समस्या भएको उनको भनाइ छ । यस्तै गरिबी, बसाइँसराइ, खुला सीमाना, अशिक्षा र सामाजिक संरचनाका कारण यो रोग निवारणमा चुनौती देखा परेको निर्देशनालयले जनाएको छ । लामो समयसम्म खोकी लागेको, खकारमा रगत देखिएमा, साँझपख ज्वरो आएमा र शरीर कमजोर हुँदै गएमा स्वास्थ्य संस्थामा तत्काल जाँच गर्न समेत निर्देशनालयले सबैलाई आग्रह गरेको छ ।
प्रकाशित मितिः   ११ चैत्र २०७२, बिहीबार ११:०१