जोखिम वेवास्ता गर्दै भेला

शनिवार दिउँसो वीरेन्द्रनगर नगरपालिकाको सभा हल खचाखच थियो । नगरपालिकाले बाक्लो भिडभाडकाबीच वार्षिक समीक्षा कार्यक्रम गरेको हो । कोरोना भाइरसको संक्रमण समुदायस्तरमा व्यापक भइरहेका बेला नगरले जोखिमको बेवास्ता गर्दै ठूलो संख्यामा जनप्रतिनिधि र कर्मचारीको भेला गरी कार्यक्रम गरेको छ ।

कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि वीरेन्द्रनगरमा १२ दिनसम्म निषेधाज्ञा गरिएको थियो । शुक्रवार रातीबाट निषेधाज्ञा हटाइए पनि स्थानीय प्रशासनले कुनै पनि बैठक, भेला, गोष्ठी लगायतका कार्य नगर्न भनेको छ । प्रशासनले जारी गरेको निर्देशनको अवज्ञा गर्दै नगरपालिकाले भने झण्डै ५०–६० जनाको भेला गरेर कार्यक्रम गरेको हो । नगरले १६ वटै वडाका अध्यक्ष, कार्यपालिका सदस्यहरू, नगरपालिकाका सबै कर्मचारी, वडा शाखाका प्रमुखहरूसहितको भेला गरी वार्षिक समीक्षा गरेको छ ।

कोरोना महामारीका बेला नियमनकारी निकायले नै भिडभाड हुने गतिविधि गर्नु उपयुक्त नहुने प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए । ‘निषेधाज्ञा गर्नुपर्छ पनि भन्ने फेरी बैठक, भेला पनि गर्ने काम स्थानीय तहहरूले गर्नु भएन,’ उनले भने, ‘उहाँहरूले आफू पनि सरकार भएको अनुभूति दिनुप¥यो ।’

उनले आफूलाई नगरपालिकाले नै यति धेरै मानिसहरू भेला गरेर कार्यक्रम गरेकोमा विश्वास नलागेको जिकिर गरे । ‘सरकारले तोकेको संख्याभन्दा बढी भेला भएको छैन होला भन्ने मलाई विश्वास छ,’ प्रजिअ रेग्मीले भने ।

उता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले भिडभाड नगरेरै कार्यक्रम गरिएको जनाए । उनले आन्तरिक बैठक र कर्मचारीहरू मात्रै सहभागि भएकाले यस्ता बैठकहरूले संक्रमण फैलने जोखिम नहुने ठोकुवा गरे । वीरेन्द्रनगर कोरोना संक्रमणको उच्च जोखिममा छ । प्रदेश राजधानी समेत भएकाले यहाँका बजार तथा सार्वजनिक स्थानहरूमा अत्यधिक भिडभाड हुने गरेको छ । नगरपालिकाका १३ वटा वडामा संक्रमण पुगिसकेको छ । नगरमा कोरोना संक्रमितको संख्या दुई सय नाघेको छ । वार्षिक समीक्षा कार्यक्रममा नगरका १६ वटै वडाका सचिव र १३ वटा शाखाका प्रमुखहरूले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रकाशित मितिः   १४ भाद्र २०७७, आईतवार ०६:०३